तयार भयो थ्रीडी प्रविधिले बनाएको दिवंगत कलाकार पुनित राजकुमारको सालिक
एजेन्सी: दिवंगत दक्षिण भारतीय कलाकार पुनित राजकुमारको सालिक तयार भएको छ। थ्रीडी प्रविधिमा बनाइएको यस सालिक २१ फिट अग्लो छ।
कलाकारितासँगै मानवीय कार्यमा समेत संलग्न पुनितको गत साल अक्टुबर २९ मा निधन भएको थियो। उनको पहिलो वार्षिकीको अवसरमा अक्टुबर २८ मा उनी अभिनित 'गान्धादा गुडी' चलचित्र कर्नाटकमा रिलिज गरिएको थियो। सरकारले समेत यो चलचित्रलाई कर छुट दिएको थियो।
अब उनको स्मृतिमा २१ फिट अग्लो फाइबर ग्लास सालिक पनि अनावरण गरिने भएको छ। कतुरी वैंकटेश्वर राव, रविचन्द्र र श्रीहर्ष नामका तीन जना कालिगढले यो सालिक बनाएका हुन्। चार महिनाको समय लगाएर थ्रीडी प्रविधिमा सालिक तयार पारिएको हो।
सालिक अनावरण नोभेम्बर १ मा गरिनेछ। त्यस अवसरमा कर्नाटक सरकारले पुनितलाई 'कर्नाटक रत्न' सम्मान प्रदान गर्नेछ।
कार्यक्रममा सुपरस्टार रजनीकान्त र जुनियर एनटीआर समेत सहभागी हुने बताइएको छ।
कात्तिक १३, २०७९ आइतबार १०:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।