पाँच पटक प्रधानमन्त्री पाएर पनि ‘विकट’ डडेल्धुरा, गुरुलाई हराएर संसद छिर्न कर्णको कसरत

पाँच पटक प्रधानमन्त्री पाएर पनि ‘विकट’ डडेल्धुरा, गुरुलाई हराएर संसद छिर्न कर्णको कसरत

काठमाडौं : ०७४ को प्रतिनिधि सभा चुनावमा पाँच प्रतिष्पर्धीसँग भिडेका प्रधानमन्त्री शेरबहादुर देउवा यसपटक भने सात जनासँग भिडदैछन्। डडेल्धुरा जिल्लामा आठ जनाको उम्मेदवारी परेकोमा चार जना विभिन्न दलका छन् भने चार जना स्वतन्त्र उम्मेदवार हुन्। प्रतिष्पर्धीमध्ये कर्ण सिंह रावलबाहेक प्रधानन्त्रीसँग भिड्न लागेका सबै अनुहार नयाँ हुन्।

स्वतन्त्र उम्मेदवार रहेका रावलले अघिल्लो चुनावमा पनि प्रतिष्पर्धा गरेका थिए। तर, उनले जम्मा १४० मत प्राप्त गरेका थिए। यसपाली यहाँ ठूला दलबाट भने उम्मेदवार छैनन्। प्रधानमन्त्री देउवासँग प्रतिष्पर्धामा जनता समाजवादी पार्टीका श्याम सिनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोबिन्द खडायत, नेपाली कांग्रेस(वीपी)बाट कर्ण मल्ल अनि स्वतन्त्र उम्मेदवारहरू बिक्रम बहादुर शाही, सागर ढकाल, कर्ण सिंह रावल र लाल बहादुर कठायत छन्।

अघिल्लो चुनावमा प्रधानमन्त्री देउवाले २८ हजार ४४६ मत ल्याएर यहाँबाट विजयी हुँदा माओवादी केन्द्रका खगराज भट्टले २१ हजार ४९८ मत ल्याएका थिए। तीन पटकसम्म देउवासँग प्रतिष्पर्धा गर्दा पनि लगातार हार बेहोरेका भट्टले यसपटक उनकै पक्षमा भोट मागिरहेका छन्।

माओवादी र एमालेले प्रतिस्पर्धी नउठाएपछि देउवाका मुख्य प्रतिष्पर्धीका रूपमा कांग्रेस (वीपी)का मल्ललाई हेरिएको छ। मल्ललाई एमालेको साथ छ। एमालेले सुरुमा चक्र स्नेहीलाई उम्मेदवार बनाए पनि पछि नाम फिर्ता लिएर मल्ललाई साथ दिने जनाएको हो।

उनीबाहेक स्वतन्त्र उम्मेदवार ढकालको पनि नाम अगाडि आइरहेको छ। उम्मेदवारी दर्ता गर्दा नै प्रधानमन्त्री देउवालाई चुनौती दिने भन्दै अगाडि आएका उनल ेसामाजिक सञ्जालमा आफ्नो पक्षमा माहोल बनाइरहेका छन्।

देउवालाई हराउन लागिपरेका गुल्मीका ढकाल अहिले डडेल्धुराका गाउँ–गाउँ घुमिरहेका छन्। उनी प्रधानमन्त्रीलाई गृह जिल्लामा फूलमाला लिएर स्वागत गर्न बसेका थिए। त्यो पनि अग्र स्थानमा।

ढकालले जित हासिल गर्न नसके पनि देउवाको राम्रै भोट काट्ने आंकलन भइरहेको छ। यस्तै माहोलमा मल्लले पनि देउवाका कारण पार्टीभित्र असन्तुष्ट रहेकाहरूको कारण फाइदा उठाउन सक्ने देखिन्छ।

तर, जसले जसको सपोर्ट पाए पनि अहिले कांग्रेसको गठबन्धन मत भन्ने तुलनात्मक रुपमा बलियो नै देखिन्छ। जस अनुसार अहिलेसम्म हार्न नपरेको देउवा सातौं पटकको निर्वाचित हुन अग्रसर छन्। अरु प्रतिष्पर्धीहरू भने प्रधानमन्त्रीलाई हराउँदै पहिलो पटक सांसद बन्ने दौडमा छन्।

स्थानीय निर्वाचनमा कांग्रेस नै हाबी
एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा दुई वटा नगरपालिका र पाँच वटा गाउँपालिका छन्। गएको वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको मत परिणाम अनुसार यहाँ कांग्रेसले राम्रो पकड बनाउँदै पहिलो  दल बनेको छ।

५२ वडा रहेको यहाँ पाँच पालिका र २९ वडामा कांग्रेसको नेतृत्त्व छ। अनि दुई पालिका र १३ वटा वडामा भने माओवादी हावी छ। अनि एमालेले ४ वडा, एकीकृत समाजवादीले २ वडा, कांग्रेस (वीपी)ले २ वडा र स्वतन्त्रले २ वडामा नेतृत्व गरिरहेका छन्।

९१ हजार २०१ मतदाता रहेकोमा यस क्षेत्रमा स्थानीय तहमा कांग्रेसको २१ हजार ७३५, माओवादी केन्द्रको १२ हजार ८७८, एमालेको १० हजार ४४९, एकीकृत समाजवादीको ५ हजार ४१, कांग्रेस वीपीको ३ हजार ६०४ र स्वतन्त्रको १ हजार ६६७ मत आएको थियो।

स्थानीय तहको मतअनुसार पनि अन्य सबै दल मिले पनि देउवालाई हराउन सम्भव नभएको उनी पक्षधरको दाबी छ। एमालेको साथ पाएकाले केहि राहत महसुस गरेका मल्ल भने सकेसम्म आफ्नो पोल्टामा मत पार्न कस्सिएका छन्।

उम्मेदवारहरूको पृष्ठभूमिः
सातौं पटकको जित्ने दाउमा देउवा

डडेल्धुरा भन्ने बित्तिकै कांग्रेसका सभापति देउवाको जिल्ला भनेर चिनिँदै आएको छ। त्यसको मुख्य कारण देउवाको लगातारकै जित पनि हो।

वि.सं. २०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गरेका देउवाले ०४८, ०५१ र ०५६ सालको निर्वाचन, पहिलो र दोस्रो संविधानसभाको निर्वाचन (०६४, ०७०) र प्रतिनिधिसभा निर्वाचन ०७४ गरी छ पटक यस क्षेत्रबाट लगातार जित निकालेका छन्। अब हुन लागेको चुनाव उनको लागि सातौं पटकको हो।

यसबीचमा उनी पाँचौंपटक प्रधानमन्त्री, एक पटक गृहमन्त्री बनिसकेका छन्। त्यसबाहेक विभिन्न भ्रष्टाचारको अभियोग समेत उनले खेपिसकेका छन्।  माओवादीको प्रभाव र वामलहरको समयमा पनि जित निकालेका उनमा राष्ट्रिय राजनीतिको अनुभव भने राम्रै रहेको प्रायले स्वीकार्छन्। 

पछिल्लो समय देउवा आफ्नो कारण भन्दा पनि श्रीमतीका कारण विवादित छन्। निर्वाचनकै माहोलका बीचमा उनकी श्रीमती आरजु राणाले सार्वजनिक स्थलमा गरेका विभिन्न अभिव्यक्तिको सिधा असर देउवाको भोटमा परिरहेको छ।

यसो त उनीमाथि ‘ससुरालीबाट देश चलाएको’ भन्ने टिकाटिप्पणी पहिला देखिनै हुँदै आएकै हो। त्यसबाहेक पछिल्लो समय राणाको ‘फ्री भिसा, फ्री टिकटमा मलेसिया लाने’ अनि ‘हेलिकप्टर चढ्नेलाई भोट हाल्नुपर्छ’ लगायतका अभिव्यक्तिले देउवाको नकारात्मक प्रचार भइरहेको छ।

विद्रोहबाट उदाएका कर्ण
उनको प्रमुख प्रतिष्पर्धी मानिएको कांगेस वीपीको कर्ण मल्ल भने केहि वर्षअघिसम्म देउवाको चेलाको रूपमा परिचित थिए।

तर, कांग्रेसको १४औं महाधिवेशनमा डडेल्धुराको क्रियाशील सदस्यता नवीकरण र वितरणमा देउवासँग भएको विवादको कारण मल्ल पार्टीबाट कारबाहीमा सम्म परे। लामो समय देउवाकै स्वकीय सचिव समेत रहेका उनी यस पटक भने आफ्नो राजनीतिक गुरु विरुद्दनै चुनावी प्रतिष्पर्धामा छन्।

साधारण सदस्य समेत नरहने गरी कारबाहीमा परेका उनले पछि प्रदेशसभा सदस्य त्यागेको घोषणा पनि गरे। अनि नेपाली कांग्रेस(वीपी)को नामबाट एमालेसँग चुनावी तालमेल पनि गरे।

खेतीबाली र वैदेशिक रोजगारीनै मुख्य आर्थिक स्रोत भएको यहाँका स्थानीयहरू बेमौसममा काम गर्न भारत जान बाध्य छन्। कमाउन गएकाहरू कति त फर्केर पनि आउँदैनन्। 

उक्त गठबन्धनले गर्दा धेरै नभए पनि देउवाकै वडामा भने वीपी कांग्रेसबाट वडाको प्यानलनै विजयी भए। दुईपटक यस जिल्लामा कांग्रेसको नेतृत्त्व समेत गरेका मल्लको मुख्य उदेश्य भनेकै देउवालाई हराउनु हो।

जिल्लामा तेस्रो ठूलो दलको सहयोग लिएर पहिलो र दोस्रो दलविरुद्ध लड्न तयार भएका मल्ल देउवा देखेर वाक्क भएका मतदाता र आफैँले बनाएको दलको आश छ।

उनले देउवासँग करिब साढे तीन दशक लामो सहकार्य गरेका छन्। आफूसँगै जनताले पनि देउवाविरुद्ध विद्रोह गर्ने उनको दाबी छ।

कांग्रेस(वीपी)ले आगामी निर्वाचनमा प्रतिनिधिसभामा ४२ र प्रदेशसभा ३६ गरेर जम्मा ९० जनाको उम्मेदवारी दिएको छ। त्यस्तै समानुपातिक तर्फ भने १७३ उम्मेदवार रहेकोमा विभिन्न ३४ जिल्लामा ७८ निर्वाचन क्षेत्रमा प्रतिष्पर्धा गर्ने छन्।

भाइरल स्वतन्त्र !
स्वतन्त्र उम्मेदवारहरू चार जना भए पनि सागर ढकाल भने सुरुवाती दिन देखिनै सामाजिक सञ्जालमा चर्चामा रहे। डिजिटल भाषामा भन्दा उनी ‘भाइरल’ स्वतन्त्र उम्मेदवारका रूपमा परिचित छन्।

उनले उम्मेदवारी दर्ता गर्ने खबर सार्वजनिक गरेसँगै प्रधानमन्त्री देउवा समक्ष एउटा टेलिभिजन कार्यक्रममा भएको बहस एकदमै धेरै फैलिन थाल्यो। अनि उनी झन् भाइरल हुँदै गए। उनको पनि मुख्य उदेश्य भनेको देउवालाई हराउनु नै हो।

देउवालाई हराउन लागिपरेका गुल्मीका ढकाल अहिले डडेल्धुराका गाउँ–गाउँ घुमिरहेका छन्। जिल्लाका भित्री बस्तीहरूमा पसिरहेका उनी प्रधानमन्त्रीलाई गृह जिल्लामा फूलमाला लिएर स्वागत गर्न बसेका थिए। त्यो पनि अग्र स्थानमा। त्यहाँ पनि उनले प्रचार गर्न भ्याए। देउवालाई हराउने अनि आफू जित्ने भन्दै उनी पूजा उपवाससमेत गरिरहेका हुन्छन्।

‘विकट’ को ट्याग कहिल्यै हटाउन नसकेको कारण ‘विकास’ पुर्याउने भन्दै नेपालभरमै सबैभन्दा बढि राष्ट्रिय र अन्तरराष्ट्रिय गैरसरकारी संस्था यस जिल्लामा कार्यरत रहेको त सरकारले नै तथ्यांक सार्वजनिक गरिसकेको छ।

जे होस् चार जना स्वतन्त्र उम्मेदवारमध्ये ढकाल प्रचारको हिसाबमा धेरै अघि छन्। उनीसँगै प्रतिष्पर्धामा ८४ वर्षीय कर्ण सिंह रावल पनि स्वतन्त्र उम्मेदवार छन्। तर, तुलनात्मक रूपमा देउवा, मल्ल र ढकालबाहेक अरु गुमनाम झैँ छन्।

हट्न सकेन ‘विकट’ को ट्याग !
पटक–पटक प्रधानमन्त्री हुने उम्मेदवारको जिल्ला भएर चिनिनेबाहेक डडेल्धुराको अर्को पहिचान भनेकै सुदूरपश्चिमको ‘विकट’ जिल्ला मात्र हो।

वर्षौंदेखि यस जिल्लाबाट देशले प्रधानमन्त्री पाए पनि जिल्लाले भने केहि पाएको छैन। अब यहाँको जनताले केहि पाउँदैछन् भने त्यो हो, ‘मलेसियाको लागि फ्री भिषा र फ्री टिकट’। विडम्बना काठमाडौँ लगायत केहि शहरी ठाउँमा यस विषयलाई विवादित भए पनि स्थानीयले त्यसलाई एउटा अवसर नै मान्नुपर्ने अवस्था छ यहाँको ।

खेतीबाली र वैदेशिक रोजगारीनै मुख्य आर्थिक स्रोत भएको यहाँका स्थानीयहरू बेमौसममा काम गर्न भारत जान बाध्य छन्। कमाउन गएकाहरू कति त फर्केर पनि आउँदैनन्। 

जिल्लालाई शान्ति सुरक्षा, अपराधिक गतिविधि तथा सवारी दुर्घटनाको दृष्टिकोणले अलि बढि संवेदनशील मानिन्छ। कारण, साविक महाकाली तथा सेती अञ्चलका विभिन्न जिल्लाका मानिसहरू आवातजावत गर्ने केन्द्रको रूपमा यो जिल्ला छ।

‘विकट’ को ट्याग कहिल्यै हटाउन नसकेको कारण ‘विकास’ पुर्याउने भन्दै नेपालभरमै सबैभन्दा बढि राष्ट्रिय र अन्तरराष्ट्रिय गैरसरकारी संस्था यस जिल्लामा कार्यरत रहेको त सरकारले नै तथ्यांक सार्वजनिक गरिसकेको छ।

कात्तिक २६, २०७९ शनिबार २०:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।