दीपक मनाङेलाई स्पष्टीकरण सोध्दै आयोगले माग्यो रक्सी खुवाएको १५ लाखको बिल
काठमाडौं : मनाङमा एकै दिनमा १५ लाखको रक्सी खाइदिन्छन् भन्ने अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले मनाङ ‘ख’ का प्रदेशसभा उम्मेदवार दीपक मनाङे (राजीव गुरुङ) लाई स्पष्टीकरण सोधेको छ।
निर्वाचनका लागि आयोगले तोकेको खर्चको सिमामा असन्तुष्टि जनाउँदै मनाङेले एक टेलिभिजन अन्तर्वार्ता नोमिनेसन गर्न जाँदा १५ लाखको रक्सी खाइदिन्छ भनेका थिए।
आपराधिक पृष्ठभूमि भएका मनाङे गत निर्वाचनमा एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेर प्रदेश सांसद भएका थिए। यस पटक उनी विरुद्ध ठुला दलका कुनै उम्मेदवारले उम्मेदवारी दिएनन्। उम्मेदवारी दिएका एक उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि उनी सर्वसम्मत भएका थिए।
गुरुङले उम्मेदवारी दिएको मनाङ प्रदेश सभा ‘ख’ का लागी आयोगले खर्च सीमा २३ लाख रुपैयाँ तोकेको छ।
मनाङेले आयोगका पदाधिकारीप्रति असन्तुष्टि जनाउँदै अन्तर्वार्तामा निर्वाचनको बेलामा रक्सीमै प्रतिबन्ध लगाउन माग गर्दै भनेका थिए ‘जुन अहिले निर्वाचन आयोगले ३३ लाख, ३० लाख भन्दा बढी खर्च गर्नु हुँदैन भनेको छ……३० लाखमा नेपालमा चुनाव जित्छ यार……मनाङमा एक दिन नोमिनेसन गर्न जाँदा १५ लाखको त रक्सी खाइदिन्छ।’
आयोगले सोही श्रव्य दृश्य सामग्री प्राप्त भएको भन्दै सो अभिव्यक्ति प्रचलित निर्वाचन सम्बन्धी कानुन र निर्वाचन आचारसंहिताको प्रतिकूल देखिएको भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको हो।
आयोगले मनाङेले दिएको अभिव्यक्ति सत्य हो भने मनोनयन पत्र दर्ता गर्दा रक्सी खुवाउँदा लागेको १५ लाख रुपैयाँको सक्कल बिल भौचर, खर्च भुक्तानी गर्दा प्रयोग गरेको बैङ्क तथा खाता नम्बर खुलाएर जवाफ दिन समेत भनेको छ।
कात्तिक १३, २०७९ आइतबार २१:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।