‘साना विवादमा पनि साथीकाे हत्या गर्छन् अमेरिकी किशाेरकिशाेरी’

‘साना विवादमा पनि साथीकाे हत्या गर्छन् अमेरिकी किशाेरकिशाेरी’
Photo- GETTY IMAGES

एजेन्सी : अमेरिकामा विद्यालयमा हुने गरेका हिंसाका घटना बढेका छन्।

अष्ट्रेलियाको एक संस्थाले गरेको अनुसन्धानबाट यस वर्ष विद्यालयमा हुने हिंसाका घटना बाढेको तथ्य पाइएको हो।

अनुसन्धानका अनुसार अमेरिकामा पहिलेका वर्षहरूका तुलनामा यस वर्ष दुई महिना बाँकी छँदै विद्यालयमा बन्दुक आक्रमणका घटना बढी देखिएको हो।

सन् २०२१ अमेरिकी इतिहासमै सबैभन्दा धेरै यस्ता हिंसाका घटना भएको वर्ष भनिएकामा सन् २०२२ का दुई महिना बाँकी छँदै दुई सय ५७ वटा घटना यसवर्ष मात्र भएको पाइएको हो।

सन् २०२१ मा यहाँका विद्यालय तथा विश्वविद्यालयमा यस्ता घटना दुई सय ५० वटा भएका थिए। ती घटनाका तुलनामा अहिले बढेको अष्ट्रेलियाली मिडिया नेटवर्क संस्था द कन्भरसेसन्सले जानकारी दिएको हो।

सो संस्थाले तीन जना अमेरिकी अपराध न्यायसम्बन्धी विज्ञसँग पनि अमेरिकामा विद्यालय, विश्वविद्यालयमा यहाँका किशोरकिशोरीहरूले गर्ने गरेका बन्दुक हमलाका विषयमा कुराकानी गरेर एक विश्लेषण पनि अनुसन्धानका क्रममा तयार पारेको जनाएको छ।

अमेरिकी किशोरकिशोरीहरूले विद्यालयमा हुने गरेका सानातिना विवादहरूमा पनि बन्दुक हमला गरेर आफ्ना साथीहरूको हत्या गर्ने गरेका छन्। अमेरिकामा सन् २०१८ देखि २०२२ सम्ममा भएका यस्ता हिंसाका घटनाबाट कम्तीमा पनि ५२ जनाको ज्यान गएको छ।

कात्तिक ११, २०७९ शुक्रबार १२:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।