सुटिङ नै भएको छैन ‘पुष्पा २’, कमाइ भने ‘आरआरआर’को भन्दा बढि
एजेन्सी : अल्लु अर्जुन दक्षिण भारतीय फिल्म उद्योगका चर्चित अभिनेता मध्ये एक हुन्।
उनी फिल्ममा आफ्नो दमदार चरित्रका लागि परिचित छन्। गतवर्ष रिलिज भएको फिल्म ‘पुष्पाः द राइज’मा आफ्नो भूमिकाबाट दर्शकको मन जितेका थिए। अहिले उनका फ्यानहरू ‘पुष्पा २’ को प्रतिक्षामा छन्।
वास्तवमा अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पाः द राइज’को उत्कृष्ट सफलतापछि यसको सिक्वेलको निकै चर्चा भइरहेको छ।
चलचित्रको ठूलो मागलाई मध्यनजर गर्दै निर्माताले विदेशी थिएटर अधिकारका लागि ठूलो मूल्य तोकेका छन्। ‘पुष्पा २’का निर्माता यस फिल्मबाट धेरैभन्दा धेरै फाइदा लिन चाहेको देखिएको छ।
रिपोर्टका अनुसार फिल्मका निर्माताले विदेशी अधिकार सुरक्षित गर्न ८० करोड रुपैयाँभन्दा बढी रकम तोकेका छन्।
एसएस राजामौलीको ‘आरआरआर’ भन्दा ‘पुष्पा २’ को विदेशी थिएटर अधिकारको मूल्य बढी छ। ‘आरआरआर’ को थिएटर अधिकार ७० करोड भारूमा बिक्री भएको थियो।
‘केजीएफ २’ ले विश्वभर १२ सय करोड कमाएर अहिलेसम्मकै रेकर्ड तोडेको छ। योसँगै ‘पुष्पा २’ को बारेमा पनि यस्तै सम्भावना देखिएको फिल्म क्षेत्रका पण्डितहरूको धारणा छ।
आजकल भारतमा मात्र नभएर नेपाल लगायतका अन्य देशमा पनि दक्षिण भारतीय फिल्मको व्यापक क्रेज छ। दक्षिण भारतीय फिल्मको लोकप्रियता विश्वभर बढ्दैछ। ‘पुष्पा २’ ले विदेशमा पनि बम्पर कमाउने अपेक्षा गरिएको छ।
छिट्टै छायांकन सुरु हुने ‘पुष्पा २’को हालै मात्रै टिजरको सुटिङ पूरा गरिएको छ। फिल्ममा अल्लु अर्जुनका अलावा रश्मिका मन्डन्ना, फहद फासिल पनि देखिनेछन्।
कात्तिक २४, २०७९ बिहीबार १०:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।