४० हजारभन्दा बढि आप्रवासी क्रस च्यानलबाट बेलायत प्रवेश

४० हजारभन्दा बढि आप्रवासी क्रस च्यानलबाट बेलायत प्रवेश

एजेन्सी : सन् २०२२ को मध्य नोभेम्बरसम्म ४० हजारभन्दा बढि आप्रवासी बेलायत प्रवेश गरेका छन्।

यस वर्ष प्रवेश गर्ने कूल आप्रवासीको सङ्ख्या ४०,८८५ रहेको छ, जसमध्ये अधिकांश अल्बानियाली, इरानी र अफगानी रहेका छन्। यो सङ्ख्या गत वर्षभन्दा करिब १२ हजार बढि हाे।

गत वर्ष च्यानल पार गरेर बेलायत पुग्ने आप्रबासीको सङ्ख्या २८ हजार ५६१ भन्दा बढी रहेको रक्षा मन्त्रालयले जनाएको छ। शनिबार मात्रै २२ वटा डुङ्गामा करिब ९७२ जनाले जोखिमपूर्ण च्यानल पार गरेको जनाइएको छ।

यो सङ्ख्या वर्षौंदेखि बढ्दै गएको छ। बेलायत सरकारका अनुसार सन् २०१८ मा करिब २९९ जनाले यो बाटो प्रयोग गरेका थिए। त्यसैगरी सन् २०१९ मा एक हजार ८४३ र सन् २०२० मा आठ हजार ४६६ व्यक्तिले उक्त मार्गको प्रयोग गरेका थिए।

आप्रवासीहरूलाई रुवान्डा पठाउने योजनासहित बेलायतका विभिन्न पहलका बावजुद यो सङ्ख्या निरन्तर बढिरहेको छ। यसबारे अदालतले राेक लगाइरहेकाे छ।

गत साता बेलायती प्रधानमन्त्री ऋषि सुनकले फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्राेँसँग पहिलो पटक प्रत्यक्ष भेट गरेपछि फ्रान्ससँग सहमति भएको नयाँ योजना अनुसार काम भइरहेको बताएका थिए।

कात्तिक २७, २०७९ आइतबार २१:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।