परीक्षामा अभिनेत्री प्रियङ्काको करिअर : 'ची मुसी ची' र 'फूलबारी' हुन सक्छन् निर्णायक
काठमाडौं : अभिनेत्री प्रियङ्का कार्कीले अभिनय गरेको ‘लक्का जवान’ यसै वर्ष रिलिज भयो। तर यो फिल्मले उनले अभिनय गरेको फिल्मको सङ्ख्या मात्र बढायो। सफलताको सूचीमा पर्न सकेन।
विवाहपछि अभिनयकर्ममा सक्रिय हुने प्रयासमा रहेको प्रियङ्काले अभिनय गरेको २ फिल्म एक महिनाको अन्तरमा रिलिज हुँदै। यदि यी फिल्म पनि उही प्रियङ्काले अभिनय गरेको फिल्मको सूचीमा मात्र थपियो भने उनको अभिनय यात्रा सङ्कटमा पर्न सक्छ।
प्रियङ्काको समेत अभिनय रहेको फिल्म ‘ची मुसी ची’ पुस १५ मा रिलिज हुँदैछ। एमी स्टुडियो प्रोडक्शनको ब्यानरमा बनेको फिल्ममा प्रियङ्कासँगै ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान् देशराज जोशी, राजन खतिवडा, रवीन्द्र झा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
हरर थ्रिलरको जनारामा बनेको फिल्म मर्ण जेम्स र यश सैनीले निर्देशन गरेका हुन्।
प्रियङ्काको अभिनय रहेको अर्को फिल्म ‘फूलबारी’ फागुनको ५ गते रिलिज हुँदैछ। यो फिल्मको सफलता या असफलता उनको करिअर टर्न गराउन महत्पूर्ण हुने देखिन्छ।
दयाहाङ राई, विपिन कार्की अनि शिल्पा मास्के प्रमुख भूमिकामा रहेको यो फिल्म रामबाबु गुरुङले निर्देशन गरेका हुन्। यशोधा फिल्मस्को ब्यानरमा निर्मित फिल्मको कथा तथा कन्सेप्ट कमल किशोर मलपानीको र पटकथा उपेन्द्र सुब्बाको रहेको छ।
यी दुवै फिल्म हिट भएमा विवाह,कोरोना महामारी अनि आमा बनेपछि रोकिएको प्रियङ्काको अभिनय यात्राले गति लिन सक्छ।
कात्तिक १८, २०७९ शुक्रबार १८:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।