भक्तपुर क्षेत्र २ : दुवै दबङ उम्मेदवार, एक-अर्कालाई धम्क्याउने प्रतिस्पर्धा

भक्तपुर क्षेत्र २ : दुवै दबङ उम्मेदवार, एक-अर्कालाई धम्क्याउने प्रतिस्पर्धा

भक्तपुर : भक्तपुर क्षेत्र २ मा नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले लगातार आफ्नो प्रभाव पारिरहेकोमा २०७४ को निर्वाचनमा भने अलि फरक दृश्य देखियो। एमालेका नेता महेश बस्नेतले ३६ हजार ४ सय १२ मत पाएर आफ्नो प्रभाव जमाए।  त्यस बेला बस्नेतले पाएको मत उनका प्रतिद्वन्दी भन्दा झन्डै दोब्बर थियो। 

उनका प्रतिद्वन्दीमा नेपाली कांग्रेसका नेता तथा पूर्वसभामुख दमननाथ ढुंगानाले जम्मा १८ हजार ६ सय ८७ मत पाएका थिए। त्यसैगरी नेमकिपाकी अनुराधा मगरले भने ५ हजार ४ सय ७१ मत पाएर तेस्रो भइन्। आगामी चुनावको लागि एमालेको तर्फबाट बस्नेत र नेमकिपाबाट मगर नै मैदानमा भए पनि कांग्रेसका तर्फबाट भने दुर्लभ थापा क्षेत्री छन्। 

बस्नेत र थापा दुबै दबङ नेताको रुपमा परिचित छन्। दुबैको भाषणमा संयम् भन्दा चुनौती नै बढि हुन्छ। आफ्ना प्रतिष्पर्धीलाई होच्याउन अनि धम्क्याउन दुबै उत्तिकै सक्रिय हुन्छन्।

अघिल्लो चुनावको नतिजा र स्थानीय तह नतिजा हेर्ने हो भने यसपटक नेमकिपाको अवस्था कम्जोर नै भएको कारण मुख्य प्रतिद्वन्दीका रुपमा सत्ता गठबन्धनका थापा र एमालेका बस्नेत छन्। 

यस पटकको चुनावमा भक्तपुर-२ मा प्रमुख दलका उम्मेदवार बाहेक २६ जनाको उम्मेदवारी परेको छ। जसमध्ये स्वतन्त्र मात्रै ११ जना छन्। यस क्षेत्रमा २०४८ मा कांग्रेस, ०५१ मा नेमकिपा, ०५६ मा  कांग्रेस, ०६४ मा नेमकिपा र ०७० मा फेरी कांग्रेसका उम्मेदवारले विजय हासिल गरेका थिए। यसरी पालैपालो कांग्रेस र नेमकिपाले जितेको बेला ०७४ सालमा भने बस्नेत एमालेबाट जित हासिल गरेका हुन्। 

एमालेका बस्नेत र कांग्रेसका थापा दुवै नेता स्थानीय रुपमा उग्र स्वभावका नेताका रुपमा परिचित छन्। केही दिनअघि दुवै नेतालाई निर्वाचन आयोगले ’निर्वाचन आचारसंहिता’ उल्लंघन गरेको भन्दै स्पष्टिकरण समेत सोधेको थियो। 

२०७४ मा एमाले र माओवादी केन्द्र मिलेका कारण बस्नेतलाई केही सहज भए पनि यसपाली भने उनलाई त्यति सहज देखिएको छैन। ०७४ मा उनले केही साना र क्षेत्रीय दल सहित माओवादी केन्द्रको साथ पाएका थिए। तर, यसपटक भने माओवादी र एकिकृत समाजवादी पनि कांग्रेससहितको पाँच दलीय गठबन्धनमा रहेकाले बस्नेतलाई जितका लागि सहज देखिदैन। 

०७४ को प्रतिष्पर्धामा कांग्रेसले दमननाथ ढुंगानालाई टिकट दिंदा टुरिष्ट उम्मेदवार उठाएको भनेर कांग्रेसभित्रै लोचना भएको थियो  गठबन्धनले भक्तपुरमा सिट बाँंडफाँटमा प्रतिनिधि सभातर्फ भक्तपुर-२ कांग्रेसलाई परेसँगै जिल्ला सभापति थापाले टिकट पाए।

दुवै प्रतिद्वन्दी आफ्नो पक्षमा माहौल बनाउन मतदाताको घर दैलोमा पुगिरहेका छन्। विशेषगरी कुनै पार्टीमा नदेखिएको स्वतन्त्र भोट, राप्रपा, नेमकिपा जस्ता साना दलसँग निकट भएको भोट तथा सुकुम्बासीको भोट आकर्षित गर्न थापा र बस्नेतको प्रयास जारी देखिन्छ।

स्थानीय तहको नतिजामा कांग्रेस बलियो !
गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाममा  यस क्षेत्रमा एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा भएको थियो। मत परिणाममा फेरबदल भएन भने संसदीय निर्वाचनमा पनि यी दुबै दलका उम्मेदवारबिच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ।

यस क्षेत्रमा सुर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिका पर्छ। जसअन्तर्गत जम्मा १९ वटा वडा छन्। यसमध्ये सुर्यविनायक नगरमा एमालेको नेतृत्व छ। सोही नगरको वडा १,५,७,८,१० र मध्यपुरथिमी नगरको वडा ४ र ७ गरि जम्मा सात वटा वडामा एमालेको नेतृत्व छ। त्यसैगरी मध्यपुरथिमी नगर र नगरका १,२,३,५,६,९ अनि सुर्यविनायकका वडा २,३,४,६ र ९ गरि जम्मा ११ वटा वडामा नेतृत्व रहेको छ।

स्थानीय तहको निर्वाचनमा कांग्रेस र एमालेबिच ठुलो मतान्तर देखिदैन। स्थानीय तहमा कांग्रेसले २५ हजार ७ सय ६४ मत प्राप्त गरेको थियो। त्यसपछि क्रमश: एमालेले २४ हजार २सय ८६, नेमकिपाले ४ हजार ९ सय २५, राप्रपाले ४ हजार १ सय ७२, एकिकृत समाजवादीले १ हजार २ सय २ र माओवादीले १ हजार ४५ भोट पाएको थियो।  

वडाको मतपरिणाम अनुसार सूर्यविनायक १४ हजार ५ सय १४ मतले अगाडी छ भने ११ हजार ५ सय ७२ मतसहित कांग्रेस दोस्रो स्थानमा छ। त्यसैगरी मध्यपुरथिमीका वडाहरूमा भने कांग्रेसको मत धेरै छ। दुइवटै नगरमा यी दुइ दल अघि-पछि भएकाले कडा प्रतिष्पर्धा हुने देखिन्छ। गठबन्धनका कारण एमालेलाई थप चुनौती हुनेमा शंका छैन। 

आचारसंहिता उल्लंघन गर्दै प्रतिष्पर्धीहरु  
एमालेका बस्नेत र कांग्रेसका थापा दुवै नेता स्थानीय रुपमा उग्र स्वभावका नेताका रुपमा परिचित छन्। केही दिनअघि दुवै नेतालाई निर्वाचन आयोगले ’निर्वाचन आचारसंहिता’ उल्लंघन गरेको भन्दै स्पष्टिकरण समेत सोधेको थियो। 

आचारसंहिता अनुसार बाजागाजा लिएर उम्मेदवारी दर्ता गर्न नपाउनेमा बस्नेत झाँक्रि लिएर डम्फु बजाउन लगाउँदै आफ्नो उम्मेदवारी दर्ता गर्न पुगेका थिए। अनि उम्मेदवारीको बेला २५ जना भन्दा बढी भेला हुन नपाइनेमा नारा लगाउँदै सयौं कार्यकर्ताका लिएर उम्मेदवारी दर्ता गर्न पुगेका थिए।

पार्टी अध्यक्ष केपी शर्मा ओली निकट नेता मानिने बस्नेत आफ्नो विपक्षलाई नराम्रो देखाउन कुनै मौका छोड्दैनन्। कुनै विषय पाएकी उनी आफ्नो पार्टी र पार्टको बचाउ गर्न लागिहाल्छन्। पार्टीको पोलिटब्युरो सदस्य समेत रहेका बस्नेत  ०५४ सालको स्थानीय निर्वाचनमा भक्तपुरको गुण्डु गाविसको अध्यक्ष हुँदा २२ वर्षका मात्र थिए। यसबिचमा उनी युथफोर्स र युवा संघको अध्यक्ष हुँदै उद्योगमन्त्री समेत बनिसकेका छन्।

लकडाउनको समयमा बस्नेत, पूर्वआईजीपी सर्वेन्द्र खनाल र नेकपाकै अर्का सांसद र किसान श्रेष्ठलाई समाजवादी पार्टीका नेता डा. सुरेन्द्र यादवलाई अपहरण गरी काठमाडौँ ल्याइएको आरोप लागेको थियो। समाजवादी पार्टी फुटाउन लागि परेका भनेर उनीहरुको विरोध भएको थियो। अपहरणको आरोप लागेपछि तीनै जनाले आफूहरू निर्दोष रहेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी समेत दिएका दिएका थिए।

दुवै पार्टीले जितिसकेको भए पनि स्थानीयको जनजीवनमा भने खासै देखिनेलायक बदलाव आएको देखिदैन। अब कांग्रेसले आफ्नो पालो भन्दै जित्छ कि एमालेले फेरी पनि त्यसलाई तोडेर जित आफ्नो पोल्टामा पार्छ त्यो भने मंसिर ४ पछि नै थाहा हुनेछ। 

थापालाई पनि आयोगले आचारसंहिताको उल्लंघन हुने गरी प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको थियो। थापाले सूर्यविनायक नगरपालिका वडा नम्बर २, ३, ४ र ६ का चोक, गल्ली र पोलहरूमा दलको झण्डा, फ्लेक्स प्रिन्ट राखेको तथा सामाजिक सञ्जालमा पोष्ट गरेको कार्य आचारसंहिता विपरीत भएको आयोगले जनाएको थियो। 

थापालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट मानिन्छ। कांग्रेस १४ औं महाधिवेसनमा थापा दोस्रो पटक भक्तपुर जिल्ला सभापतिमा विजयी भएका थिए।

’यो पटक जित्ने पालो कांग्रेसको हो र जित्छ पनि’ भन्दै उनी बस्नेतलाई खुलमखुल्ला चुनौती दिंदै हिँडेका छन्। 

कसले र्माला बाजी?
यी दुवै प्रतिष्पर्धीको पार्टी फरक भए पनि केही हदसम्म राजनीतिक पुष्टभुमि र अजेण्डाहरु पनि उस्तै उस्तै देखिन्छ। दुवैले यस क्षेत्रको विकास, मौलिक सम्पदा र संस्कृतिको संरक्षण र सम्बद्र्धन, नयाँ बस्ती र पुरानो बस्तीबीच विभेद्को अन्त्यलगायतका विषयलाई जोड दिँदै आएका छन्। 

दुवै पार्टीले जितिसकेको भए पनि स्थानीयको जनजीवनमा भने खासै देखिनेलायक बदलाव आएको देखिदैन। अब कांग्रेसले आफ्नो पालो भन्दै जित्छ कि एमालेले फेरी पनि त्यसलाई तोडेर जित आफ्नो पोल्टामा पार्छ त्यो भने मंसिर ४ पछि नै थाहा हुनेछ। 

कात्तिक १६, २०७९ बुधबार १५:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।