गुटले ग्रस्त स्याङ्जाको निर्वाचन: दम्भ बढेको भन्दै अर्याललाई आफ्नै कार्यकर्ताबाट धोका हुने संकेत, गुरुङको काँधमा जिम्मेवारीको भारी
स्याङ्जा: दुई प्रतिनिधि सभा र चार प्रदेश सभा क्षेत्र रहेको स्याङ्जामा यसपटकको निर्वाचनमा १३ राजनीतिक दलसहित स्वतन्त्र गरी ५२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। निर्वाचनमा सत्ता गठबन्धन दल र नेकपा एमालेका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।
०७४ को निर्वाचनमा स्याङ्जाबाट प्रतिनिधि सभामा एमालेका तर्फबाट पद्मा अर्याल र नारायण मरासिनी विजयी भएका थिए। प्रदेश सभाको चार सिटमध्ये एउटामा कांग्रेसका भगवतप्रकाश मल्ल, माओवादीबाट दीपक चर्तिमगर, एमालेबाट मीनप्रसाद गुरुङ र मोहन रेग्मी विजयी भएका थिए।
एमालेबाट प्रनिनिधि सभामा निर्वाचित भएका अर्याल र मरासिनी यस पटकको निर्वाचनमा पुनः दोहोरिन खोजेका छन्।
नेपाली कांग्रेसले विगत तीन दशकदेखि उम्मेदवार बन्दै आएका पार्टीका पूर्व उपसभापति गोपालमान श्रेष्ठलाई रोकाएर पार्टीका वर्तमान उपसभापति धनराज गुरुङलाई उम्मेदवार बनाएको छ।
विगतमा आलोपालो अब को?
स्याङ्जा- १ मा एमालेका नारायणप्रसाद मरासिनी र कांग्रेसका राजु थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। यसअघि भएको प्रतिस्पर्धामा मरासिनीसँग कांग्रेसका थापा पराजित भएका थिए। सत्ता गठबन्धनको तर्फबाट थापा र एमालेबाट मरासिनी दुवै युवा उम्मेदवार हुन्। उनीहरूबीच यो लगातार तेस्रो प्रतिस्पर्धा हो।
पहिलो पटक २०७० सालमा कांग्रेसका थापाले एमालेका मरासिनीलाई पराजित गर्दै प्रतिनिधि सभा छिरेका थिए। २०७४ को निर्वाचनमा भने एमालेका मरासिनीले कांग्रेसका थापालाई पराजित गरेका थिए।
फरक फरक पार्टीबाट सँगसँगै निर्वाचन लडेर एक/एक पटक जितहारको अनुभव सँगालेका दुवै नेता अहिले तेस्रो पटक पुनः चुनावी मैदानमा उत्रिएका छन्।
मरासिनीले स्याङ्जा सदरमुकाम लगायतका क्षेत्रमा केन्द्रित भएर लामो समयदेखि निजी स्कुल संचालनसँगै राजनीतिमा सक्रिय रहँदै आएका छन्। उनी विद्यार्थी राजनीतिबाटै अगाडि बढेका हुन्। उनले पार्टीको जिल्ला कमिटी हुँदै प्रदेश सदस्यको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन्।
मरासिनी अघिल्लो प्रतिनिधि सभाको निर्वाचनमा वाम गठबन्धनबाट साझा उम्मेदवार बनेका थिए। तर, अहिले एमालेको विभाजन भएपछि उनी बिनागठबन्धन एकल पार्टीको उम्मेदवार बनेकाले सत्ता गठबन्धनबाट निकै चुनौती देखिएको छ।
गोपालमानको एकछत्र राजमा थापाको कब्जा
त्यसैगरी कांग्रेसका जिल्ला सभापति समेत रहेका थापा ठेक्कापट्टा र व्यावसायिक पृष्ठभूमिबाट राजनीतिमा आएका हुन्। स्याङ्जाबाट केन्द्रीय राजनीतिमा आफ्नो दबदबा कायम गरेका पूर्व उपसभापति गोपालमान श्रेष्ठको कब्जामा रहेको कांग्रेसको राजनीतिमा प्रभाव बढाएसँगै जिल्लामा उनको बोलवाला बढ्दो छ।
एकताका गोपालमानले एकछत्र हैकम चलाएका स्याङजामा पछिल्लो समय थापाले पूरै कब्जा जमाएका छन्। अहिले जिल्लामा थापा बाहेका नेताहरूको केही चल्ने अवस्था छैन। अरू नेता थापाका अगाडि निरीह जस्ता देखिने गरेका छन्।
स्याङ्जामा गत अधिवेशनमा थापाले गोपालमान पक्षलाई पत्तासाफ गरेर पूरै नेतृत्त्वमा कब्जा जमाएको छ। जिल्लादेखि पालिकाका वडासम्मै उनकै प्यानल विजयी भएका थिए। थापा कांग्रेसको जिल्ला सभापति समेत हुन्।
कांग्रेसमा पनि अहिले निर्वाचनको बेला थापा पक्ष नै हावी भएकाले पार्टीभित्र गोपालमान पक्ष असन्तुष्ट बनिरहेको अवस्था छ। पछिल्लो समय थापाले जिल्लाको पूरै नेतृत्त्वमा कब्जा जमाएपछि २०४६ देखि निरन्तर प्रत्यक्षमा चुनाव लड्दै आएका गोपालमान यस पटक भने समानुपातिकमा लागेका छन्।
प्रत्यक्षमा चुनाव लडेको अवस्थामा थापा गुटबाट हराउने भयले उनी समानुपातिकमा बस्न बाध्य भएका छन्।
खुलेर थापा पक्षको विरोध गर्न नसके पनि कांग्रेसका नेता कार्यकर्तामा व्यापक असन्तुष्टि देखिन्छ। गुट उपगुटका बीच निर्वाचनको मिति नजिकिएपछि करले चुनावको प्रचारप्रसारमा जुटिरहेका छन्।
निर्वाचनका लागि महिना दिन पनि बाँकी नरहेकाले पार्टीहरूले भेटघाट, घरदैलो कार्यक्रमलाई तीव्र पारेका छन्। उनीहरू बिहान सात बजेदेखि साँझ आठ बजेसम्म घरदैलो र भाषणबाजीमै दिन बिताइरहेका छन्।
उम्मेदवार थापा आफू यसअघिको प्रतिनिधि सभाको निर्वाचनमा पराजय भएपछि पार्टीको संगठनसँगै जनताका सुख दुःखमा सहकार्य गर्दै आएकाले पार्टीको अवस्था मजबुत भएको दावी गर्दै आएका छन्।
दुवै उम्मेदवार आफूहरूले पूर्वाधार, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा लगायतमा आफूहरूले महत्त्वपूर्ण योगदान गरेकाले जनताले मत दिनेमा आशावादी रहेको बताएका छन्।
प्रदेशतर्फ
त्यसैगरी स्याङ्जा क्षेत्र नं १ को ‘क’ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रले नयाँ अनुहार अमृता थापामगरलाई उम्मेदवार बनाएको छ। स्याङ्जाका दुई प्रतिनिधि सभा र चार प्रदेश सभामध्ये माओवादीको भागमा परेको एक सिटमा थापालाई उम्मेदवार बनाइएको हो।
यसअघिको निर्वाचनमा त्यस क्षेत्रबाट माओवादीका दीपक चर्तिमगरले चुनाव जितेका थिए। त्यसैगरी एमालेले सोही क्षेत्रमा सीताकुमारी सुन्दासलाई उम्मेदवार बनाएको छ। यसअघि उनी जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुखको जिम्मेवारी निर्वाह गरिसकेकी छन्।
यस्तै स्याङ्जा क्षेत्र नं १ ‘ख’मा गठबन्धनका तर्फबाट कांग्रेसका बुद्धिबहादुर (कुमार) राना उम्मेदवार बनेका छन्। उनी कांग्रेसका पूर्व जिल्ला सभापति समेत हुन्। उनले तात्कालीन जिल्ला सभापति कमल पंगेनीको मृत्य भएपछि कार्यवाहक सभापतिको जिम्मेवारी पाएका थिए।
त्यसैगरी रानासँग सोही क्षेत्रका लागि एमालले सुधीरकुमार पौडेललाई उम्मेदवार बनाएको छ। विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका पौडेलले यसअघि आँधिखोला गाउँपालिकाको प्रमुख भएर काम गरिसकेका छन्।
उनी यसअघिका निर्वाचित जनप्रतिनिधिमध्ये गण्डकी प्रदेशमै उदाहरणीय काम गर्ने पालिका अध्यक्षका रूपमा परिचित छन्। २०७४ को स्थानीय तहको निर्वाचनमा पौडेलले आँधिखोला गाउँपालिकामा कांग्रेसका उम्मेदवारलाई फराकिलो अन्तरले हराएका थिए।
२०७९ को स्थानीय निर्वाचनमा पनि आँधिखोला गाउँपालिकामा एमालेका विश्व पौडेल धेरै मतान्तरले विजयी भएकाले पनि प्रदेश सभा निर्वाचनमा पौडेलको सम्भावना अधिक देखिन्छ।
त्यस्तै यो क्षेत्रबाट राप्रपाका ख्यामबहादुर गुरुङ, मौलिक जरोकिलोबाट हरि नेपाल, हाम्रो नेपाली पार्टीबाट सोमबहादुर नेपाली, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका ईश्वरीप्रसाद पौडेल, मंगोल नेशनल अर्गनाइजेसनका निर्मल आले, राष्ट्रिय जनमुक्ति पार्टीका ओमबहादुर थापा, कांग्रेस बीपीका प्रदीपकुमार पौडेल क्षेत्री, जनता समाजवादी पार्टी नेपालका तिलकुमारी नेपाली, राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मी र स्वतन्त्र उम्मेदवार लोकबहादुर दमैले उम्मेदवारी दिएका छन्।
क्षेत्र नम्बर दुई हेभिवेट
स्याङ्जाको क्षेत्र नं २ मा हेभिवेट उम्मेदवार छन्। त्यसैले यो क्षेत्र निकै चासोसाथ हेरिएको छ। केन्द्रीय राजनीतिमा महत्त्वपूर्ण जिम्मेवारीमा रहेका धनराज गुरुङ र पद्मा अर्यालबीच प्रतिस्पर्धा हुने भएकाले सबैको चासो खिचेको छ।
गुरुङ कांग्रेसको केन्द्रीय उपसभापति हुन्। अध्ययनशील नेताको रूपमा परिचित उनी पहिलो पटक प्रत्यक्ष चुनाव लड्दै छन्। अर्याल दोस्रो पटक चुनावी मैदानमा छिन्।
नेपाल विद्यार्थी संघको अध्यक्ष र नेपाल तरुण दलको महामन्त्री भएर काम गरेका गुरुङ कांग्रेसको संगठनमा लोकप्रिय नेता मानिन्छन्। तर, संसदीय राजनीतिमा उनी नयाँ हुन्। ०६४ मा उनी समानुपातिक तर्फबाट सांसद भएका थिए।
त्यसैगरी उनको प्रतिस्पर्धामा एमालेले पद्मा अर्याललाई उम्मेदवार बनाएको छ। अर्याल एमालेको केन्द्रीय सचिव हुन्। अर्यालले पनि एमालेको विद्यार्थी भ्रातृ संगठन अनेरास्ववियूबाट राजनीतिमा लागेकी थिइन्।
उनले एमाले स्याङ्जाको जिल्ला अध्यक्ष समेत बनेर पार्टी संगठनको कार्य गरिसकेकी छिन्। अर्याल पहिलो पटक ०६४ मा समानुपातिकबाट सांसद भएकी थिइन्। उनी दुई पटक मन्त्री समेत भइसकेकी छन्।
उनी २०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएकी थिइन्। कांग्रेस नेता गोपालमानको राजनीतिक दबदबा रहेको स्याङ्जामा स्वयं गोपालमानलाई नै हराएर प्रतिनिधि सभा निर्वाचनमा विजयी भएपछि एकाएक नेतृ पद्मा अर्यालको चर्चा चुलिएको थियो।
अर्याल निर्वाचित भएलगत्तै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई कृषि तथा सहकारीमन्त्री समेत बनाएका थिए। यसपटक श्रेष्ठले प्रत्यक्षमा उपसभापति गुरुङलाई छोडेर आफू समानुपातिकमा बसेका छन्।
एमालेमा फुटपछि गुटको राजनीति
केन्द्रीय राजनीतिमा प्रभाव बढेसँगै अर्यालले जिल्लाका नेताहरूप्रति गुटगत व्यवहार गर्न थालेकी छिन्। उनी एमालेको गत अधिवेशनमा पनि जिल्लाका सिनियर नेता मरासिनीविरुद्ध लागेकी थिइन्। साविक एमालेमा रहेर लामो समयदेखि सँगै काम गर्दै आएका मरासिनीलाई पन्छाउँदै उनले पूर्वमाओवादी सूर्य गैरे (पारस) लाई समर्थन गरेर जिल्ला अध्यक्ष बनाएसँगै स्याङ्जा एमालेमा गुटगत राजनीति हावी भएको थियो।
उनले विगतमा जिल्लातहका नेता कार्यकर्तालाई आफ्नो गुटमा तान्ने प्रयास गरेकी थिइन्।
नेतृ अर्यालले काखी च्यापेर जिल्ला नेतृत्त्वमा पुर्याइएका गैरेले पार्टीभित्रको अन्तरद्वन्द्वका कारण स्थानीय निकायको निर्वाचनमा २०७४ मा एमालले चुनाव जितेको गल्याङ नगरपालिकाको मेयरमा ठूलो मतान्तरले पराजित भएका थिए।
अर्याल र पारससँग नारायण मरासिनी लगायतका नेताहरू असन्तुष्ट छन्। यता युवापुस्तामाझ लोकप्रिय नेताको छवि बनाएका सुधीरकुमार पौडेललाई नेतृ अर्यालले जिल्ला अध्यक्ष बन्नबाट रोकेका कारण अहिले उनीप्रति युवाहरू पनि असन्तुष्ट छन्।
बाहिर आन्तरिक संघर्ष मत्थर देखिए पनि भित्र भने अर्याल र जिल्लाका नेता कार्यकर्ताबीच आन्तरिक द्वन्द्व बढ्दो छ।अर्यालमा बढेको दम्भलाई साइजमा ल्याउन भन्दै नेता कार्यकर्ता उनीविरुद्ध लागिरहेका छन्। एक त पार्टी विभाजन त्यसमाथि अर्यालको गुटगत राजनीतिले स्याङ्जा एमाले आन्तरिकरूपमा कमजोर बनिरहेको छ।
विगतका निर्वाचनहरूमा कांग्रेसका उम्मेदवारलाई झिनो मतले पराजित गरेको एमालेभित्र आन्तरिक शक्ति संघर्ष बढेसँगै विगतको विरासत गुम्ने चिन्ता कार्यकर्तामा छ। एमाले पङ्क्ति विगतमा जितेको स्थान सुरक्षित गर्ने योजनासहित अगाडि बढे पनि धनराज र पद्माबीच कडा प्रतिस्पर्धा हुने निश्चित छ।
प्रतिष्ठा जोगाउन चुनौति
कांग्रेसका उपसभापति धनराज गुरुङ, पूर्वउपसभापति गोपालमान श्रेष्ठ र एमालेकी केन्द्रीय सचिव पद्माकुमारी अर्यालको गृह जिल्ला भएकोले पनि चुनावी माहोल बढी नै तातेको छ स्याङ्जामा।
कांग्रेस उम्मेदवार गुरुङ एमाले पार्टी विभाजन, गुटगत राजनीति र माओवादीसँगको गठबन्धनको आडमा चुनावी परिणाम आफ्नो पक्षमा पार्ने दाउमा छन्। तर, अर्याल पनि विगतको विरासत कायम गर्ने योजनामा दृढ देखिन्छिन्।
विगतमा गोपालमानको प्रभावका कारण स्याङ्जाका अधिकांश क्षेत्रमा कांग्रेसले एकछत्र निर्वाचन जित्दै आएको थियो। तर, उनी केन्द्रीय राजनीतिमा पुगेपछि जनपेक्षाअनुसारको काम गर्न नसकेसँगै उनका ओराला दिन सुरु भएका थिए। यसको भरपूर फाइदा एमालेले उठायो।
गोपालमानको राजनीतिक दबदबाकै बीच उनैलाई हराएर संघीय निर्वाचनमा विजयी भएपछि अर्याल मन्त्री समेत बन्न पुगिन्। ओली सरकारमा अर्याल पहिलो कार्यकाल भूमिसुधारमन्त्री र दास्रो पटक कृषि तथा सहकारीमन्त्री बनिन्। अर्यालले एमालेको महाधिवेशनबाट केन्द्रीय सचिवको जिम्मेवारी समेत हात पारिन्।
स्याङ्जामा पछिल्लो समय उनको नेतृत्त्वमा एमालेको प्रभाव बढ्दै गएकाले पनि पार्टीले उनलाई एकपछि अर्को महत्त्वपूर्ण जिम्मेवारी सुम्पिँदै आएको छ। पार्टीले सुम्पिएको जिम्मेवारी पूरा गर्दै जिल्लास्तरमा पार्टीको प्रतिष्ठा जोगाउने समेत चुनौती अहिले उनीसामु छ।
त्यस्तै कांग्रेसको केन्द्रीय उपसभापति गुरुङ विगतमा पनि केन्द्रीय राजनीतिमा महत्त्वपूर्ण जिम्मेवारीमा रहे पनि कांग्रेसभित्रको गुटगत राजनीतिका कारण उम्मेदवार बन्न वञ्चित रहँदै आएका थिए।
यसपटक भने स्याङ्जाको निर्वाचन उनको प्रतिष्ठासँग जोडिएको छ। पछिल्लो समय जिल्लामा पार्टीको गिर्दो साखलाई बचाउने जिम्मेवारी समेत नेता गुरुङको काँधमा आइपरेको छ।
कांग्रेसले एकछत्र चुनाव जित्दै आएको स्याङ्जामा ०७४ को स्थानीय तह, प्रदेश सभा र संघीय निर्वाचनमा समेत कांग्रेसले नराम्रो पराजय भोगेको थियो। अब विगतको विरासत फर्काउने चुनौती गुरुङकै काँधमा थपिएको छ।
त्यसैले गुरुङ अहिले चुनावी प्रचार प्रसारमा मात्र केन्द्रित छैनन्। उनले चुनाव प्रचारका क्रममा जिल्लाका विभिन्न ठाउँहरूमा पुगेर भावी विकासका मोडल र योजना समेत बुन्न थालेका छन्।
पाँच दशक पहिले निर्माण भएको सिद्धार्थ राजमार्ग पुरानो र साँघुरो भएकाले आगामी पाँच वर्षभित्र डबल लेनको बनाउने बताइरहेका छन्। त्यसैगरी स्याङ्जाको वालिङ र चापाकोटलाई नमूना शहर बनाउने योजना समेत बताइरहेका छन्।
प्रदेशतर्फ
स्याङजा क्षेत्र नं २ को प्रदेश सभा ‘क’मा कांग्रेसले भोजराज अर्याललाई उम्मेदवार बनाएको छ। उनी कांग्रेसको पुराना नेता हुन्। २०५४ सालमा वालिङ नगरपालिकाको मेयर भएर काम गरेका अर्याल त्यस क्षेत्रको लोकप्रिय उम्मेदवारका रूपमा परिचित छन्।
अर्याल व्यवसायदेखि राजनीतिमा समेत सक्रिय छ। उनी जनस्तरमा भिजेका नेता पनि हुन्।
त्यस्तै एमालेले यही क्षेत्रमा मोहन रेग्मीलाई उम्मेदवार बनाएको छ। रेग्मी यसअघि पनि यही क्षेत्रबाट प्रदेश सभामा निर्वाचित भएका थिए।रेग्मी विगतमा स्याङ्जा एमालेको जिल्ला अध्यक्षमा पराजित भएका थिए। उनी यसअघि विद्यान समितिको सदस्य भएर समेत काम गरेका थिए।
रेग्मी पार्टीको प्रदेश कमिटिका उपाध्यक्ष समेत हुन्। रेग्मीले यसअघि प्रदेश सभामा निर्वाचित भएपछि जनअपेक्षाअनुसार काम गर्न नसकेको जनगुनासो व्याप्त छ।
त्यसैगरी स्याङ्जा क्षेत्र नं २ को ‘ख’ मा कांग्रेसले महेश भट्टराईलाई उम्मेदवार बनाएको छ। गठबन्धन दलबीच भागबण्डा गर्दा नेपाली कांग्रेसको भागमा परेको उक्त क्षेत्रमा पार्टीले महेश भट्टराईलाई उम्मेदवार बनाएको हो।
उनी निवर्तमान प्रदेश सांसद भागवतप्रकाश मल्लको जोडबलमा उम्मेदवार बनाइएका हुन्। निवर्तमान सांसद मल्लले आफूले प्रतिनिधि सभामा टिकट नपाएपछि प्रदेशका लागि भट्टराईलाई टिकट दिनुपर्ने अडान लिएका थिए।
गल्याङ नगरपालिका वडा नम्बर ३ का निवर्तमान अध्यक्ष समेत रहेका भट्टराई नेपाली कांग्रेस स्याङ्जा प्रदेश २ 'ख'को सभापति समेत हुन्। उनी राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि निकै सक्रिय छन्।
त्यसैगरी सोही क्षेत्रका लागि एमालेले डा. बुद्धिमान श्रेष्ठलाई पार्टीका तर्फबाट उम्मेदवार बनाएको छ। राजनीतिसँगै स्वास्थ्य क्षेत्रमा सक्रिय रहँदै आएका श्रेष्ठ यस क्षेत्रबाट चुनाव लड्ने नयाँ अनुहार हुन्।
उनी यसअघिको स्थानीय निर्वाचनमा गृह नगर चापाकोटको मेयरमा पराजित भएका थिए। व्यावसायिक कारण लामो समयदेखि काठमाडौंमा बस्दै आएका श्रेष्ठ चुनावी माहोलसँगै जिल्ला झरेर सक्रिय बन्न थालेका छन्।
कान्तिपुर डेन्टल अस्पतालका संचालक समेत रहेका डा. श्रेष्ठ एमालेको गण्डकी प्रदेश कमिटी सदस्य समेत हु्न्
त्यस्तै क्षेत्र नं २ को प्रतिनिधि सभातर्फ राप्रपाका लालगोपाल अर्याल, मंगोल नेशनल अर्गनाइजेसनका चोकबहादुर गुरुङ, राष्ट्रिय जनमुक्ति पार्टीका रिमीसरा गाहा राना, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी पुष्पलालका डोलराज विक, कांग्रेस वीपीका गणेशप्रसाद पाण्डेय, एकीकृत शक्ति नेपालका नरबहादुर खड्काथोकी, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ उम्मेदवार बनेका छन्।
त्यस्तै तीन स्वतन्त्रतर्फ चिरञ्जीवी पाण्डेय, सागर ढकाल र ढालप्रसाद पाण्डेले उम्मेदवारी दिएका छन्।
कात्तिक ९, २०७९ बुधबार ०९:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।