ओलीको ब्यङग्य : प्रचण्डको सङ्गतपछि देउवा पनि बन्दुकको भाषण गर्न थालेछन्

ओलीको ब्यङग्य : प्रचण्डको सङ्गतपछि देउवा पनि बन्दुकको भाषण गर्न थालेछन्

पोखरा : एमाले अध्यक्ष केपी ओलीले मङ्सिर ४ को निर्वाचनमा एमालेको एकल बहुमत आउने दाबी गरेका छन्। सोमबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनपछि एमालेले एकल बहुमत आउने दाबी गरेका हुन्।

उनले एमालेको सरकार बनेपछि भारतले कब्जा गरेको लिपुलेक, लिम्पियाधुराको जमिन वार्तामार्फत फिर्ता ल्याउने दाबी समेत गरे। उनले केही दिन पहिले दार्चुलामा चुनावी सभामा बोल्दै आफ्नो नेतृत्वको सरकारले भारतले कब्जा गरेको नेपाली भू-भागलाई समेटेर चुच्चे नक्सा जारी गरे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले फिर्ता ल्याउन चासो नदिएको आरोप लगाएका थिए।

त्यसको प्रतिउत्तरमा देउवाले ओलीलाई भारतसँग लडाई लडेर जमिन फिर्ता लिन चुनौंत दिएका थिए। ओलीले सोमबार देउवालाई प्रतिउत्तर दिँदै लिपुलेक लिम्पियाधुराको जमिन वार्तामार्फत फिर्ता ल्याउने जवाफ फर्काएका हुन्।

उनले गुमेको जमिन वार्ताबाट मात्र फिर्ता ल्याउन सम्भव भएको बताए।

‘मैले चुनावी अभियानका क्रममा पहिलो दिन दार्चुलामा गएर जमिन फिर्ता ल्याउन पहल नगरेको बताएको थिए। त्यसको जवाफमा शेरबहादुर देउवाले बन्दुक लिएर सीमामा जान भन्नुभएछ। पछिल्लो चरणमा प्रचण्डको सङ्गत गरेपछि बन्दुकको भाषण गर्न थालेछन्। एमालेले आगामी निर्वाचनमा बहुमतको सरकार बनाएर वार्तामार्फत भूमि फिर्ता ल्याउँछौँ' उनले भने।

ओलीले चुनाव प्रचारकाक्रममा कांग्रेस लगायतका पार्टीले आफ्नो बहुमत आउने गलत आँकलन गरेको भन्दै भ्रममा नपर्न भने। पाँच दलीय गठबन्धनबाट कांग्रेस सभापति देउवाले प्रधानमन्त्री बन्छु भनेपछि माओवादी अध्यक्ष प्रचण्ड झस्केको उनले दाबी गरे।

कात्तिक २१, २०७९ सोमबार १९:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।