दक्षिण कोरियाको राजधानीमा भागदौड मच्चिँदा कम्तीमा १५१ को मृत्यु, ८२ बढी घाइते

दक्षिण कोरियाको राजधानीमा भागदौड मच्चिँदा कम्तीमा १५१ को मृत्यु, ८२ बढी घाइते

एजेन्सी: दक्षिण कोरियाको राजधानी सिओलमा भागदौड मच्चिँदा कम्तीमा १५१ मानिसको मृत्यु भएको छ। सिओलको इटाइवोनमा ह्यालोविन मनाउन शनिबार राति जम्मा भएको भीडमा भागदौड मच्चिएको थियो।

ह्यालोविन मनाउन गएकाहरू इटाइवोनको साँघुरो गल्लीमा जम्मा भएका थिए। सोही क्रममा भागदौड मच्चिएको थियो। घटनामा ८२ जनाभन्दा बढी घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

मृत्यु हुनेमा अधिकांश युवायुवती रहेको स्थानीय सञ्चारमाध्यम कोरिया हेराल्डले उल्लेख गरेको छ। कोरिया हेराल्डका अनुसार मृत्यु हुनेमा ९७ महिला र ५४ पुरुष रहेका छन् भने १९ जना विदेशी नागरिक समेत छन्।

मृतकको संख्या अझै बढ्न सक्ने कोरियाली अधिकारीहरूले बताएका छन्। सो घटनाको मुख्य कारण भने हालसम्म पत्ता लागेको छैन।

घटनाबारे अनुसन्धान अघि बढाइएको छ भने घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको बताइएको छ। यद्यपि, सो घटना आगलागीका कारण भएको हुनसक्ने अनुमान गरिएको छ।

ह्यालोविनको पहिलो शनिबार मनाउन करिब एक लाख मानिस जम्मा भएको अधिकारीहरूले जनाएका छन्। कोभिड- १९ पछिको सो पहिलो ठूलो भीड भएको बताइएको छ।

कात्तिक १३, २०७९ आइतबार ०८:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।