बुटवल प्रदेश ख मा गठबन्धनको संयुक्त घोषणा पत्र : अस्पतालमा हेलिप्याडदेखि प्रतीक्षालयमा इन्टरनेटसम्मको दाबी

बुटवल प्रदेश ख मा गठबन्धनको संयुक्त घोषणा पत्र : अस्पतालमा हेलिप्याडदेखि प्रतीक्षालयमा इन्टरनेटसम्मको दाबी

बुटवल : केन्द्रमा पार्टीगत रूपमा चुनावी घोषणा पत्र जारी गरेका पाँच दलीय गठबन्धनमा रहेका दलले निर्वाचन क्षेत्रमा भने संयुक्त घोषणा पत्र जारी गर्न थालेका छन्। प्रतिनिधि सभा र प्रदेश सभामा एकै निर्वाचन क्षेत्रमा पनि एकै दलका उम्मेदवार छैनन्। अलग-अलग घोषणा पत्र जारी गर्दा अन्योल बढ्ने देखिएपछि उनीहरूले निर्वाचन क्षेत्रमा भने एकीकृत घोषणा पत्र जारी गर्न थालेका हुन्।

यहीक्रममा रुपन्देही क्षेत्र न २ (२) मा सत्ता गठबन्धनले आइतबार संयुक्त घोषणापत्र सार्वजनिक गरे। घोषणा पत्रको मुख्य अजेण्डा शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, लैङ्गिक समानता र समावेशिता,, भौतिक पूर्वाधार,कृषि तथा वातावरण विकास बनाएका छन्।

रुपन्देही क्षेत्र नं. २ मा बुटवल उपमहानगरपालिकाका १ देखी १३ वडा र सैनामैनाका १ देखी ४ सँगै तिलोत्तमाका १ देखी ६ गरी २३ वटा वडा पर्छन्।

यो क्षेत्रमा १ लाख २८ हजार ६ सय ७७ मतदाता छन् । सोही क्षेत्रको २ (ख) मा भने बुटवलका १, २, ३, ४, ५, ६, ८, १२, १३ र सैनामैनाका १ देखी ४ गरी १३ वटा पर्छन्। यहाँ हाल ६४ हजार २ सय पच्चीस मतदाताहरू छन्।

घोषणा पत्रमा शिक्षामा बिटिआई र अटोभिलेजलाई इन्जिनियरिङ कलेजमा रूपान्तरण गर्ने, लुम्बिनी वाणिज्यलाई मानित विश्वविद्यालय र बुटवल बहुमुखीलाई आधुनिकीकरण गरी अनुसन्धान केन्द्र बनाउने उल्लेख छ।

नयाँ गाउँमा सूचना केन्द्र स्थापना गर्ने, कक्षा १२ सम्म निःशुल्क शिक्षा साथै लक्षित समुदाय र निरपेक्ष गरिबलाई आवास सहितको निःशुल्क उच्च शिक्षा र माध्यमिक तह देखी पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। घोषणा पत्रमा सरकारसँग समन्वय गरी कक्षा १० सम्म दिवा खाजा निःशुल्क गर्ने उल्लेख छ।

स्वास्थ्यमा प्राकृतिक चिकित्सालय सेवा केन्द्रको रूपमा विकास गर्ने, निःशुल्क आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्ने, लुम्बिनी प्रादेशिक अस्पताललाई हेलिप्याड सहित आधुनिक मेडिकल कलेज बनाउने र बिरामीका कुरुवालाई छुटै आवासको व्यवस्था गर्ने उल्लेख छ।

तामनगरमा ट्रमा सेन्टर स्थापना गरी ५ वर्षमुनिका बालबालिका र ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने र सबै विद्यालयमा नर्स कार्यक्रम सञ्चालन गर्ने दाबी गरिएको छ।

गठबन्धनले युवा र खेलकुद क्षेत्रमा राष्ट्रवादी युवा जनशक्तिका उत्पादन गर्ने, आधुनिक मापदण्ड अनुसार खेल पूर्वदार निर्माण गर्ने, नमुना युवा संसद् कार्यक्रम सञ्चालन गर्ने, राष्ट्रिय अन्तर्राष्ट्रिय पदक विजेतालाई व्यावसायिक जीवनका सुरक्षा गर्ने लगायतका अजेण्डा उल्लेख गरेका छन्।

लैङ्गिक समानता र समावेशितामा जातीय लैगिंक र सामाजिक विभेद हटाई समतामूलक समाजको निर्माण गर्ने, हिंसा पीडितका लागी सामाजिक सुरक्षा केन्द्र स्थापन गर्ने, प्रतीक्षालयहरूमा निःशुल्क इन्टरनेट बिस्तार गर्ने, एक वडा-एक ज्येष्ठ नागरिक केन्द्र निर्माण गर्ने लगायतका योजना घोषणा पत्रमा उल्लेख छ।

भौतिक पूर्वाधारमा सुखी जीवनका लागी पूर्वाधारमा लगानी कार्यक्रम, सबै सडक हिलो-धुलो मुक्त र आधुनिक सडक बिस्तार गर्ने, अव्यवस्थित बसोबास गर्नेलाई स्वामित्व प्रदान गर्ने, सुकुम्वासीलाई भूमि अधिकार दिइने, तिलोत्तमा सैनामैना र बुटवल जोड्ने चक्रपथ सँगै ढलको वैज्ञानिक व्यवस्था गर्ने उल्लेख छ।

यसै गरी, एक घर एक धारा, सुविधा सम्पन्न आधुनिक बसपार्क, सार्वजनिक स्थलहरूमा सिसिटिभी र चार्जिङ स्टेसन, बिद्धुतिय सवारी प्रदेश, सार्वजनिक सेवालाई विद्युतीय प्रणालीमा जोडिने,ज्योतिनगर र लक्ष्मीनगर पहिरोलाई दीर्घकालीन व्यवस्था तथा बस्ती एकीकरण योजना बनाइने उल्लेख छ।

कृषि तथा वातावरणमा रासायनिक र जैविक मल उत्पादन केन्द्र स्थापना गर्ने, खेतीयोग्य जमिनलाई आधुनिक तथा व्यावसायिक कृषि क्षेत्रJ रूपमा विकास गरी किसानलाई बाली कर्जा र बिमा प्रदान गर्ने कर्जामा व्याज अनुदान दिने,तामनगरमा अन्तर्राष्ट्रिय कृषि व्यापार केन्द्र स्थापना गर्ने, एग्रोभेट तालिम केन्द्र स्थापना गरी कृषकलाई तालिमको व्यवस्था गर्ने र  पर्यावरणको सन्तुलनका लागी वन क्षेत्रलाई वैज्ञानिक रूपमा संरक्षण र सम्बद्धर्न गर्ने घोषणा पत्रमा उल्लेख छ।

कात्तिक २०, २०७९ आइतबार १८:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।