फ्यानहरूलाई खुशीको खबर: आरआरआरको सिक्वेल आउने

फ्यानहरूलाई खुशीको खबर: आरआरआरको सिक्वेल आउने

एजेन्सी: गत वर्ष रिलिज भएको फिल्म 'आरआरआर'ले कमाइको मामिलामा कीर्तिमानमाथि कीर्तिमान बनायो। कुल १२ सय करोड भारु कमाएको आरआरआर हालसम्मकै सबैभन्दा बढी कमाउने भारतीय फिल्ममा दङ्गल र बाहुबली २ पछि तेस्रो नम्बरमा आउँछ।

आरआरआर स्वतन्त्रता सङ्ग्रामका नायक कोमाराम भीम र अल्लुरी सीतारामा राजुको वास्तविक कथामा आधारित फिल्म हो। यो फिल्मको कथा, द्वन्द्व, गीत, नाचदेखि डायलगसम्म पनि खुब रुचाइयो।

हालसम्म पनि आरआरआर पर्दाबाट उत्रेको छैन। केही साताअघि मात्र जापानमा आरआरआरले उल्लेखनीय व्यापार गरेको थियो। अमेरिकामा पनि केही स्पेशल शो चलिरहेको छ।

हालै अमेरिकाको सिकागोमा रहेको म्युजिक बक्स थियटरमा फिल्मका निर्देशक एस.एस राजामौलीले दर्शकबाट स्ट्याण्डिङ ओभेशन पाए। त्यहाँ उनले सम्बोधन पनि गरे। र भने- फिल्मको सिक्वेलमा काम भइरहेको छ।

उनका अनुसार हाल आरआरआर पार्ट २ को कथाको विषयमा छलफल जारी छ। कथाले मूर्त रूप लिएपछि फिल्म छायाङ्कनमा लगिनेछ। त्यसपश्चात् मात्र यसबारे थप जानकारी पाइने उनले बताए।

आरआरआरको पहिलो भागमा जुनियर एनटीआर, रामचरण, अजेय देवगन, आलिया भट्ट लगायतको अभिनय छ। फिल्मको सङ्गीत एम.एम क्रिमले दिएका थिए। फिल्मको छायाङ्कन के.के सेन्थिल कुमारको थियो।

कात्तिक २७, २०७९ आइतबार १३:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।