पाल्पा निर्वाचन: अर्ग्यानिक मत ४३३ को बलमा छैटौँ पटक चुनावी मैदानमा उत्रेका सोमप्रसादलाई 'डेब्यु' उम्मेदवार ठाकुर गैरेले रोक्लान् ?
बुटवल: दुई वटा निर्वाचन क्षेत्र रहेको पाल्पामा यसपटक चुनावी प्रतिस्पर्धा रोचक छ। क्षेत्र नं. १ मा प्रतिनिधि सभातर्फ दुवै नयाँ अनुहार चुनावी मैदानमा छन्। क्षेत्र नं. २ मा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका सम्धी सोमप्रसाद पाण्डेले यसपटक आफ्नै पूर्व सहकर्मी ठाकुर गैरेसँग चुनावी प्रतिस्पर्धा गर्दैछन्।
पाण्डे एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष समेत हुन्।
पाल्पाको क्षेत्र नं. १ मा एमालेले ०५१ सालदेखि विजय हासिल गर्दै आएको छ। यसपटक एमालेले सो क्षेत्रबाट दलबहादुर रानालाई टिकट नदिएर नारायण आचार्यलाई उम्मेदवार बनाएको छ। कांग्रेसबाट ज्ञानबहादुर गाहा उम्मेदवार छन्।
आचार्य लुम्बिनी प्रदेश सभाका पूर्व सदस्य हुन् भने गाहा कांग्रेस जिल्ला उपसभापति हुन्।
गठबन्धनको बलमा ०५१ देखिको एमालेको वर्चश्व तोड्ने योजनामा कांग्रेस छ। तर बलियो संगठन र केही विकास निर्माणका कामले गर्दा एमाले विजयी हुने भन्दै ढुक्क छ।
‘यहाँ एमालेको संगठन बलियो छ। जनताका समस्यासँग नजिक छु। त्यस कारण पनि मेरो जितलाई कसैले रोक्न सक्दैन’, एमालेका उम्मेदवार आचार्यले बताए।
साथै उनले कालीगण्डकी कोरिडोरलाई समयमा सम्पन्न गर्ने, कालीगण्डकी नदीमा जलयात्राको प्रारम्भ गर्ने, रामपुरदेखि रोल्पा एक्सप्रेस हाइवे, रामपुर–मित्याल–माथागढी–झुम्सासम्म सडक बनाउने कामलाई योजनाको रूपमा अघि बढाउने आफ्नो प्रतिबद्धता रहेको बताए।
कालीगण्डकी जलयात्राका साथै वडातहसम्म जोड्ने सडकलाई पनि प्राथमिकताका साथ निर्माण गर्ने उनको भनाइ छ।
गठबन्धनका तर्फका उम्मेदवार बनेका गाहाले २०५१ सालदेखि कम्युनिष्टले चुनाव जिते पनि जनताको जीवनस्तर उठ्न नसकेको भन्दै जनताको जीवनस्तर सुधार गर्न आफ्नो उम्मेदवारी रहेको बताए।
यस्तो छ अंकगणित
पाल्पा क्षेत्र नं. १ मा रामपुर नगरपालिका, निस्दी, पूर्वखोला, रम्भा, माथागढी गाउँपालिका पर्दछन्। तानसेनको वडा ८, तिनाउको ५ पनि क्षेत्र नम्बर १ मा पर्छ।
यहाँको रामपुर नगरपालिकामा बाहेक सबैमा एमालेका अध्यक्ष र उपाध्यक्षले स्थानीय तहको निर्वाचनमा जितेका छन्।
यो क्षेत्रमा ९६ हजार ३६ मतदाता छन्। यस क्षेत्रबाट २०७४ मा एमालेका दलबहादुर राना विजयी भएका थिए। कांग्रेसका उम्मेदवार विजय घिमिरेलाई पराजित गर्दै राना विजयी भएका थिए। रानाले ३२ हजार ५४९ मत ल्याएर विजयी हुँदा घिमिरेले २३ हजार ९९३ मत पाएका थिए।
हालै सम्पन्न स्थानीय निर्वाचनमा पाल्पा क्षेत्र नं. १ मा एमाले वडाध्यक्षहरूले पाएको मतलाई आधार मान्दा उसको ३४ हजार ७७१ मत छ।
नेपाली कांग्रेसका वडाध्यक्षहरूले पाएको मत जोड्दा २७ हजार १५० हुन्छ भने माओवादीले एक हजार १६४ मत पाएको छ। यहाँ गठबन्धन हुँदा पनि एमाले बलियो देखिएको छ।
क्षेत्र नम्बर २
निकै चासोपूर्वक हेरिएको क्षेत्र हो पाल्पा क्षेत्र नं. २। पाँच दलसँग गठबन्धन हुँदा एकीकृत समाजवादीलाई लुम्बिनी प्रदेशमा चार वटा प्रतिनिधि सभा सदस्यतर्फ भाग पर्दा पाल्पा २ पनि परेको थियो।
यहाँबाट सोमप्रसाद पाण्डे गठबन्धनका साझा उम्मेदवार छन्। एमाले विभाजनपछि एकीकृत समाजवादीमा गएका पाण्डेको सो क्षेत्रमा आफ्नै सान छ। विकास निर्माणमा उनले खेलेको भूमिकाको प्रशंसा पनि हुने गरेको छ।
पाण्डे एमालेमा रहँदा सधैँ ओझेलमा परेका व्यक्ति हुन्, ठाकुर गैरे।
अहिले उनै गैरे यसपटकको निर्वाचनमा पाण्डेसँग चुनावी प्रतिस्पर्धामा छन्। गैरे विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। उनीसँगै विद्यार्थी राजनीति सुरु गरेका गगन थापा दुई पटक सांसद हुँदै मन्त्री समेत बने। पार्टीभित्र शक्तिशाली महामन्त्री बने।
झाँक्री पनि सांसद हुँदै मन्त्री बनिन्। तर गैरेले राजनीतिमा लाभको पद पाएनन्। सधैँ उनी पाण्डेको छायामा परिरहे। पार्टीको आन्तरिक गुटबन्दीमा परेको गैरेले यसपटक पाण्डेलाई पराजित गर्दै सांसदको यात्रा अघि बढाउनुपर्ने चुनौती छ।
गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरूको मत परिणाम हेर्दा यो क्षेत्रमा एमाले सबैभन्दा ठूलो दल हो। एमालेले ३० हजार ५३६ मत पाएको छ। कांग्रेसले २९ हजार ३९, माओवादीले चार हजार ३१३ र एकीकृत समाजवादीले ४३३ मत मात्रै पाएको देखिन्छ।
पहिलो पटक उम्मेदवार बनेका गैरेले छैटौँ पटक चुनावी मैदानमा रहेका पाण्डेलाई पराजित गर्लान्? यो निकै चासो र अनुत्तरित प्रश्न हो।
गएको स्थानिय तहको निर्वाचनमा पनि गैरेले आफ्नो क्षमता देखाएकाले यसपटक गठबन्धन भए पनि निर्वाचनमा सहज हुने त्यहाँका एमाले नेताहरू बताउँछन्।
पटक–पटक सांसद बनेका पाण्डेले जिल्लामा काम कम गर्ने तर चर्चा बढी गर्ने भएकाले यसको बदला अहिले लिनुपर्ने एमाले नेताहरू बताउँछन्।
पाण्डेले पाल्पाबाट चार पटक जित हासिल गरेका छन्। तीन दशकदेखि राजनीतिमा सक्रिय पाण्डे मन्त्री समेत भइसकेका छन्।
गठबन्धनका साझा उम्मेदवार पाण्डेले पाल्पाको विकास हेरेरै आफूलाई जनताले मत दिने बताए। विकास निर्माणका साथै शिक्षा, स्वास्थ्यका क्षेत्रमा पाल्पामा भएका कार्यहरूलाई जनताले बुझेको भन्दै आफ्नो कार्य र गठबन्धनको मत पनि बढी भएकाले आफ्नो विजयी कठिन नभएको उनले बताए।
एमालेका उम्मेदवार ठाकुर गैरे भने यसपटक आफ्नो क्षेत्रमा एमालेको पकड बलियो भएकाले निर्वाचन जित्न सहज हुने बताए।
२०७४ मा प्रतिनिधि सभा क्षेत्र नं. २ बाट उम्मेदवार बनेका पाण्डे ३४ हजार ८९९ मत ल्याएर विजयी भएका थिए। कांग्रेसका उम्मेदवार हरि नेपालले २४ हजार ५५४ मत पाएका थिए।
पाल्पाका सबै राजनीतिक दलहरूले 'मृत्युमार्ग'को उपमा पाएको सिद्धबाबा सडक खण्डलाई चुनावी अजेण्डा बनाए पनि अहिलेसम्म यो सडकलाई सुरक्षित बनाउन नसकेको भन्दै जनताहरू रुष्ट छन्।
गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरूको मत परिणाम हेर्दा यो क्षेत्रमा एमाले सबैभन्दा ठूलो दल हो। एमालेले ३० हजार ५३६ मत पाएको छ। कांग्रेसले २९ हजार ३९, माओवादीले चार हजार ३१३ र एकीकृत समाजवादीले ४३३ मत मात्रै पाएको देखिन्छ।
कात्तिक ८, २०७९ मंगलबार ०८:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।