रुपन्देही–२ मा सत्ता गठबन्धनको समर्थन जनमुक्ति पार्टीका केशव थापालाई, पौडेललाई ‘वाकओभर’

रुपन्देही–२ मा सत्ता गठबन्धनको समर्थन जनमुक्ति पार्टीका केशव थापालाई, पौडेललाई ‘वाकओभर’

बुटवल : अन्ततः सत्ता गठबन्धन रुपन्देही क्षेत्र नंं २ मा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेवारलाई समर्थन गर्ने भएको छ।

गठबन्धनमा आबद्ध चार दलका शीर्ष नेताहरूले बुधबार वक्तव्य निकालेर थापालाई समर्थन गर्ने घोषणा गरेसंगै अब रुपन्देही क्षेत्र नं. २ मा एमाले उपाध्यक्ष विष्णु पौडेलको प्रतिस्पर्धीका रूपमा जनमुक्तिका केशव बहादुर थापा हुनेछन्।

सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेसँगै गठबन्धनले विकल्पको रुपमा थापालाई समर्थन गर्ने निर्णय गरेको हो।

एमालेको ‘किल्ला’ मानिएको रुपन्देही क्षेत्र नं. २ मा जनमुक्ति पार्टी नगन्य जस्तै छ। प्रदेशका अन्य जिल्लाहरूमा समेत सघाउने गरी जनमुक्तिका थापालाई समर्थन गरे पनि यहाँबाट पौडेललाई हराउन चुनौती छ।

‘कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेकाले’ गुरुङ उम्मेदवार बन्न अयोग्य भएपछि पौडेलसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका थापा त्यति परिचित नाम भने होइनन्।

देशभर पार्टी सञ्जाल भएको बताइए पनि जनमुक्ति पार्टीको प्रभाव नगन्य नै छ। रुपन्देहीको तिलोत्तमामा अन्य १५ पालिकामा भन्दा केही राम्रो छ। तर, तिलोत्तमाको जम्मा १–५ वटा वडा मात्र यो निर्वाचन क्षेत्रमा पर्दछन्।

यो क्षेत्रमा १८ जनाले प्रतिनिधि सभामा उम्मेदवारी दिएकामा गुरुङसहित तीन जनाको खारेजी भएको थियो। त्यसपछि आयोगले १५ जनाको अन्तिम नामावली प्रकाशन गरेको थियो। यी १५ मध्ये गठबन्धनले जनमुक्तिलाई समर्थन गरेको हो।

राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव टोप अस्लामीले गठबन्धनले आफ्नो उम्मेदवार थापालाई सहयोग गरेको पुष्टि गर्दै गठबन्धनलाई कहाँ सहयोग गर्ने बारे अहिले पनि छलफल भइरहेको बताए।

तेस्रो ठूलो शक्ति हो जनमुक्ति पार्टी
बुटवल उपमहानगरको १ देखि १३, सैनामैनाको १ देखि ४ र तिलोत्तमाको १ देखि ६ नम्बर गरी २३ वटा वडा पर्ने रुपन्देही क्षेत्र नं. २ मा कुल एक लाख २८ हजार ६७७ मतदाता छन्।

स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा रूपन्देही क्षेत्र नं. २ मा कांग्रेसको ३४ हजार ९५९, एमालेको ३३ हजार १८७, राप्रपा तीन हजार ९२०, माओवादी तीन हजार १८८, एकीकृत समाजवादी एक हजार ३८२, जसपा १८३ मत छ।

गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी भएका कारण गठबन्धनपछिको तेस्रोमा यहाँ जनमुक्ति पार्टी छ। दोस्रोमा एमाले छ।

२०७४ सालको निर्वाचनमा पनि जनमुक्ति पार्टी तेस्रो स्थानमा आएको थियो। जनमुक्ति पार्टीका रूपबहादुर पुनले तीन हजार ५६८ मत पाएका थिए। 

गत वैशाखमा भएको निर्वाचनमा खासगरी बुटवलमा जनमुक्तिले कांग्रेसका खेलराज पाण्डेयलाई सहयोग गरेका कारणले पनि गठबन्धनले थापालाई समर्थन गर्ने बलियो आधार देखिएको छ।

पौडेललाई ‘वाक ओभर’
अब रुपन्देही क्षेत्र नं. २ मा पौडेललाई संघीय संसद् छिर्ने बाटो सहज बन्दै गइरहेको छ। गठबन्धनले जनमुक्ति पार्टीलाई समर्थन गरे पनि पौडेल निर्विकल्पको रूपमा प्रस्तुत भएका छन्। यहाँका कतिपय उद्योगी व्यवसायीले पौडेलको विकल्प अरु हुन नसक्ने समेत बताइसकेका छन्।

गठबन्धनका कतिपय नेताहरु भने अब रुपन्देहीको २ नं. क्षेत्रबाट पौडेलको विकल्प स्वीकार गर्दै बालकृष्ण खाँणको निर्वाचन क्षेत्र नं. ३ मा केन्द्रीत हुने बताएका छन्।

विशेषतः यसमा नेपाली कांग्रेसले भित्रभित्रै रणनिती बनाएको छ। खाँणकै क्षेत्रमा जनमुक्ति पार्टीले पनि समर्थन गर्ने भएकाले अब एमालेको समर्थनमा राप्रपाबाट उम्मेदवार बनेका दिपक बोहोरालाई रोक्न सक्ने भन्दै गठबन्धन यतिबेला लागेको छ।

यो क्षेत्रबाट २०६४, २०७० र २०७४ को चुनावमा लगातार जितेर ह्याट्रिक गरेका पौडेलले दुई पटक अर्थमन्त्री, जलस्रोत, रक्षासहित उपप्रधानमन्त्रीको जिम्मेवारी पूरा गरिसकेका छन्।

कात्तिक ९, २०७९ बुधबार १८:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।