भारतको रोमाञ्चक जितसँगै सेमिफाइनलको सम्भावना बलियो

भारतको रोमाञ्चक जितसँगै सेमिफाइनलको सम्भावना बलियो

काठमाडौँ : अस्ट्रेलियामा जारी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ को आजको खेलमा भारतले बङ्गलादेशलाई ५ रनले पराजित गरेको छ । यस जितसँगै भारतको सेमिफाइनल पुग्ने सम्भावना निकै बलियो भएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको भारतले  निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन जोडेको थियो । लक्ष्य पछ्याउने क्रममा बङ्गलादेशले धने ७ ओभरमा बिना विकेटको क्षतिमा ६६ रन बनाएको थियो ।

खेल खेल्दै गर्दा वर्षाले खेल अवरुद्ध हुन पुग्यो र वर्षा रोकिएसँगै १६ ओभरमा खेल झारियो । बङ्गलादेशले जितका लागि १ सय ५१ रनको नयाँ लक्ष्य पायो । तर, राम्रो स्थितिमा रहेको बङ्गलादेश ठूलो सट हान्ने प्रयासमा लगातार विकेट गुमाउँदा दबाबमा पुग्यो । निकै रोमाञ्चक मोडमा खेल पुग्दा १६ ओभरमा ६ विकेटको क्षतिमा बङ्गलादेशले १ सय ४५ रन मात्र बनाउँदा खेल भारतको पक्षमा गयो ।

बङ्गलादेशका नुरुल हसन र तास्किन अहमदले टोलीलाई जित नजिक पुर्याएका थिए । तर, उनीहरूको प्रयास पर्याप्त हुन सकेन । अन्तिम ओभरमा जितका लागि २० रन चाहिएको अवस्थामा नुरुलले १५.२ ओभरमा छक्का र १५.५ ओभरमा चौका हिर्काएका थिए । अन्तिम बलमा जितका लागि ७ र बराबरी गर्नका लागि ६ रनको चाहिएको अवस्थामा स्ट्राइकमा रहेका नुरुलले १ रन मात्र हिर्काउँदा भारतले खेल ५ रनले जितेको हो ।

भारतका लागि विराट कोहलीले अविजित ६४ रन बनाएका थिए । कोहलीले ४४ बलमा आठ चौका र एक छक्का प्रहार गरे । ओपनर केएल राहुलले ३२ बलमा तीन चौका र चार छक्कासहित ५० रन बनाए । सर्यकुमार यादववले ३० र रविचन्द्रन आश्विनले अविजित जोड्दा १३ रन अन्य ब्याटरले भने उल्लेख योगदान दिन सकेनन् ।

आजको जितसँगै चार खेलबाट भारत ६ अङ्क बटुलेर समूह २ को अङ्क तालिकाको शीर्ष स्थानमा पुगेको छ भने हारपछि समान खेलमा बङ्गलादेश ४ अङ्कका साथ तेस्रो स्थानमा यथावत् छ । ३ खेल खेलेको दक्षिण अफ्रिका ५ अङ्कसहित दोस्रो स्थानमा छ ।

कात्तिक १६, २०७९ बुधबार २२:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।