भारतमा भएकाे पहिलाे चुनावमा भाेट हाल्ने व्यक्तिको निधन

भारतमा भएकाे पहिलाे चुनावमा भाेट हाल्ने व्यक्तिको निधन

काठमाडौं:  भारतमा भएकाे पहिलाे निर्वाचनमा भाेट हाल्ने व्यक्तिकाे निधन भएकाे छ।

२३ अक्टुबर १९५१ मा भारतमा भएकाे पहिलाे चुनावमा भाेट हाल्ने श्यामशरण नेगीको शनिबार दिउँसो ३ बजे आफ्नै घरमा  निधन भएको भारतीय सञ्चार माध्यमले जनाएको छ।

उनले बित्नुभन्दा तीन दिनअघि मात्रै आफ्नाे जीवनमा ३४औ‌ं मतदान अर्थात् अन्तिम मतदान गरेका थिए। उनले दुई दिनअघि पोस्टल ब्यालेटका माध्यमबाट विधानसभा चुनावमा भोट हालेको हिन्दुस्तान टाइम्सले जनाएकाे छ।

हिमाञ्चल प्रदेशकाे किन्नौर जिल्लास्थित कल्पाका नेगी १ जुलाई १९१७ मा जन्मेका उनी पहिलोपल्ट भोट हाल्दा ३३ वर्षका थिए।

उनी सन् १९५१ मा किन्नाैरकै कल्पा प्राथमिक विद्यालयमा पढाउँथे । भर्खरै स्वतन्त्र भएकाे भारतले अर्काे वर्ष पहिलाे चुनाव गर्दै थियाे। तर, हिमाचलका केही क्षेत्रमा खराब माैसमका कारण निर्धारित मितिभन्दा पाँच महिना अगाडि नै मतदान गराउनुपर्ने भयाे।

त्यो बेला शिक्षक नेगीले चुनावी ड्युटीकाे जिम्मेवारी पनि पाएका थिए। बिहान ७ बजे नै कल्पा प्राविस्थित मतदान केन्द्रमा पहिलाे भाेट उनैले खसालेका थिए।

भारतीय मिडियाका अनुसार समग्रमा ३४ वटा चुनावमा नेगीले मतदान गरे। उनको अन्तिम संस्कार पूरै राजकीय सम्मानका साथ रिकाङ्गपिओको पोवारीस्थित सतलुज नदीको किनारमा गरिएको समाचारमा उल्लेख छ।

कात्तिक २०, २०७९ आइतबार ११:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।