भारतमा पूर्वप्रधानमन्त्री राजिब गान्धीको हत्याका दोषी ३१ वर्षपछि रिहा

भारतमा पूर्वप्रधानमन्त्री राजिब गान्धीको हत्याका दोषी ३१ वर्षपछि रिहा

एजेन्सी : भारतीय पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्यामा संलग्न तीन जना दोषी ३१ वर्षको जेल सजायपछि रिहा भएका छन्।

सर्वोच्च अदालतको फैसलाको भोलिपल्ट तीन अभियुक्तहरू सन्थान, नलिनी श्रीहरन र उनका पति मुरुगन औपचारिकता पूरा गरेर शनिबार साँझ भेल्लोर जेलबाट रिहा भएका हुन्। नलिनीले पेरोल सर्तअनुसार शनिवार विहान स्थानीय प्रहरी चौकीमा हाजिर भएकी थिइन्।

सर्वोच्च अदालतले मे महिनामा सातै दोषीलाई सफाइ दिन आफ्नो शक्ति प्रयोग गरेको थियो। अदालतले यही आदेश बाँकी दोषीलाई पनि लागू हुने बताएको छ।

अदालतले सन् २०१८ मा तमिलनाडु सरकारले राज्यपालमार्फत दोषीहरूलाई रिहा गर्न सिफारिस गरेको समेत खुलासा गरेको छ।

नलिनी बाहेक श्रीहरन, सन्थान, मुरुगन, रोबर्ट पायस र आरपी रविचन्द्रन पनि सन् १९९१ मा पूर्वप्रधानमन्त्री राजीव गान्धीको हत्याको आरोपमा जेल परेका थिए।

सर्वोच्च अदालतले दोषीहरूले ‘सन्तोषजनक व्यवहार’ गरेको, डिग्री लिएको, किताब लेखेको र समाजसेवामा पनि भाग लिएको बताएको छ।

नलिनी श्रीहरनका भाइ बकियानाथनले दोषीहरूले तीन दशक जेलमा बिताइसकेको र धेरै दुःख भोगिसकेको बताएका छन्।

‘उनीहरूलाई मानवीय आधारमा रिहा गरिएको हो, रिहाइको विरोध गर्नेहरूले भारतको कानूनको सम्मान गर्नुपर्छ,’ उनले एक टेलिभिजन च्यानलसँग भने।

यसैबीच, कांग्रेसले राजीव गान्धीका हत्याराहरूलाई रिहा गर्न सर्वोच्च अदालतको आदेशको कडा विरोध गरेको छ।

कात्तिक २६, २०७९ शनिबार २०:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।