शबाना आजमी नेपाल आउने

शबाना आजमी नेपाल आउने

काठमाडाैं : भारतकी सुप्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमी नेपाल आउने भएकी छन्।

दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ मा विशेष अतिथिको रूपमा सहभागी हुन उनी काठमाडौं आउन लागेकी हुन्।

आगामी मंसिर ९ गते सुरु हुने महोत्सवको उद्घाटनमा विशेष अतिथिको रूपमा आयोजक मण्डला थिएटरले रंगमञ्च र चलचित्रमा सुप्रशिद्ध अभिनेत्री आजमीलाई आमन्त्रण गरेको हो।

'सामाजिक रूपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव' भन्ने नाराका साथ हुन लागेको यस महोत्सवमा उनले नेपाली रंगकर्मी तथा कलाकारहरूलाई ‘मास्टरक्लास’ पनि दिने महोत्सवकी निर्देशक सिर्जना सुब्बाले जानकारी दिइन्।

मास्टरक्लास महोत्सवको दोस्रो दिन मंसिर १० गते साँझ ७ः३० बजे मण्डला थिएटरको मुख्य हलमा हुनेछ।

साथै अभिनेत्री शबानाले महोत्सवले आह्वान गरेको ‘इनोभेटभि आइडिया अवार्ड’का लागि आवेदन परेकामध्ये एक अवधारणालाई आयोजकको तर्फबाट पुरस्कृत पनि गर्ने महोत्सवकी संयोजक विजया कार्कीले बताइन्।

अभिनेत्री शबानाले उत्कृष्ट अभिनेत्रीका लागि पाँच राष्ट्रिय फिल्मफेयर अवार्ड तथा विभिन्न अन्तर्राष्ट्रिय सम्मान पाएकी छन्। विशिष्ट र अपरम्परागत महिलाको चित्रणका लागि परिचित आजमीलाई भारत सरकारले सन् १९९८ मा ‘पद्यश्री’ र सन् २०१२ मा ‘पद्य भूषण’बाट सम्मान गरेको थियो । 

मण्डला थिएटरमा मंसिर १७ सम्म आयोजना हुने महोत्सवमा देश–विदेशका २२ नाटकको सहभागिता हुनेछन् । महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् । 

कात्तिक २७, २०७९ आइतबार १६:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।