जब कोच राजेश आफैँ प्रतिस्पर्धी बनेर 'द भोइस अफ नेपाल'को ब्याटल राउण्डमा गीत गाउन थाले...

जब कोच राजेश आफैँ प्रतिस्पर्धी बनेर 'द भोइस अफ नेपाल'को ब्याटल राउण्डमा गीत गाउन थाले...
तस्बिरहरू: द भोइस अफ नेपालको युट्युब च्यानल

काठमाडौं: 'द भोइस अफ नेपाल' चर्चित साङ्गीतिक रियालिटी शो हो। आफ्नो चौथो संस्करणमा रहेको यो रियालिटी शोले यस अवधिमा ठूलो फ्यान फलोइङ कमाएको छ।

गए राति प्रशारण भएको भोइसको यो संस्करणको १७औँ एपिसोडमा भने एउटा रमाइलो र रोचक घटना भयो। चारमध्येका सबैभन्दा सिनियर कोच राजेश पायल राई आफैँ प्रतिस्पर्धी बनेर स्टेजमा उक्लिए। उनले आफ्नै 'ट्यालेन्ट'सँग ब्याटल गरे।

खासमा भएको के थियो भने, टिम राजेशको ब्याटलमा सञ्जित सेवान र मोहन नेपाली भिड्दै थिए।

सञ्जितले ब्लाइण्ड अडिशनमा पप विधाको गीत गाएका थिए। मोहनले भने ब्लाइण्डमा लोक-आधुनिक विधाको गीत गाएका थिए। दुई फरक विधाका ट्यालेन्टलाई कोच राजेशले फिल्मी गीत दिए ब्याटलमा।

राजेशले दुई जनाको 'फ्युजन' कस्तो होला त भन्ने जिज्ञासाले दुई जनाको 'पेयर' गराएको पनि बताए।

मोहन र सञ्जितलाई सोनु निगमले गाएको गीत 'आफ्नै गाउँ फर्की आएँ' भन्ने गीत पर्यो। मोहनले त ठ्याक्कै टिपे मेलोडी तर सञ्जितलाई भने मेलोडी टिप्न र गीत उठाउन धौ-धौ पर्यो।

त्यसपछि स्टेज प्राक्टिसको चरणमा थाहा भयो सञ्जित त बिरामी परेछन्। मोहन एक्लै अभ्यास गरेको देखेर कोच राजेशले भोइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेललाई सोधे। लक्ष्मणले सञ्जित बिरामी भएर उपस्थित हुन नसकेको राजेशलाई जानकारी दिए। अनि सञ्जितले पठाएको भिडियो सन्देश पनि देखाए।

त्यसपछि मोहनलाई त चिठ्ठै परेजस्तो भयो। यद्यपि कोच राजेशले प्रतिस्पर्धा नगराई अघि नबढाउने निर्णय लिए, प्रतियोगिताको मर्मलाई पालना गरे।

तर ब्याटलमा प्रतिस्पर्धी नभएपछि मोहनसँग 'मैत्रीपूर्ण प्रतिस्पर्धा' गर्न राजेश आफैँ स्टेजमा उक्लिए। उनले आलाप लिँदै गीत गाउन सुरु गरे। सदाबहार गीत कोच राजेशको आवाजमा झनै मीठो सुनियो। मोहनले बीचमा आफ्नो भागमा परेको गीतको अंश पनि गाए।

यसबीच कोच प्यानलमा बसेका अरू कोचहरूले राजेशको सम्मानमा उठेर साथ दिए। कोचमध्येका प्रमोद खरेल त सोनु निगमका डाइहार्ड फ्यान नै भए। उनको एक्सप्रेशनमा देख्न सकिन्थ्यो, गाउन मन लागेको छ भनेर।

एकछिनपछि त सम्हाल्न नसकेर स्टेजमै उक्लिए तीनै जना कोच। अनि चार जना कोच 'उकाली ओराली गर्दै' गाउन थाले। कोच प्रविशा र कोच राजु पनि स्वरमा स्वर मिलाउन थाले। प्रमोदले गीतको फिनिसिङ आलाप गाएर सुनमा सुगन्ध थपे।

अन्तिममा मोहन नकआउटका लागि सेलेक्ट भए। र गए रातिको प्रस्तुतिले भोइसको रमाइलोमध्येको एपिसोड भयो त्यो।

कात्तिक १९, २०७९ शनिबार १०:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।