भक्तपुर–१ मा ३१ वर्षदेखि एउटै पार्टीको पकड; कांग्रेस, एमाले र माओवादीको भन्दा नेमकिपाको मत बढि
काठमाडौं : भक्तपुर क्षेत्र नं १ भन्ने बित्तिकै नेपाल मजदुर किसान पार्टी(नेमकिपा) को पकड भएको क्षेत्र भनेर चिनिँदै आएको छ। त्यसै कारण अन्य विभिन्न राजनीतिक पार्टी दलहरू पनि यहाँ धेरै देखा पर्न चाहदैनन्।
अघिल्लो चुनावको कुरा गर्याे भने पनि यसपटकको चुनावमा प्रेम सुवाल बाहेक अन्य सबै नयाँ अनुहारहरू हुन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावको लागि चार जना स्वतन्त्र उम्मेदवार बाहेक जम्मा १४ जनाले उम्मेदवारी दिएका छन् यहाँबाट।
०७४ सालको निर्वाचनमा सुवालले फराकिलो मतान्तर सहित ३३ हजार ७६ मत प्राप्त गरेर जिते। उनको प्रमुख प्रतिद्वन्द्वीको रूपमा रहेका कांग्रेसका बाबुराजा जोशीले १७ हजार ८ सय १८ र माओवादी केन्द्रका मिलन सुवालले १५ हजार ३ सय ७४ मत प्राप्त गरेका थिए। तर, यसपटकको चुनावमा भने ती दुवै प्रतिस्पर्धी मैदानमा छैनन्।
कांग्रेसले यसपटक यस क्षेत्रमा उम्मेदवारी नदिएसँगै गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सुनिल गोठेको उम्मेदवारी परेको छ। गोठे यस क्षेत्रका लागि नयाँ अनुहार भए पनि गठबन्धनका कारण र अघिल्लो चुनावमा कांग्रेस पाएको मतको आधारमा उनलाई नै सुवालको प्रमुख प्रतिस्पर्धी मान्न थालिएको छ। यद्यपि, माओवादी केन्द्रले स्थानीय तहमा राम्रो मत ल्याउन भने सकेको थिएन।
एमालेको तर्फबाट भने यस पटक यस क्षेत्रमा नवराज गोलालले उम्मेदवारी दिएका छन्। प्रमुख मानिएका दलहरूबाट पनि हरेक चुनावमा नयाँ–नयाँ अनुहार देखिरहेको बेला स्वतन्त्र उम्मेदारहरूको अवस्था पनि कमजोर नै देखिन्छ। अन्य उम्मेदवारहरू जनतामा स्थापित हुन निकै संघर्ष गर्नुपर्ने देखिन्छ। यता नेमकिपाले भने ‘घोषणा पत्र’ सार्वजनिक गर्दै चुनावी तयारीलाई तीव्र पारिरहेको छ।
०४६ सालमा बहुदलीय व्यवस्था पुनःस्थापना भएयता लगातार ६ वटै निर्वाचनमा नेमकिपाले यस क्षेत्रमा जित हात पारेको छ। आम निर्वाचन (२०४८, ०५१, ०५६) र संविधान सभा निर्वाचन (२०६४ ,०७०) मा लगातार जितेका नेमकिपाका केन्द्रीय अध्यक्ष नारायणमान विजुक्छेंले ०७४ को प्रतिनिधि सभा निर्वाचनमा सचिव सुवाललाई उम्मेदवारी दिन लगाए र उनले जिते पनि।
स्थानीयमा पनि नेमकिपा भारी
अघिल्ला विभिन्न चुनावसँगै स्थानीय चुनावमा पनि यस क्षेत्रमा नेमकिपा बलियो देखिएको छ। भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका पर्ने यो क्षेत्रका दुवै नगरमा १९ वटा वडा छन्। जस मध्ये ११ वटा वडामा नेमकिपाको नेतृत्व छ।
भक्तपुर नगरपालिकामा त नेमकिपाले क्लिन स्वीप नै गरेको हो। यहाँका दश वडा र नगर प्रमुखसँगै उप–प्रमुखमा नेमकिपाले फराकिलो मतान्तरले जितेका हुन्।
स्थानीय तहमा नेमकिपाले ३३ हजार ८ सय ९५ मत ल्याएको थियो। एमालेले १४ हजार १ सय १९ मत ल्याउँदा कांग्रेसले भने १३ हजार १३ मत र राप्रपाले ६ हजार २ सय ८६ मत ल्याएको थियो। माओवादी केन्द्रले भने जम्मा १ हजार ३ सय ८८ मत प्राप्त गरेको थियो।
एमाले, कांग्रेस, माओवादी केन्द्र एकै ठाउँमा उभिँदा पनि नेमकिपा जति मत ल्याउन सकेनन्। अघिल्लो चुनावमा कुल ७१ हजार ९ सय १६ मत खसेको यस क्षेत्रमा यस पटक भने एक लाख दुई हजार पाँंच सय २८ जना मतदाता रहेका छन्।
नयाँ उम्मेदवार, निर्वाचित पुरानै !
प्रेम सुवालसँग दुईपटक सांसद बनेको अनुभव छ। समानुपातिकतर्फ संसदमा निर्वाचित भएका उनले अघिल्लो प्रतिनिधि सभामा भने प्रत्यक्ष नै जित हासिल गरेर सांसद भएका थिए।
संसदमा भारतविरुद्ध नाराबाजी गर्न होस् या नागरिकता विधेयकको विरोध गर्न किन नहोस् उनले हरेक बैठकमा आफ्नो स्थान बनाउँदै आएका छन्। संसदमा गुमनाम भएर बसेको देखिएन उनी। बैठकमा पनि नियमित उपस्थित हुन्थे।
शिक्षण र कृषि पेशामा समेत सक्रिय सुवाल २०३८ सालमा नेमकिपाको सदस्यता लिँदै राजनीतिमा सक्रिय भएका हुन्। यसपटक पनि आफ्नै जित हुनेमा उनी ढुक्क छन्।
त्यस्तै एमालेका नवराज गेलाल भने जिल्ला समन्वय समितिका प्रमुख समेत हुन्। उनको लागि प्रतिनिधि सभा निर्वाचन नयाँ अनुभव हो। एमालेले यस क्षेत्रको चाँगुनारायण नगरपालिकाको उप–प्रमुख सहित वडा नं ३ र ४ मा नेतृत्व गरिरहेको छ।
माओवादी केन्द्रको सुनिल गोठे पनि यस क्षेत्रको लागि नयाँ नै हुन्। ०७४ मा पनि माओवादीले यस क्षेत्रमा उम्मेदवारी दिएका थिए। यसपटक पनि दिए। तर, व्यक्ति भने फरक। यसअघि माओवादी केन्द्रका मिलन १५ हजार ३ सय ७३ मत प्राप्त गर्दै तेस्रो भएका थिए।
अब गोठेले त्यो भन्दा रामो मत ल्याउन सक्छन् कि सक्दैनन्। त्यो त आगामी निर्वाचनमा देखिने नै छ। स्थानीय तहमा माओवादी केन्द्रको कुनै पनि ठाउँमा नेतृत्व गरेको छैन।
नेमकिपाको प्रतिस्पर्धी दलका नेताहरू भक्तपुर नगरका मतदाताले नेमकिपाकै डरका कारण नयाँ उम्मेदवार चयन गर्न नसकेको बताउँदै आएका छन्। तल्लो तहदेखि नै नगरभित्र नेमकिपाको बलियो पकड छ। नेमिकपाले अन्य पार्टीसँग समन्वय नगरेको, नगरका सूचनामा सर्वसाधारणलाई पहुँच राख्न नदिएको र एकपक्षीय सन्देश मात्रै प्रवाह गरिरहेको समेत प्रतिस्पर्धीको आरोप छ।
प्रतिस्पर्धीलाई चाँगुनारायण नगरको भर
भक्तपुर नगरमा नेमकिपाको पकड कति बलियो छ भनेर त स्थानीय तहको चुनावले नै देखाइसकेको छ। त्यहि कारण अन्य दलहरु त्यहाँ जान हिच्किचाउँदै आएको कुरा कसैबाट लुकेको छैन। त्यस बाहेक भने प्रतिस्पर्धीहरू सकेसम्म चाँगुनारायण नगरमा भए पनि आफ्नो प्रभाव पार्न लागिरहेका हुन्छन्। त्यहि भएर उनीहरूको अजेण्डाहरू पनि चाँगुनारायण नगरप्रति बढि केन्द्रित रहने गरेका छन्।
भक्तपुर क्षेत्र नं १ उपत्यकाको धेरै पर्यटक भित्रिने ठाउँमध्ये एक हो। यहाँका स्थानीय कृषि र पर्यटन क्षेत्रमा रमाउँदै गर्दा घरेलु तथा साना उद्योग, व्यापार व्यवसाय र हस्तकलाका सामग्रीहरूको उत्पादन र व्यापार पनि बढेको छ। त्यसबाहेक नेवार समुदायको बाहुल्य रहेको यहाँ समुदाय अनुसारले नै मतदान गर्ने चलन पनि रहिआएको छ।
कात्तिक १४, २०७९ सोमबार १९:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।