अक्षय कुमारबिनाको 'हेरा फेरी' के 'हेरा फेरी' !

अक्षय कुमारबिनाको 'हेरा फेरी' के 'हेरा फेरी' !

एजेन्सी: चर्चित बलिउड फिल्म 'हेरा फेरी'को पहिलो भाग सन् २००० मा प्रदर्शनमा आएको थियो। सन् २००६ मा यसको दोस्रो भाग 'फिर हेरा फेरी' प्रदर्शनमा आयो।

दुवै फिल्मले कमेडी विधामा पनि कलात्मक फिल्म बन्नसक्छ भनेर प्रमाणित गरिदियो। कमेडी फिल्म बनाउन लाउड अभिनय गर्नुपर्छ भन्ने भाष्यलाई पनि यसले तोड्यो। र सबैभन्दा मुख्य कुरा चरित्र अभिनय गरेर पनि कमेडी हुनसक्छ भन्ने स्थापित गरिदियो।

त्यसमाथि यसका पात्रहरू 'बाबु भैया', 'राजु' र 'श्याम' अहिलेसम्म पनि जीवन्त छन्।

त्यसैकारण हुनसक्छ यसको तेस्रो भागको माग भएको पनि निकै भइसक्यो। निर्माण युनिटले तेस्रो भाग आउँछ भनेर कुराएको पनि वर्षौँ भइसक्यो। एक समय त तेस्रो भागमा सुनिल शेट्टीको साटो जोन अब्राहम र अभिषेक बच्चन हुने कुरा समेत थियो।

अब चाहिँ यो बहुप्रतीक्षित फिल्मको केही कुरा सार्वजनिक भएको छ। त्यो हो- फिल्ममा अक्षय कुमार हुने छैनन्। अक्षयको ठाउँ लिनेछन् कार्त्तिक आर्यनले।

तर दर्शकको नजरमा हेरा फेरी भनेको अक्षय, परेश रावल र सुनिलको फिल्म हो। त्यसैले पनि दर्शक निराश भएका छन्। उनीहरू अक्षय कुमारबिनाको हेरा फेरी पनि के हेरा फेरी भन्नेसम्मको प्रतिक्रिया दिइरहेका छन्।

अक्षय कुमारलाई फिर्ता बोलाउन दर्शकहरूले माग गरिरहेका छन् सामाजिक सञ्जालबाट। उनीहरूले अक्षयबिना हेरा फेरी ३ फ्लप हुने समेत बताइरहेका छन्। कतिपयले त परेश रावल फिल्मको मुटु हुन् भने अक्षय आत्मा हुन् पनि भनेका छन्।

तर अक्षय किन हेरा फेरीमा अटाएनन्?

भारतीय सञ्चारमाध्यमको रिपोर्टअनुसार निर्माता फिरोज नाडियाडवाला पछिल्लो केही हप्तादेखि अक्षय कुमार र कार्तिक आर्यनसँग लगातार कुराकानीमा थिए। उनी फिल्म ‘हेरा फेरी ३’ जति सक्दो चाँडो सुरु गर्न चाहन्थे।

तर अक्षयले फिल्मका लागि ९० करोड पारिश्रमिक मागे। अनि उनले फिल्मको नाफाबाट पनि अंश चाहिने बताए। निर्माता फिरोज झस्किए। उता कार्तिक आर्यनले ३० करोडमै फिल्म खेलिदिने बताए।

६० करोड त्यसमा पनि नाफाको रकम सबै आफ्नो हुने भएपछि अक्षयलाई हटाउँदै कार्तिकलाई फिल्ममा फाइनल गरे निर्माताले।

यसअघि ‘भुल भुलैया २’ मा पनि अक्षयलाई रिप्लेस गर्दै कार्तिक आर्यन पर्दामा देखिए। फिल्म सफल त भयो तर धेरै दर्शकले अक्षयलाई फिल्ममा 'मिस' गरेका थिए।

कात्तिक २७, २०७९ आइतबार ०९:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।