‘मलाई चार जनाले मार्ने योजना बनाए, तीन जनाले गोली हाने, चार गोली लाग्यो’

‘मलाई  चार जनाले मार्ने योजना बनाए, तीन जनाले गोली हाने, चार गोली लाग्यो’

काठमाडौं : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई चार गोली लागेको बताएका छन्।

हत्या प्रयासको एक दिनपछि अस्पतालबाट भिडियो सम्बोधन गर्दै उनले आफूलाई चार गोली लागेको बताएका हुन्।

उनले आफूलाई मार्ने प्रयासको बारेमा आफूलाई एकदिन अघि नै थाहा भएको जानकारी दिँदै मार्नका लागि चार जनाले बन्द कोठामा योजना बनाएको भिडियोसमेत आफूसँग भएको खुलासा गरे।

‘म माथि आक्रमण हुँदैछ भन्नेबारे मलाई एक दिनअघि नै थाहा थियो,’ भिडियो सम्बोधन उनले भने, ‘आक्रमण वजीराबाद वा अन्य कहिँ हुनेछ भन्नेबारे थाहा पाएकाे थिएँ, चार जनाले बन्द कोठामा मलाई मार्ने योजना बनाएका थिए, म सँग त्यसको भिडियो पनि छ। यदि मलाई केही भयो भने त्यो भिडियो सार्वजनिक गरिनेछ।’

यसैबीच खानले लङ्ग मार्चका क्रममा आफूलाई तीन जनाले मार्ने कोसिस गरेको खुलासा गरेका छन्। यी तीन जना अगाडि भनिएकाे चार जनाभन्दा अलग व्यक्ति रहेको उनले बताए।

‘म कन्टेनरमा भएको बेला गोली चल्यो, मेरो गोडामा गोली लाग्यो र ढलेँ। जब म ढलेँ फेरि अर्को तर्फबाट गोली चल्यो,’ उनले भने, ‘म ढलिरहेको अवस्थामा फेरि मेरो माथिबाट अर्को गोली गयो।’

कात्तिक १८, २०७९ शुक्रबार २१:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।