भारतमा सर्पको डसाइबाट मात्र वर्षमा ६४ हजारभन्दा धेरैकाे मृत्यु
एजेन्सी : भारतमा सर्पको डसाइबाट वर्षमा ६४ हजार जना भन्दा बढिको ज्यान जाने गरेको तथ्यांक सार्वजनिक भएकाे छ।
हालै सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय अध्ययनको तथ्यांकमा सो कुरा उल्लेख गरिएको भारतको एक स्थानीय पत्रिकाले जनाएको छ।
भारतको पत्रिका ‘द हिन्दु’ले नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित एक अनुसन्धानलाई उद्धृत गरेर दिएको समाचार अनुसार यहाँ हरेक वर्ष ६४ भन्दा बढिको सर्पले डसेर ज्यान जाने गरेको छ।
भारतमा गत वर्षमात्र सर्पले टोकेर ६४ हजार एक सय जनाको ज्यान गएको थियो। विश्वका विभिन्न २१ देशका अनुसन्धानदाताहरू सम्मिलित रहेर गरिएको सो अनुसन्धानमा विश्वमा हरेक वर्ष ७८ हजार छ सय जनाको सर्पको डसाइबाट ज्यान जाने गरेको छ।
भारतको पनि उत्तर प्रदेशमा सबैभन्दा धेरै मानिसको सर्पको डसाइबाट मृत्यु हुने गरेको छ। यस प्रदेशमा मात्र १६ हजार भन्दा बढीको सर्पले डसेर ज्यान जाने गरेको सो अनुसन्धानले देखाएको छ।
त्यसपछि भारतको मध्य प्रदेशमा धेरै मानिसको ज्यान जाने गरेको छ। भारतको मध्य प्रदेशमा पाँच हजार सात सयको ज्यान गएको थियो। त्यसपछि भारतको राजस्थानमा पाँच हजार तीन सय जनाको सर्पले डसेर ज्यान गएको थियो।
संसारमा प्रति एक लाख जनामा ०.८ जनाको सर्पको डसाइबाट ज्यान जाने गरेको छ। भारतको तुलनामा यो निकै थोरै हो। यता भारतमा प्रति एक लाख जनामा चार जनाको सर्पको डसाइबाट ज्यान जाने गरेको तथ्यांक भेटिन्छ।
कात्तिक २१, २०७९ सोमबार ११:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।