अभिनेता निश्चललाई राजनीतिक चस्का लाग्दा निष्क्रिय छिन् स्वस्तिमा

अभिनेता निश्चललाई राजनीतिक चस्का लाग्दा निष्क्रिय छिन् स्वस्तिमा

काठमाडौँ : अभिनेता तथा फिल्म निर्देशक निश्चल बस्नेतको सामाजिक सञ्जाल हेर्ने हो भने प्रस्टै हुन्छ, उनलाई अहिले फिल्मी हैन राजनीतिको नसाले छपक्कै छोपेको छ। उनी अहिले आफ्नो सञ्जालको प्रयोग विभिन्न दलका उम्मेदवारहरूको प्रचारमा मस्त प्रयोग गरिरहेका छन्।

उनको फेसबुक वालमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी अनि स्वतन्त्र उम्मेदवारहरूको प्रचारले भरिएको छ। काठमाडौं क्षेत्र नम्बर ५ मा श्री गुरुङलाई प्रस्ताव गरेका छन्। त्यसयता उनले सामाजिक सञ्जालमार्फत कास्की २ का स्वतन्त्र उम्मेदवार ऋगेन्द्र नेपाली गिरी, राष्ट्रिय स्वतन्त्र पार्टी जुम्लाकी समानुपातिक उम्मेदवार विनीता कठायत र मनिष झा अनि डडेलधुराका सागर ढकालको प्रचार देख्न सकिन्छ।

उनका स्टाटसहरु पनि चुनाव केन्द्रितै बढी देखिन्छ। उनले लेखेका छन् :

५ वर्ष मा १ चोटि आउँछ

ढङ्ग पुराए खुसी ल्याउँछ

नत्र

फेरि अर्को ५ वर्ष गफमै भुलाउँछ ।

के हो?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका ढकालको तस्बिर सेयर गर्दै उनले लेखेका छन् :

'प्रश्न सोध्दा 'तपाईँ बढ्ता बोल्दै हुनुहुन्छ' भन्ने नेता चाहिएको छ कि भविष्यको योजनामा काम गर्न सक्ने जोस जाँगर भएको सक्षम युवा ?

बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ-१ बाट उम्मेदवार बनेका पुकार बमको पनि प्रचार गरेका छन्।

अहिले निर्वाचनमा चलचित्र क्षेत्रबाट पार्टीगत र स्वतन्त्र उम्मेदवार उठेका छन्। अन्य दलका अध्यक्षविरुद्ध पनि स्वतन्त्र उम्मेदवार छन्। काभ्रेमा चलचित्र निर्देशक मनोज पण्डित गोकुल बास्कोटाको विरुद्धमा उठेका छन्। झापामा केपी ओली विरुद्ध युग पाठक उठेका छन्। रेखा थापा राप्रपाबाट उम्मेदवार छन्। अन्य कलाकारहरू पनि उम्मेदवार छन् तर उनले आफ्नो सामाजिक सञ्जालमार्फत उनीहरूलाई इन्डोर्स भने गरेका छैनन्।

निश्चललाई राजनीतिको चस्का पसेको यो पहिलो पटक हैन। उनी स्थानीय तहको निर्वाचनको प्रचारको समयमा समेत सक्रिय थिए। उनले त्यो बेलामा खुलेर स्वतन्त्र उम्मेदवार बालेन शाहलाई समर्थन गरेका थिए। र जिते पनि उनैले।

यस पटक भने उनी स्वतन्त्र उम्मेदवार मात्र नभई पार्टीगत उम्मेदवारको प्रचारमा समेत संलग्न देखिएका छन्। विशेष गरी उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको प्रचारमा संलग्न देखिन्छन्।

स्थानीय तहको निर्वाचनमा उनको श्रीमती तथा नेपाली चलचित्रकी चर्चित अभिनेत्री स्वस्तिमा खड्कालाई पनि खुबै राजनीति लागेको थियो। उनी बालेनको प्रचारमा यति डेडिकेटेड भइन् कि निर्वाचन आयोगले कुनै उम्मेदवारको प्रचार गर्न पाइन्न भनेको समयमा समेत फेसबुकमा बालेनको भोट मागिरहेकी थिइन्।

तर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भने उनी राजनीतिक गतिविधिमा निष्क्रिय देखिइन्। उनको सामाजिक सञ्जालमा कुनै उम्मेदवारलाई भोट मागेको देखिएन।

कात्तिक २०, २०७९ आइतबार २०:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।