ललितपुर-३ : कांग्रेस भरोसामा भुसाल, कार्कीले भोट काटे संसद छिर्ने खड्काकाे दाउ

ललितपुर-३ : कांग्रेस भरोसामा भुसाल, कार्कीले भोट काटे संसद छिर्ने खड्काकाे दाउ

काठमाडौं : ९४ हजार मतदाता रहेको ललितपुर क्षेत्र नम्बर ३ को चुनावी मैदानमा ऊर्जामन्त्री एवं माओवादी केन्द्रकी उप–महासचिव पम्फा भुसाल सहित २० जनाले उम्मेदवारी दिएका छन्।

०७४ सालमा वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी भुसालले कांग्रेसका उम्मेदवारलाई हराउँदै २४ हजार ३६ मत प्राप्त गरेर विजय भएकी थिइन्। तर, आगामी मंसिर ४ गते हुने चुनावको लागि भने सत्ता गठबन्धनका उनी साझा उम्मेदवार हुन्।

कांग्रेसको सहयोगविना भुसालको जित सहज देखिँदैन यहाँ। एमालेका अमृत खड्कालाई उनको प्रतिस्पर्धी उम्मेदवारको रूपमा हेरिएको छ यस क्षेत्रमा। ०४८ साल यता सबै चुनावमा क्षेत्र बाहिरका उम्मेदवार उठाएको कारण खास योगदान नगरेको भन्दै एमालेले यसपटक खड्कालाई उम्मेदवार बनाएको हो।

तर, चुनाव नजिकिँदै गर्दा यसै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी डा. तोसीमा कार्कीले पनि आफ्नो प्रभाव देखाइरहेकी छन्। सुरुवातमा गुमानाम झैँ रहेकी उनी निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेसँगै एकाएक चर्चामा छिन्।

उनको उम्मेदवारी खारेजीको सम्बन्धमा स्थानीय मतदाताले खोज्न सुरू गरिरहेकै बेला उनले सर्वोच्चको बाटो रोजिन् र सर्वोच्चले खारेजी नगर्न आदेश दियो। त्यसपछि उनलाई मिडिया र जनतामाझ थप चिनिने मौका पाइन्।

अहिले भने भुसाल र खड्कासँगै कार्कीलाई पनि यस क्षेत्रको मुख्य प्रतिस्पर्धीको रूपमा हेर्न थालिएको छ। उनले गठबन्धनका उम्मेदवारको राम्रै भोट काट्ने देखिन्छ।

यस क्षेत्रमा ०४८ सालको चुनावमा जनमोर्चाका लिलामणि पोखरेलले जितेको यस क्षेत्र ०५१ र ०५६ मा एमालेका रघुजी पन्तको पोल्टामा गयो। ०६४ मा माओवादीका पम्फा भुसाल, ०७० मा कांग्रेसका मदन अमात्य विजयी हुँदा ०७४ मा पुनः भुसाल नै निर्वाचित भए।

तेस्रो माओवादीकाे ह्याट्रिक गर्ने तयारी
यस क्षेत्रमा गोदावरी नगरपालिकाका वडा नम्बर १२ र १४ साथै ललितपुर महानगरका १–५, १०, १३–१५, १८ र २०–२९ नम्बर वडा गरि जम्मा २२ वटा वडा छन्। स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार यहाँ कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो स्थानमा छन्।

कांग्रेसको १९ हजार ७४४, एमालेको १९ हजार ७११, माओवादीले ७ हजार ९५८, एकीकृत समाजवादीले ५ हजार १२९, राप्रपाको ४ हजार ४४० र स्वतन्त्रको ३ हजार ५६६ मत छ।

यहाँको सात वडामा कांग्रेस, आठ वटामा एमाले, तीन वटामा माओवादी, र दुई–दुई एकीकृत समाजवादी र स्वतन्त्रको नेतृत्त्व छ। स्थानीय तहको मतअनुसार सत्ता गठबन्धनको मत राम्रो देखिए पनि माओवादीलाई कांग्रेसको साथ पाउन त्यति सहज छैन।

यो क्षेत्र माओवादी केन्द्रलाई छाडेकोमा कांग्रेसभित्र असन्तुष्टि बढेको कसैबाट लुक्न सकेको छैन। यस अघिको चुनावमा भुसालसँग हारेका कांग्रेसी नेता अमात्यको पनि यहाँ बलियो प्रभाव छ। तर, उनी अहिले भने गुमनाम भएर बसेका छन्।

यस क्षेत्रमा माओवादी पहिला देखि नै कमजोर देखिँदै आएको हो। ०७० को दोस्रो संविधानसभामा यहाँ माओवादीका उम्मेदवार दिनेश महर्जन कांग्रेससँग पराजित भएका थिए। तर, ०७४ को संसदीय चुनावमा भने माओवादीले जित्यो। त्यसबेला माओवादीको जित एमालेको सहयोगविना सम्भव नभएको घामजत्तिकै छर्लङ्ग छ। यसपटक भने भुसाल कांग्रेसकाे भरोसामा संसद छिर्ने दाउमा छिन्।

यस क्षेत्रका जिल्ला सहइन्चार्ज सहित माओवादीका अन्य केहि नेता एमाले प्रवेश गरेकाले पनि भुसाललाई थप चुनौती थपिएको छ। यसैबीच माओवादीलाई लिएर कांग्रेसभित्र असन्तुष्टि रहेको खबर आइरहँदा स्वतन्त्र पार्टीकी तोसिमाले ठूलो मत काट्ने देखिन्छ।

त्यस बाहेक एमालेका खड्का पनि मौकाको फाइदा उठाएर ललितपुर ३ वासीलाई स्थानीयले नै नेतृत्व गर्न पाउनुपर्छ भन्दै लागेका छन्। यद्यपि, त्यसलाई मतदाताले स्वीकार्छन् वा भुसाललाई ह्याट्रिक गर्न दिन्छन्? त्यो भने हेर्न बाँकी नै छ।

प्रतिस्पर्धीका हेर्नलायक पृष्ठभूमि
सडक र खानेपानी यो क्षेत्रका सधैँका समस्या हुन्। त्यसबाहेक अन्य धेरै कुरालाई अजेण्डा बनाएर उम्मेदवाररू चुनावी मैदानमा छन्। माओवादी नेता भुसालले संविधानको कार्यान्वयन गरेर व्यवस्था बलियो बनाउने साथै आर्थिक, सामाजिक विकास र रोजगारी सिर्जना गर्नुलाई आफ्नो अजेण्डा बनाएकी छन्।

प्रत्यक्षतर्फ चुनावी मैदानमा रहेका थोरै महिला नेतामध्येकी भुसाल माओवादी केन्द्रकी प्रभावशाली नेता हुन्। पार्टीसँगै उनको राष्ट्रिय राजनीतिमा पनि राम्रो प्रभाव छ। उनले अहिलेसम्म लडेका जति सबै चुनावमा जित हासिल गरेकी छन्। उनी यसै क्षेत्रबाट ०६४ र ०७४ मा गरी दुईपटक सांसद भइसकेकी छन्।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री रहेकी भुसाल पटक–पटक मन्त्री पनि भैसकेकी छन्। दुईपटक जितिसकेकी उनी आफ्नो निर्वाचन क्षेत्रमा पनि सक्रिय नै देखिन्छिन्। आफूले प्रत्यक्षतर्फ चुनाव लड्ने यो अन्तिम पटक भएको भन्दै उनले अर्को चुनावमा आफू प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने घोषणा समेत गरिसकेकी छन्। अर्घाखाँचीमा जन्मिएकी उनी १६ वर्षको उमेरदेखि ललितपुरकी स्थायी वासिन्दा हुन्।

एमाले उम्मेदवार खड्काको यो पहिलो संसदीय चुनाव हो। १५ वर्षको उमेरदेखि राजनीतिमा लागेका उनी २३ वर्षको उमेरमा तत्कालीन सैबु गाउँ विकास समितिको अध्यक्ष भए। सैँबुको नामले परिचित यस क्षेत्र शहर बढ्दै जाँदा भैसेपाटी भनेर चिनिन्छ।

स्थानीय नेतृत्व सम्हालिसकेकाले पनि उनलाई स्थानीयसँग भिजेका उम्मेदवार भनेर चिनिएका छन्। अन्तर्राष्ट्रिय बजारमा भेडाको ऊनबाट बनेका वस्तुहरू निर्यातमा पनि उनले लामो समयको अनुभव छ। नीति, ऐन, कानूनका कारण हस्तकला, वास्तुकला लोप हुँदै गएको बेला त्यसलाई अगाडी बढाउने पनि उनको योजना छ।

तोसिमा भने नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य हुन्। स्वास्थ्य क्षेत्रमा लामो अनुभव रहेको उनी पाटन अस्पतालका सर्जन डाक्टर समेत हुन्। निर्वाचन आयोगले अन्तिम उम्मेदवार नामावली सार्वजनिक गरेपछि उनी विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेपछि आयोगले उनको उम्मेदवारी खारेज गरिदियो।

सर्वोच्चले उनको उम्मेदवार खारेज नगर्न अन्तरिम आदेश दिएसँगै तोसिमाको ‘क्रेज’ ललितपुरमा ह्वातै बढेको छ। सर्वोच्चको आदेशपछि उनी पनि घरदैलो सहितका कार्यक्रममा सक्रिय भएकी छन्। जनमानसमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच, महिला सशक्तिकरण, शिक्षा र युवा रोजगारी, सांस्कृतिक सम्पदाको संरक्षण लगायतको अजेण्डा उनले उठाएकी छन्।

खोकना मुद्दाको असर
खोकना ललितपुरको प्राचीन बस्तीमध्ये एक हो। निजगढ जोड्ने फास्ट ट्रयाकको सुरुवाती विन्दु बनाउन खोजिएपछि खोकनावासी लामो समयदेखि यसविरुद्ध आन्दोलनमा छन्।

स्थानीयवासीले खोकनाको खुडोलमा गएर खेती गर्न खोज्दा प्रहरी र स्थानीयबीच झडप नै भएको थियो। झडपपछि आक्रोशित स्थानीयले आफ्नै क्षेत्रका नेताहरूको पुतलासमेत जलाउनुका साथै वडा कार्यालयमै ताल्चा नै लगाइदिए अनि चोक–चोकमा ‘पम्फा भूषाल निषेधित क्षेत्र’ भनेर पोस्टरसम्म टास्न भ्याए।

नेपाल सरकारले २०७४ वैशाख २१ गते यो बाटो निर्माणको जिम्मेवारी नेपाली सेनालाई सुम्पेको थियो। जिल्लाकै सबैभन्दा धेरै कृषि उत्पादन भएको क्षेत्र मध्ये एक हो खोकना। त्यहाँको कृषक र स्थानीयहरूमाझ उम्मेदवारहरू कसरी प्रस्तुत हुन्छन्? र खोकनावासीले  चुनावमा कसरी प्रभाव पार्छन्? त्यो भने यस क्षेत्रको अर्को हेर्न लायक पाटो हो।

कात्तिक २०, २०७९ आइतबार ११:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।