एनजिओलाई नाफामूलक प्राली बनाएर नेप्सेम्याकको फोहोरको ब्यापार, स्थानीय तहको मिलेमतोमा उठाउँछन् करोडौँ अवैध शुल्क

एनजिओलाई नाफामूलक प्राली बनाएर नेप्सेम्याकको फोहोरको ब्यापार, स्थानीय तहको मिलेमतोमा उठाउँछन् करोडौँ अवैध शुल्क

काठमाडौँ : २०५३ वैशाख १ गते नेप्सेम्याक प्रालीको जन्महुँदा गैर सरकारी संस्था थियो। नेपाल प्रदूषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्रको नाममा जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भएको यो संस्था २०७९ सम्म आइपुग्दा भने निजी कम्पनी भइसकेको छ।

काठमाडौँको मुलपानीमा रहेको डम्पिङ साइटमा फोहोर फाल्न समस्या भएसँगै जन्मिएको संस्थाले अहिले फोहोर सङ्कलनकै नाममा वार्षिक करोडौँ आम्दानी गर्छ। यसको आम्दानीको ठुलो हिस्सा स्थानीसँग उठाउने शुल्क नै हो। तर उसले फोहोर सङ्कलन गर्न न कतैबाट अनुमति नै पाएको छ न त शुल्क निर्धारणको कुनै प्रस्ट मापदण्ड।

यसरी फोहोर व्यवस्थापनमा सामाजिक काम गर्ने भनेर खुलेको संस्था अहिले नाफामूलक धन्दामा बदलिदा पनि सरोकारवाला स्थानीय तहले वास्तै गरेका छैनन्। छोटकरीमा नेप्सेम्याक भनिने यस प्रालीका प्रवक्ता लक्ष्मी प्रसाद घिमिरेको दाबी अनुसार उनीहरूले यसबिचमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग चार पटक छलफल गरिसकेका छन्। बालेन उनीहरूको कामप्रति खुसी रहेको उनको दाबी छ।

१८ वर्ष एनजिओको रूपमा काम गरेको नेप्सम्याक २०६२-०६३ को आन्दोलनपछि भने बदलिँदै गयो। यही बिचमा नगरपालिकाले फोहोर सङ्कलनका लागि टेन्डर खोल्ने तयारी गरेपछि २०६६ मा निजी कम्पनी बन्यो नेप्सेम्याक। नाम नेप्सेम्याक सेवा प्राइभेट लिमिटेड भयो।

यी दुवै कम्पनीको उच्चारण अलिकति फरक भए पनि, कामको दायरा अनि दुवैलाई चलाउने व्यक्ति लगभग एउटै छन्। नेप्सेम्याक संस्थामा टेकेर उनीहरूले फोहोर उठाउने निजी कम्पनी चलाए। २०७० बाट यसले फोहोर उठाउने, शुल्क उठाउने काम गरिरहेको छ।

प्रवक्ता घिमिरे संस्था भन्नेवित्तिकै कुनै देशले डोनेसनमा चलाएको भन्ने भ्रम रहेको तर त्यस्तो केही पनि नभएको दाबी गर्छन्। उनले फोहोर सङ्कलनबापत उठाउने शुल्कलाई 'नेपाली जनताको डोनेसन' दाबी गरे। तर कम्पनीकै साइटमा भने डोनेसन लिएकाहरूको सूची नै फेला पर्यो।

कम्पनीको साइटमा उल्लेख भए अनुसार नेप्सेम्याकले वर्ड भिजन इन्टरनेशनल, धरान र इटहरीको नगरपालिका, इटालियन गैर सरकारी संस्था, नेपाल स्थित जापानी दूतावास, काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकासँग चन्दा सहयोग लिएको देखिन्छ।

को-को संलग्न छन् ?

नेप्सेम्याकको अध्यक्ष हुन् टिकाराम ढकाल। उनी ललितपुर बागडोलमा बस्छन्। त्यसपछि मित्रप्रसाद घिमिरे, लक्ष्मीप्रसाद घिमिरे, लक्ष्मीप्रसाद गेलाल, बाबुराम घिमिरे र बाबुराम चौलागाईँ आबद्ध देखिन्छन् यस कम्पनीमा।

कम्पनीको सल्लाहकारहरूमा डा कृष्णबहादुर कार्की, सूर्यमान शाक्य, भूषण तुलाधर, रवीन्द्रप्रसाद राज भण्डारी, चन्द्रकुमार घिमिरे, मेघनाथ धिमाल, रमेश बडाल र एसपी यादव रहेका छन्।

कहाँ-कहाँ पैसा उठाउँछ नेप्सेम्याले ?

प्रवक्ता घिमिरेका अनुसार नेप्सेम्याकले ललितपुरको थसिखेल चोकदेखि एकान्तकुना, धोबिघाट सानेपा हुँदै बल्खुपुल दायाँ-बायाँसम्मको फोहोर उठाउँछन्। झम्सीखेल, पुल्चोकको आधा, जावलाखेल सबै, मानभवनसम्म, रिंगरोड बाहिर पुरै, भैसेपाटी बुंगमती, खोकना पुरै क्षेत्रको फोहोर उठाउँछ र पैसा लिन्छ उसले।

काठमाडौको सितापाइला चोकदेखि सुरु भएर बालाजुको गङ्गा हलसम्म उसैको क्षेत्र हो। रामकोटमा अर्को कम्पनीले नेप्सेम्याकसँग मिलेर फोहोर उठाउने र शुल्क लिने गर्छ।

काठमाडौँको फोहोरबाट नेप्सेम्याकले मात्र उठाउँछ वर्षको २४ करोड अवैध शुल्क

काठमाडौंको फोहोर २९ संस्थालाई मोहोर, सम्झौता छैन तर पैसा लिन्छ महानगर

प्रवक्ता घिमिरेका अनुसार महाराजगन्जदेखि बुढानीलकण्ठ नगरपालिका, बाँसबारी, गङ्गालाल क्षेत्र, पानीपोखरी, बालुवाटार आधा क्षेत्र, विशालनगर, हाडिगाउँ, भाटभटेनी, मण्डिखाटार र धुम्बाराही उनीहरूको क्षेत्र हो।

भक्तपुरको शंखधर साख्वा, नयाँ ठिमी चोकदेखि, सुर्यविनायक नगरपालिका, मध्यपुर ठिमी नगरपालिकाका केही वडाहरू, चाँगुनारायण सबै नेप्से म्याकको हो। धुलिखेल, बनेपा पनि नेप्सेम्याककै क्षेत्र हो। तर त्यहाँ नेप्सेम्याकसँग आबद्ध अर्कै टिमले फोहोर उठाउँछ। घिमिरेका अनुसार नेप्सेम्याकले झन्डै ५० हजार घरको फोहोर उठाएर शुल्क लिने गरेको छ।

फोहोरसँगै फोहोरमा मिसिएर आउने विक्रीजन्य सामाग्री २० प्रतिशत हुन्छन्। दैनिक साढे तिन टन कम्पोस्ट मल उत्पादन गरेर प्रतिकिलो २५ रुपैयाँमा विक्री गर्छ। यो पनि उनीहरूको आम्दानीको अर्को स्रोत हो। नकुहिने फोहोरबाट कम्पनीले मासिक झन्डै १० देखि ११ लाख आम्दानी गर्ने गरेको छ।

घिमिरेले दिएकै आर्थिक विवरणमै गत वर्ष झन्डै १७ करोड रकम सङ्कलन भएको थियो फोहोरबाट। चालु आर्थिक वर्षको कारोबार २१ करोड हाराहारी पुगिसकेको छ। उनले खर्च पनि उत्तिकै हुने गरेको दाबी गर्दै नेप्सेम्याकले जति काम अरू कसैले नगरेको बताए।

के-के छ खर्च ?

घिमिरेले आम्दानी अनुसार खर्च पनि रहेको दाबी गरे। तर कति खर्च हुन्छ वार्षिक भन्ने खुलाएनन्। उनले सोलोडोलो हिसाब मात्र सुनाए।

घिमिरेको दाबी अनुसार नेप्सेम्याकसँग ५० भन्दा बढी आफ्नै फोहोर उठाउने गाडी छ। गाडीको इन्धन, मर्मत, कर्मचारीको तलब, फोहोरमैला ढुवानीमा खर्च हुने गरेको छ आम्दानीबाट। कर्मचारी फुल टाइम र पार्ट टाइम दुवै श्रेणीका छन्।

स्थायी एवम् सामाजिक सुरक्षा कोषमा आबद्ध २ सय ७७ कर्मचारी रहेको उनले बताए। नकुहिने फोहोरको लागि ठाउँ-ठाउँमा जग्गा भाडामा लिएर स्टेसन राखेको र त्यसको भाडा तिर्ने गरेको कम्पनीले जानकारी दिए पनि कति वटा स्टेसन छन् र कति खर्च हुन्छ भन्ने खुलाएन।

फोहोर उठाएबापत पैसा लिनेतर डम्पिङ सरकारी साइटमा

२०७० सालबाट नेप्सेम्याकले फोहोर उठाएर सरकारी डम्पिङ साइटमा पूर्याउने गरेको छ। उसले उठाउने शुल्क भनेको घर-घर गएर फोहोर सङ्कलन गरेबापत मात्र हो। फोहोर सङ्कलन गर्न कर्मचारी परिचालन गर्छ। यसका लागि ५० वटा उसका आफ्नै गाडी छन्।

त्यसलाई अस्थायी ट्रान्सफर सेन्टरमा लगेर विक्री हुनसक्ने सामाग्रीहरू छानेर बाँकी फोहोर बन्चरे डाँडा पुर्याउँछ। महानगरले गाडीको क्षमता अनुसार न्युज शुल्क लिएर फोहोर फाल्न दिन्छ। तर फोहोर सङ्कलन गरे बापत नेप्सेले उठाउने शुल्क एक सय ५० देखि एक हजार बढीसम्म छ। शुल्क तोक्ने आधार उसको आफ्नै स्वविवेक हो। कुनै सरकारी मापदण्ड छैन।

नेप्सेका प्रवक्ता घिमिरे कसैसँग सम्झौता नै नगरी काम गरेको भन्न नमिल्ने अनि केही वडाहरूले लिखित रूपमा अनुमति दिएको दाबी गरे। तर उनले कुन-कुन स्थानीय तहले अनुमति दिएका छन् भन्ने खुलाउन सकेन। उकेराले नमुनाका रूपमा उसले काम गरिरहेको क्षेत्रका केही स्थानीय तहको नेतृत्वसँग अनुमतिबारे जानकारी माग्दा कसैले पनि नेप्सेम्याकले अनुमति लिएको खुलाएनन्।

अधिकांशले नेप्सेसहित अन्य निजी कम्पनीले फोहोर उठाएर स्थानीयसँग पैसा लिए पनि अनुमति भने नलिएको बताए।

स्थानीय तहको लाचारी कि मिलेमतो !

ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन ललितपुर महानगरभित्र फोहोर उठाएर शुल्क लिने जति निजी कम्पनी छन् उनीहरूको महानगरसँग कुनै लिखित सम्झौता नभएको बताए। अनि फोहोर उठाएर लिइने शुल्कको आधार के हो त भन्ने जिज्ञासामा उनले भने' पहिलेदेखि नै ती कम्पनीहरूले फोहोर उठाउने गरेकोले तिनै कम्पनीहरूलाई जिम्मा दिइएको छ। महानगरसँग सबै वडाको फोहोर उठाउने क्षमता नभएकोले निजी कम्पनीलाई नै जिम्मा दिइएको हो।'

त्यही महानगरको वडा नम्बर १३ मा भने अनुमति लिएको खुल्यो। वडाध्यक्ष गणेश केसीले आफ्नो वडामा नेप्सेम्याक र महानगरपालिका दुवै मिलेर फोहोर उठाइरहेको र नेप्सेम्याकले २०४९ सालदेखि नै वडाले दिएको अनुमतिको आधारमा फोहोर उठाइरहेको बताए।

काठमाडौँ वडा नम्बर ७ मा रहेको नेप्सेम्याकको फोहोर संकलन केन्द्र। तस्बिर : नेप्सेम्याक

'कम्पनीले सुरुमा प्रतिघर ५० रुपैयाँ लिन्थ्यो। अहिले २५० लिन्छ। वडामा कति घर सङ्ख्या छ ठ्याक्कै थाहा छैन' उनले भने।

प्रवक्ता घिमिरे महानगरपालिका, नगरपालिकासँग सम्झौता छदै छैन भन्न नमिल्ने तर्क गर्छन्। अधिकांश वडाले काम गर्न भनेर लेखेर दिएको उनको दाबी उकेराको अनुगमनमा मिलेन। उनले केही स्थानीय तहबाट अनुमति लिएका छन् तर अधिकांशसँग सम्झौता भएको छैन।

शुल्कको आधार मनलाग्दी

नेप्सेम्याककै जिम्मेवार अधिकारीले दिएको जानकारीमा फोहोर सङ्कलन गरेबापत मनलाग्दी मापदण्ड अपनाइएको देखिन्छ। कम्पनीले दिएको जानकारी अनुसार एकाघरबाट १ सय ५० तिर्ने पनि छन्,  १ हजारसम्म शुल्क उठाउने पनि गरिन्छ। पाँचदेखि सात परिवार बसेका छन् भने उनीहरूबाट १ हजारसम्म शुल्क लिने गरेको नेप्सेका प्रवक्ताले नै स्विकारे।

शुल्क तोक्ने आधार के हो भन्ने उकेराको प्रश्नमा उनले भने' यो घरको यति नै शुल्क लिने भनेर वैज्ञानिक तरिका हुनुपर्ने हो। कि सरकारले नियम बनाइदिनुपर्यो। हैन भने छिमेकीसँग तुलना गरेर शुल्क लिने हो। छिमेकी घरमा थोरै भाडामा छ भने ४ सय तिर्छ। यतापट्टि ५ परिवार बस्ने घरमा ५ सय ५० तिर्नुपर्ने ए किसिमको आधारमा शुल्क लिन्छौ।'

उनले शुल्क निर्धारण वैज्ञानिक नभई अन्दाजको भरमा, लामो समयदेखिको अनुभवको आधारमा र घरधनीसँगको समन्वयको आधारमा तोकेको दाबी गरे।

कानुनी आधार के ?

शुल्क उठाउन नेप्सेम्याक काठमाडौमा व्यवसाय दर्ता गरेको देखियो। कम्पनी रजिस्टारमा कम्पनी दर्ता गरेर शाखाको स्वीकृत समेत लिएका छन्। तर कुनै उद्देश्य राखेर कम्पनी दर्ता नै सशुल्क व्यवसाय सुरु गर्ने अनुमति हैन नै। त्यसका लागि जुन काम गर्ने हो सो सम्बन्धी अनुमति लिनुपर्ने सरकारी निकायबाट अनुमति लिनुपर्छ नै। तर नेप्सेम्याकका अधिकारीहरूले कम्पनी दर्ता र व्यवसाय दर्ता नै अन्तिम कानुनी अधिकार जस्तै कुतर्क गरिरहे।

उनीहरूले नेप्सेम्याक मात्र हैन, विभिन्न क्षेत्रमा फोहोर सङ्कलन गरेर पैसा उठाउन अन्य प्राली समेत दर्ता गरेर चलाइरहेको देखियो।  परिवर्तन सेवा प्राली समेत आफ्नै कम्पनी रहेको उनीहरूले स्वीकार गरे

'परिवर्तन सेवा प्रालिका सेयर होल्डरले नेप्सेम्याकमा पनि सेयर हालेका छन्। नेप्सेम्याकका सेयर होल्डरले पनि परिवर्तन सेवा प्रालिमा सेयर हालेका छन्। व्यवस्थापन अलिक फरक भए पनि हाम्रो समूह एउटै हो। लगभग हामीले मिलेरै चलाएका हो,' नेप्सेम्याकका प्रवक्ता घिमिरेले भने।

कर कति तिर्छ ?

नेप्सेम्याकले नै दिएको जानकारीमा उनीहरूले 'लाखौँ' कर तिर्छन्। लाखौँ भनेको कति हो ठ्याक्कै भने भन्न सकेनन्। फोहोर सङ्कलन गरेबापत स्थानीयले तिर्ने शुल्कमा १३ प्रतिशत भ्याट जोडेर लिने गरेका छन्। उनले महिनाको त्यस्तै १७ देखि १८ लाख कर सरकारलाई बुझाउने गरेको दाबी गरे।

नगरपालिकालाई घर भाडा कर र व्यवसाय दर्ता कर बुझाउने गरेका र बाँकी राजस्व कार्यालयमा जाने गरेको नेप्सेम्याकका अधिकारी दाबी गर्छन्।

सम्झौता किन नगरेको ?

कानुनी काम हो भने किन सम्बन्धित निकायसँग सम्झौता नगरी अवैध रूपमा रकम सङ्कलन गरेको भन्ने जिज्ञासामा उनीहरूको दाबी अनौठो छ।

'सुरुसुरुमा हामी गाउँबाट आएका मान्छे। फोहोरमा अनुभव नभएका र अनपढ भएकोले हामीलाई अलिअलि गरिखाने केटाहरू हुन् भन्ने दृष्टिकोणले हेरियो,' नेप्सेम्याकका प्रवक्ता घिमिरेले भने' फोहोर उठाउनेलाई कसैले गन्दैनथे। अहिले हाम्रो दायरा बढ्दै गयो। महत्त्व बढ्दै गयो। त्यही अनुसारको व्यवहार बन्दै गयो। अनि यस्तो कुरा आयो।'

नेप्सेम्याकको सल्लाहकार समूह

तत्कालीन स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले ७५ वटै जिल्लाका सहरहरूको फोहोर संयोजन गर्थ्यो। केन्द्रले काठमाडौँ उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागी ग्लोबल टेन्डर आव्हान गरेको थियो।

टेन्डरबाट लगानी बोर्डले ज्वाइन्ट भेन्चरमा नेपवेस्ट कम्पनी छानेको थियो। कम्पनीले काठमाडौँको फोहोर व्यवस्थापनको जिम्मा पाएको १२ वर्ष बित्दा पनि उसले काम सुरु गरेको छैन।

'सरकारले सम्झौता गरेको कम्पनीले काम गरेको छैन। हामी काम गर्ने कम्पनीसँग सम्झौता गरेको छैन,' घिमिरे भन्छन्' सरकारले न त्यो कम्पनीलाई खारेज गरेको छ न अर्को कम्पनी आउन दिएको छ।'

एकाधसँग मात्रै सम्झौता, अन्त मनोमानी

नेप्सेम्याकले नागार्जुन, सुर्यविनायक, चाँगुनारायण, नगरपालिकाले लिखित सम्झौता गरेको तर काठमाडौँ र ललितपुर महानगरपालिकासँग कुनै लिखित सम्झौता नभए पनि ती महानगरभित्र पर्ने वडाहरूले भने अनुमति पत्र दिएको दाबी गरे।

हामीले नेप्सेले अनुमति लिएको दाबी गरेका नगरपालिका र केही वडातहका नेतृत्वसँग समेत यसबारे कुरा गर्दा उनीहरूले अनुमति लिएको दाबी गरेका स्थानमा कुनै स्थानीयतहसँग अनुमति लिएको देखिएन।

ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले महानगरभित्र जति पनि निजी कम्पनीले फोहोर उठाउँछन्, ती कम्पनीसँग कुनै पनि किसिमको लिखित सम्झौता नभएको बताए।

'पहिलेदेखि नै ती कम्पनीहरूले निरन्तर रूपमा फोहोर उठाउने गरेकोले तिनै कम्पनीहरूलाई जिम्मा दिइएको छ,' उनले भने'महानगरसँग सबै वडाको फोहोर उठाउने क्षमता नभएकोले निजी कम्पनीलाई नै जिम्मा दिइएको हो।'

ललितपुर महानगरपालिकासँग सम्झौता नभए पनि वडासँग सम्झौता भएको कम्पनीको दाबी छ। तर ललितपुर महानगरपालिका वडा ३ का वडाध्यक्ष श्री गोपाल महर्जनले फोहोर उठाउने सम्बन्धमा नेप्सेम्याक कम्पनीसँग कुनै  सम्झौता नभएको बताए।

'हाम्रो वडामा २०५६ सालदेखि नै निजी कम्पनीहरूले फोहोर उठाइरहेका छन्। हाल तीन वटा निजी कम्पनीले वडाको फोहोर उठाउँछ। तर यी कम्पनीहरूसँग वडाको कुनै सम्झौता छैन, उनले भने' वडा ३ मा करिब २३ सय घर सङ्ख्या छ। यी घरबाट निजी कम्पनीले कति शुल्क लिन्छन् थाहा छैन।'

वडा न ४ का वडाध्यक्ष सन्तोष खड्काले पनि आफ्नो वडामा पैसा उठाएर फोहोर उठाउन नेप्सेम्याकले अनुमति नलिएको बताए।  कम्पनीले के आधारमा फोहोर उठाउँछ र कति शुल्क लिन्छ त्यो पनि थाहा नभएको उनले बताए।

वडा न ५ का वडाध्यक्ष विकास मान श्रेष्ठले भने नेप्सेम्याकले अनुमति लिएर फोहोर उठाइरहेको बताए। तर लिखित अनुमति हैन। कम्पनीले घर धनीहरूलाई सदस्य बनाएर समन्वयमा फोहोर उठाउने र शुल्क लिने गरेको उनले दाबी गरे।

वडा न १३ का वडाध्यक्ष गणेश केसीले सम्झौताका आधारमा फोहोर उठाइरहेको बताए। 'हप्तामा १ दिन नेप्सेम्याकले उठाउँछ। कम्पनीले सुरुमा प्रतिघर ५० रुपैंया लिन्थ्यो, अहिले २५० लिन्छ,' उनले भने।

वडा १८ का वडाध्यक्ष दामोदर खड्का, २० का वडाध्यक्ष चन्द्रलाल महर्जनले नेप्सेम्याकसँग सम्झौता नभएको र वडासँग कम्पनीले समन्वय पनि नगरेको बताए।

खोकनाको वडा २१ का वडाध्यक्ष वडाध्यक्ष रवीन्द्र महर्जन, २२ का वडाध्यक्ष सागर तुलाधर, वडा २५ का वडाध्यक्ष दौलत कुमार खत्रीले पनि नेप्सेम्याकले आफ्नो क्षेत्रमा फोहोर उठाउने गरेको तर सम्झौता भने नगरेको बताए।

काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष प्रेम थापाले वडामा नेप्सेम्याकसहित अन्य ४ वटा निजी कम्पनीले फोहोर उठाउने गरेको तर कम्पनीसँग वडाको सम्झौता नभएको बताए।

वडा ४ का वडाध्यक्ष  दिनेश महर्जन, १५ का ईश्वरमान डङ्गोलले पनि कुनै कम्पनीसँग पनि सशुल्क फोहोर उठाउनेबारे सहमति नभएको बताए।

उता बुढानीलकण्ठ नगरपालिका वडा ७ का वडाध्यक्ष बस नारायण महर्जन, वडा ९ का सुमित्रा त्रिपाठीले उनीहरूको क्षेत्रमा नेप्सेम्याक प्रालीले सशुल्क पैसा उठाउने गरेको तर सम्झौता भने नभएको बताए।

टोखा नगरपालिका वडा ४ का वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठले पनि सम्झौता नभएको बताए।  

नागार्जुन नगरपालिकाका प्रवक्ता महेश रिमालले नेप्सेम्याक  र दाता विनायक कम्पनीले नगरपालिकाको फोहोर उठाउने गरेको तर यी कम्पनीसँग नगरपालिकाको कुनै पनि सम्झौता नभएको बताए। उनले कम्पनीले वार्षिक २ लाख शुल्क बुझाउने गरेको बताए। तर सो शुल्क के को हो सो भने खुलाएनन्।

मध्यपुर ठिमी नगरपालिकाको ४ नम्बर वडाका वडाध्यक्ष बालकृष्ण श्रेष्ठ, वडा ५ का बालकृष्ण श्रेष्ठले आफ्नो क्षेत्रमा नेप्सेम्याकले श : शुल्क पैसा उठाइरहेको तर वडाबाट अनुमति भने नलिएको बताए।

मध्यपुर ठिमी नगरपालिका प्रवक्ता कृष्ण हरि आचार्य कुनै निजी कम्पनीलाई सशुल्क फोहोर उठाउन नगरपालिकाले अनुमति नदिएको बताए। नगरमा ५ वटा निजी कम्पनीले फोहोर उठाइरहेको र अब यिनै कम्पनीलाई फोहोरको जिम्मा दिने या नयाँलाई दिने भन्नेबारे छलफल भइरहेको उनले बताए। पुरानैलाई दिने भए के आधार र नयाँको छनौट गर्ने भए के आधार भने उनले खुलाएनन्।

धुलिखेल नगरपालिकामा सम्झौता भएको खुलेन। बनेपा नगरपालिकाका वडा १३ का वडाध्यक्ष रामलाल दुवाल, वडा १४ का वडाध्यक्ष टुल्कु लामाले नेप्सेम्याकले अनुमति नै नलिई आफैँ शुल्क तोकेर पैसा उठाइरहेको बताए।

दुई नगरपालिकासँग छ सम्झौता

सुर्यविनायक नगरपालिकाका सूचना अधिकारी अनिरुद्ध नेपालले नगरमा नेप्सेम्याक र फूलबारी कम्पनीले फोहोर उठाउने गरेको र गोरखापत्रमा टेन्डरको लागि निकालेको सूचनाका आधारमा दुई वटा कम्पनी छानेको बताए। उनले साढे दुई तलासम्मको घरमा २ सय ५० शुल्क तोकको र त्यो भन्दा बढी तला भएको घरमा फोहोर उत्पादनको आधारमा म्पनीले शुल्क लिने र कम्पनीले वार्षिक २ लाख कर तिर्ने गरेको जानकारी दिए।

चाँगुनारायण नगरपालिका सञ्जीव न्यौपानेका अनुसार सो नगरपालिकासँग पनि नेप्सेको सम्झौता रहेको खुल्यो।  प्रतिघर ३ सय शुल्क लिने गरी सम्झौता भएको उनले जानकारी दिए।

कात्तिक १३, २०७९ आइतबार १७:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।