४३ अर्बको विमानस्थलको हविगत: दैनिक ४० अन्तर्राष्ट्रिय उडान क्षमता, तर हप्तामा बल्ल बल्ल १० उडान हुँदै
बुटवल: गत जेठ २ गते भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रूपमा सञ्चालनमा आएसँगै यस क्षेत्रका उद्योगी, व्यवसायी एवं नागरिकमा छुट्टै उत्साह थियो। यसबीच विमानस्थलबाट पहिलो पटक कुवेतको जजिरा एयरलायन्सले अन्तर्राष्ट्रिय उडान गरेको पनि ५ महिना भइसकेको छ।
४३ अर्बको लागतमा निर्माण भएको विमानस्थलबाट ५ महिनासम्म जजिराले मात्र उडान गर्यो। दशैंअगाडि दैनिक उडान गर्ने बताएको जजिराले यात्रु नपाएकै कारण केही दिन दैनिक उडान गरेर अहिले फेरि सातामा ३ वटा मात्र उडान गरिरहेको छ।
विमानस्थलको क्षमता दैनिक ४० उडानको हो। तर सातामा जम्मा ३ वटा उडान मात्र हुने गरेको थियो। बिहीबारबाट भने हिमालय एयरलायन्सले भैरहवा–क्वालालाम्पुर उडान सुरु गरेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीनभन्दा बढी उडान भर्ने वायुसेवा कम्पनीलाई अनिवार्य भैरहवा जान निर्देशन दिएको छ। तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प भनिएको यो विमानस्थलबाट अझै श्रम स्वकृति पाइँदैन।
हिमालय एयरलाइन्स, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय व्यावसायिक उडान संचालन गर्ने दोस्रो विमान कम्पनी समेत बनेको छ। सरकारले वायुसेवा कम्पनीहरूलाई उडान भर्न ताकेता गरेपछि हिमालयले भैरहवाबाट उडान सुरु गरेको हो।
बिहीबार दिउँसो क्वालालम्पुरबाट खाली आएको उक्त विमानले भैरहवादेखि १३५ जना यात्रु लिएर क्वालालम्पुर उडेको थियो। यी सबै यात्रु वैदेशिक रोजगारका लागि गएका श्रमिक हुन्।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले हिमालय एयरलाइन्सले बिहीबारदेखि भैरहवा–क्वाालााम्पुर दैनिक एउटा चार्टर्ड उडान संचालन गर्ने जानकारी दिए। ‘तत्कालका लागि उक्त एयरलाइन्सले भैरहवा–क्वालालम्पुरबीच दैनिक एउटा चार्टर्ड उडान संचालन सुरु गरेको छ’, झाले भने, ‘पछि थप गर्दै जानसक्छ।’
प्राधिकरणको बाध्यात्मक निर्देशन
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीनभन्दा बढी उडान भर्ने वायुसेवा कम्पनीलाई अनिवार्य भैरहवा जान निर्देशन दिएको छ। तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प भनिएको यो विमानस्थलबाट अझै श्रम स्वकृति पाइँदैन।
भैरहवा विमानस्थलले अहिले ल्यान्डिङ, पार्किङ र नेभिगेसन शुल्कमा शतप्रतिशत छुट दिएको छ। विमान कम्पनीले यस्तो छुटबाट एक उडानमा करिब एक लाख रुपैयाँ सहुलियत पाउँछन्।
विमान सेवा प्रदायक कम्पनीलाई आर्कषित गर्न सरकारले १४ जेठबाट छुट दिए पनि अहिलेसम्म विमानस्थलमा आर्कषण बढ्न सकेको छैन।
बाध्यात्मक निर्देशनको पालना गर्दै हिमालय एयरलायन्सले बिहीबारबाट चार्टर्ड उडान गरे पनि नेपाल एयरलायन्सले भने अझै उडान गरेको छैन।
श्रम स्वीकृतिका अलवा भैरहवा आउने विमानले भारतीय आकाश प्रयोग गर्ने अनुमति नपाउँदा पनि कम्पनीले उडानका लागि कम चासो दिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए।
भारतले एयर रूट नदिँदा भैरहवा आउन आधा घण्टा ढिलो हुने गर्दछ। यही कारण लागत बढ्ने भएकाले पनि कम्पनीहरूले यहाँबाट उडान भर्न चासो नदिएको उनको भनाइ छ। त्यसबाहेक मेडिकल परीक्षण, भिसा प्राप्ति, रोजगार परामर्श, मेनवापर समेत यहाँ छैनन्।
सरकारले नै मेनपावर कम्पनीको शाखा खोल्ने अनुमति रोकेर राखेको छ। श्रम कार्यालय स्थापना भए पनि त्यसले पूर्णसेवा दिन सकिरहेको छैन। अहिले कतार र यूएईका भिसा सेन्टर पनि काठमाडौंमा मात्रै छन्। अन्य कतिपय देशमा जान ‘बायोमेट्रिक’ दिनुपर्ने सुविधा पनि काठमाडौं केन्द्रित छ।
विमानस्थलमा छुट हुँदा पनि आर्कषण भएन
भैरहवा विमानस्थलले अहिले ल्यान्डिङ, पार्किङ र नेभिगेसन शुल्कमा शतप्रतिशत छुट दिएको छ। विमान कम्पनीले यस्तो छुटबाट एक उडानमा करिब एक लाख रुपैयाँ सहुलियत पाउँछन्।
विमान सेवा प्रदायक कम्पनीलाई आर्कषित गर्न सरकारले १४ जेठबाट छुट दिए पनि अहिलेसम्म विमानस्थलमा आर्कषण बढ्न सकेको छैन।
पर्यटन व्यवसायीहरू विमानस्थलमा छुट भए पनि व्यवस्थापन पक्षमा सरकार गम्भीर नहुँदा आर्कषण नभएको बताउँछन्।
विज एयरले भाका सार्यो
विमानस्थलमा उडान गर्ने तयारीमा रहेको विज एअरले प्राविधिक कारण देखाएर उडानको पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको छ। अक्टोबर ३० देखि गौतमबुद्ध विमानस्थलमा उडान गर्ने गरी नागरिक उड्डयन प्राधिकरणसँग स्वीकृति लिएर उडान तालिका समेत मागेको विज एअरले के कारणले उडान स्थगित गर्यो भन्नेबारे भने केही उल्लेख गरेको छैन।
गौतमबुद्ध विमानस्थलबाट नेपालको पर्यटन प्रवर्द्धनका लागि दक्षिण एसियाका विशेषगरी बौद्ध धर्मावलम्बीको बाहुल्य भएको राष्ट्रसँग हवाई उडान संचालन गर्न छलफल भइरहेको र थाइल्याण्डले चाँडै हवाई उडान संचालन गर्ने बताएको उनले जानकारी दिए।
‘प्राविधिक कारणवश उडान स्थगित गरेको भन्ने सुनिएको छ, विस्तृत जानकारी आएको छैन’, विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले भने।
भैरहवामा विज एयरले एयरबसको ३२१ निओ सिरिजको जहाज सञ्चालनमा ल्याउने योजनाअनुसार उडान तालिका मागेको थियो। विजको १९० सिट क्षमताको उक्त जहाज नेपालमै पहिलोपटक उडान गर्न लागेको बताइएको थियो।
नेपाल एयरलायन्स कहिले आउँछ?
सरकारी स्वामित्वको राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालन गर्न त्यति चासो दिएको छैन। नेपाल नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले केही समयपछि नै भैरहवाबाट नेपाल एयरलाइन्सले आफ्नो सेवा संचालन गर्ने बताए।
गौतमबुद्ध विमानस्थलबाट नेपालको पर्यटन प्रवर्द्धनका लागि दक्षिण एसियाका विशेषगरी बौद्ध धर्मावलम्बीको बाहुल्य भएको राष्ट्रसँग हवाई उडान संचालन गर्न छलफल भइरहेको र थाइल्याण्डले चाँडै हवाई उडान संचालन गर्ने बताएको उनले जानकारी दिए।
‘१२ तारिखदेखि कुवेत एयरलाइन्स पनि आउँदैछ, अब यस विमानस्थलबाट हवाई उडान बढ्ने क्रममा छ’, उनले भने।
त्यस्तै उनले वैदेशिक रोजगारीमा जाने यात्रुले भोग्नु परेको श्रमसँग समबन्धित समस्या आधाभन्दा धेरै समाधान भइसकेको र बाँकी समाधान हुने क्रममा रहेको बताए।
कात्तिक १९, २०७९ शनिबार ०७:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।