१४३ वर्ष पुरानो झोलुङ्गे पुल चुँडिदा मृत्यु हुनेको सङ्ख्या १४० नाघ्यो

१४३ वर्ष पुरानो झोलुङ्गे पुल चुँडिदा मृत्यु हुनेको सङ्ख्या १४० नाघ्यो

एजेन्सी: भारतको गुजरात राज्यको मोरबीमा आइतबार एक झोलुङ्गे पुल चुँडिदा थुप्रैको मृत्यु भएको छ। हाल सोमबार बिहानसम्म १४० भन्दा बढीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

घटना आइतबार साँझ साढे ६ बजेको हो।

उक्त झोलुङ्गे पुल १४३ वर्ष पुरानो रहेको पनि खुलेको छ। सन् १८७९ को फेब्रुअरी २० मा उद्घाटन भएको पुल पछिल्लो ६ महिनादेखि बन्द थियो। जिर्णोद्धारपछि ६ दिनअघि दिपावलीको अवसरमा पुल सर्वसाधारणका लागि खुला गरिएको थियो।

तर पुलको क्षमता भने एकपटकमा केवल १०० जनाको थियो। तर गुजराती नयाँवर्ष मनाउने क्रममा आइतबार करिब ५०० जना पुलमा चढे। पुलले थेग्न सकेन र करिब ४०० जना मच्छु नदीमा खसे। त्यसमध्ये १४० भन्दा बढीको ज्यान गयो। जसमा ५० भन्दा ज्यादा महिला र बालबालिका छन्।

यसअघि सन् १९७९ अगस्त ११ मा यही नदीमा बनेको मच्छु बाँध पनि टुटेको थियो। यो घटनामा दुई हजारभन्दा बढीको मृत्यु भएको थियो।

मच्छु नदीको जलस्तर त कम-कम नै छ। यद्यपि यसको भुईँ ढुङ्गै-ढुङ्गाको छ। जसले गर्दा पुलबाट खसेका अधिकांशको मृत्यु भएको हो।

घटनापछि यस सम्बन्धी केही भिडियोहरू अहिले भाइरल भएको छ। जसमध्ये एउटामा पुल चुँडिनुभन्दा केही अघिको दृश्य छ। त्यसमा केही युवाहरू झोलुङ्गे पुल कमजोर भएको भन्दै हल्लाएर मजा लिइरहेको देखिन्छ। यसले पनि पुल चुँडिनुमा भूमिका खेलेको बताइएको छ।

कात्तिक १४, २०७९ सोमबार ०८:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।