गुजरात पुल दुर्घटनाः खोज तथा उद्धार स्थगन, ठेकेदारसहित नौ जना पक्राउ

गुजरात पुल दुर्घटनाः खोज तथा उद्धार स्थगन, ठेकेदारसहित नौ जना पक्राउ

एजेन्सी: भारतको गुजरात राज्यका अधिकारीहरूले मोर्बीको मच्छु नदीमा हराएकाहरूको खोजी स्थगन गरेका छन्। गत आइतबार राति मच्छु नदीको झोलुङ्गे पुल भाँचिदा एक सय ४१ जनाको मृत्यु भएको थियो भने कैयौँ हराएका थिए।

उद्धारकर्ताले गए रातिदेखि खोज स्थगन गरेका हुन्। नदीबाट एक सय ७७ जनालाई उद्धार गरिएको र कोही पनि हराएको सूचना प्राप्त नभएकाले खोजी स्थगन गरिएको उनीहरूले बताएका छन्।

स्थानीय प्रशासनले त्यसलाई पुष्टि गरेको छ। पुल भाँचिदा एक सय जना घाइते भएका थिए। बेलायतको शासनकालमा शताब्दिअघि निर्मित उक्त पुल सात महिनाको मर्मतसम्भारपछि अघिल्लो साता सञ्चालन गरिएको थियो।

पुलको भारवहन क्षमताभन्दा बढी मानिस त्यहाँँ जम्मा भएपछि दुर्घटना भएको हो। पुलको क्षमताभन्दा पाँच सय जना बढी मानिस दुर्घटनाका बेला पुलमा रहेका विवरणहरू सार्वजनिक भएका छन्।

स्वदेशी तथा विदेशी पर्यटकका निम्ति मोर्वी पुल आकर्षक गन्तव्य मानिन्थ्यो।

यसबीच पुल मर्मतसम्भारको ठेक्का पाएको ओरेभा ग्रुप अजन्ता म्यानुफ्याक्चरिङ प्राइभेट लिमिटेडका दुई जना प्रबन्धक, ठेकेदारलगायत नौ जना कर्तव्य ज्यान अभियोगमा पक्राउ परेका छन्। यद्यपि उनीहरूमाथि नियतवश ज्यान मार्ने उद्योग गरेको अभियोग भने नलगाइएको बताइएको छ।

कात्तिक १८, २०७९ शुक्रबार १३:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।