शतप्रतिशत नेपाली रूपैयाँ चल्ने भारतीय बजार ‘वनगाउँ’; व्यापारी भन्छन्, ‘नेपाली आएनन् भने हाम्राे उठिबास लाग्छ’
काठमाडाैं : भारतको उत्तर प्रदेश प्रान्तस्थित लखिमपुर खिरी जिल्लामा पर्छ, ‘वनगाउँ’। जुन भारतको डुढवा राष्ट्रिय निकुन्ज क्षेत्रभित्र अवस्थित छ। भारतीयले त्यो बजारलाई ‘वनगवा’ भन्छन्।
थोरै सरसामान किन्न भए पनि नेपालीहरू वनगाउँ पुग्ने गर्छन्। चाहे दशैं होस् या दिपावली, विवाहको सामग्री होस् वा पसलको खुद्रा तथा होलसेल सामानका लागि नेपालबाट आउने ग्राहकले नै यहाँको बजार धान्दै आएको छ।
सुदुरपश्चिम प्रदेशको कैलाली–कन्चनपुर सीमानजिकै पर्छ डोकेबजार। डोकेबजारले कैलीली–कन्चनपुर जिल्लाको सीमा मात्र नभई नेपाल–भारतको पश्चिमी नाका गौरीफन्टा पनि जोड्ने गर्छ। त्यहि नाका हुँदै रोजगारको लागि भारत जाने नेपालीहरूको घुइँचो हुन्छ भने भारतबाट नेपालमा व्यापार गर्न आउनेहरूको भीड लाग्ने गर्छ।
त्यो भन्दा ठूलो भीड हुन्छ वनगाउँ गएर किनमेल गर्ने पश्चिम नेपालका सर्वसाधारणको। कन्चनपुरको पुनर्वास नगरपालिका टाउनकी बिमला बोहरा सोडा साबुन किन्नु परे पनि वनगाउँ पुग्छिन्। चाडपर्वका सामान किन्न नजाने त झन् कुरै भएन। उसो त टाउन, धनगढी जस्ता बजार स्थानीयको पहुँचमा नभएको होइन। तर, यहाँका बजारमा भन्दा वनगाउँमा सस्तो मूल्यमा सामान पाइन्छ।
त्यहि भएर हुनुपर्छ, अघिल्ला वर्षहरूमा झैँ यसवर्ष पनि उनी दशैं–तिहारको लागि चाहिने आवश्यक सम्पूर्ण सामान किन्न सीमापार वनगाउँ पुगिन्। धनगढीमा अचाक्ली महंगो हुने सामान उता सस्तो पाइने उनको भनाइ छ।
‘वनगाउँमा सामानहरू सस्तोमा पाइन्छ’ उनी सुनाउँछिन्, ‘धनगढीमा २ हजार पर्ने कुर्ता सलवालहरू त्यहाँ ८ सयमै किन्न पाइन्छ।’
यता धनगढीमा बस्ने नवीन थापा पनि नजिकको बजार छोडेर सामान किन्न वनगाउँ पुग्छन्। उनको धनगढीमा घर छ। उनलाई पनि धनगढीको तुलनामा वनगाउँमा केहि सामान सस्तो लाग्छ।
‘सबै सामान होइन, भारतमै उत्पादन भएका लत्ता कपडा, अहिलेलाई तिहारको सामान र खानेकुराहरू धनगढीमा भन्दा सस्तो छ’ उनी भन्छन्, ‘थोरै मूल्यमा धेरै सामान किन्न पाइने हुँदा म वनगाउँ गएर सामान किन्छु। लत्ताकपडा र खानेकुराबाहेक अन्य सामग्रीको मूल्य भने वनगाउँ र धनगढीमा खासै फरक छैन।’
वनगाउँ गएर सानोठूलो सामान किनमेल गर्नेमा कन्चनपुरको पुनर्वास नगरपालिकाका, कैलालीको धनगढी आसपासका गाउँका मानिसहरू बढि हुन्छन्।
यति मात्र नभई पहाडी जिल्ला, बझाङ, बाजुरा, बैतडी, डडेल्धुराका थोक तथा खुद्रा व्यापारीले वनगाउँबाट लाखौंको सामान खरिद गर्न त्यहाँ पुग्छन्। धनगढी र स्थानीय बजारका व्यापारीहरू भने होलसेल तथा अन्य ठूलो सामग्री ल्याउनुपरे नजिकैको ठूलो बजार पलिया पुग्ने गर्छन्।
वनगाउँ यस्तो बजार हो, जहाँ झन्डै शतप्रतिशत कारोबार नेपाली रूपैयाँमा हुने गर्छ। र, त्यहाँको मार्केट धान्ने ग्राहक शतप्रतिशत नेपाली नै हुन्। नेपालबाट आउने ग्राहक नभएको भए आफूहरूको उठिबास लाग्ने वनगाउँमा फेन्सी एवं साडी पसल सञ्चादन गरिरहेका प्रिन्स गुप्ता सुनाउँछन्।
‘हाम्रो यहाँ नेपालीबाहेक अरु कोही पनि ग्राहक आउँदैनन्,’ उनी भन्छन्, ‘नेपालीहरूकै लागि यो बजार सञ्चालनमा छ। नेपालबाट किनमेलका लागि कोहि पनि आएनन् भने हाम्रो व्यापार सुक्छ।’
गुप्ताले भारतको बरेलिया, पलिया, दिल्ली लगायत ठूलो बजारबाट सामान खरिद गर्छन् र आफ्नो व्यापार सञ्चालन गर्ने गर्छन्। महिला र पुरुषको सबै समूहका लागि रेडिमेड कपडा राखेको उनको पसलमा ८० रूपैयाँदेखि तीन हजार रूपैयाँसम्ममा सामान पाइन्छ। दशैं र दिपावलीको समयमा ग्राहकको भीड लाग्ने गरेको उनी बताउँछन्।
‘अरु बेलामा फाटफुट मान्छेहरू आउने भए पनि दशैं, दीपावली र नेपाली नयाँ वर्षमा सबैभन्दा ठूलो भीड लाग्ने गछर्,’ गुप्ता सुनाउँछन्, ‘हामीले नियमित आउने ग्राहकलाई अझ सस्तो मूल्यमा सामान बेच्छौं।’
पसलको संख्या थोरै भए पनि वनगाउँ बजार झट्ट हेर्दा काठमाडौंको भृकुटीमण्डपमा अवस्थित हङकङ बजारभन्दा खासै फरक छैन। वनगाउँमा लत्ता कपडा, सारी, फेन्सी, भाँडाकुडा, किराना र केही कस्मेटिक पसल गरी झन्डै १ सय पसल सञ्चालनमा छन्। वनगाउँमा भएका अधिकांश पसलहरू त्रिपालमुनि छन्। पानी पर्दा, हुरी चल्दा, बजार वनद हुँदा व्यापारीहरू आफ्नो सरसामान बाकसमा वनद गरेर घर फर्किन्छन्। बजार उत्तर प्रदेश सरकारको स्वामित्वमा भए पनि सरकारलाई धेरै कर बुझाउनु भने पर्दैन।
डोकेबजारसँगै जोडिएको गौरीफन्टादेखि वनगाउँसम्मको दूरी झन्डै ३ किलोमिटर छ। यसअघि गौरीफन्टामै रहेको बजार सात वर्षअघि वनगाउँमा सरेको हो। राष्ट्रिय निकुन्जको मध्य भागमा अवस्थित वनगाउँ पुग्न या दिल्ली जाने बस चढ्नुपर्छ, नभए काठमाडौंमा चल्ने पठाओजस्तै स्थानीयले चलाउने मोटरसाइकल।
मोटरसाइकल चलाउने भारतिय नागरिक नै हुन्छन्। उनीहरूले एउटा मोटरसाइकलमा चालकसहित तीनजना यात्रु ओसारपसार गर्ने गर्छन्। झन्डै १५ देखि २५ मिनेट समय लाग्छ। गौरीफन्टा नाकाबाट वनगाउँ पुग्न बाइकमा एकजना बराबर ५० रूपैयाँ तिर्नुपर्छ भने बसमा जाँदा प्रतिव्यक्ति १० रूपैयाँको टिकट लाग्छ।
गौरीफन्टा खुला नाका भएकोले घरायसी सामान र व्यापारिक उदेश्यले ल्याउने सामान सहजै ल्याउन पाइन्छ। घरायसी सामान ल्याउनेको लागि कुनै राकेतोक नभएकोले पनि कैलाली र कन्चनपुरका मानिसहरू किनमेलको लागि वनगाउँ पुग्ने गर्छन्। दशैं र तिहारको समय् नाकामा निकै भीड बढ्ने गर्छ।
नेपाल भारत सीमा बल गौरीफन्टा नाका त्रिपुरका इन्स्पेक्टर गोविन्दबहादुर सिंहका अनुसार हरेक वर्ष दशैं र तिहारको समयमा भारतीय बजार वनगाउँ पुगेर किनमेल गर्ने मानिसहरूको संख्या ठूलो छ। दशैं र तिहारको समयमा त झन्डै ८ सय मानिस गौरीफन्टा नाकाबाट किनमेलको लागि ओहोरदोहोर गर्छन्।
‘दैनिक झन्डै सातआठ सय मानिसले सीमा ओहोरदोहोर गर्ने गर्छन्। जसमा सबैजसो कैलाली र कन्चनपुरका स्थानीय बासिन्दा हुन्छन्,’ उनी भन्छन्, ‘वनगाउँमा सस्तोमा सामान पाइन्छ भनेर स्थानीयले चाडबाडमा चाहिने सबै घरायसी समान उतैबाट ल्याउँछन्।’
सामान किन्न ठूलो संख्यामा नेपालीहरू मात्र भारत पुग्ने नभई भारतीयहरू पनि नेपाल आउने गरेको उनी बताउँछन्। नेपालमा चिनियाँ सामान सस्तो पाइने भएकाले त्यसका लागि उनीहरू धनगढीसम्म आउने गरेको उनको भनाइ छ।
‘सीमानजिक रहेका भारतीय गाउँका मानिसहरू चिनियाँ सामान सस्तो पाइन्छ भनेर धनगढी पुगेर सामान किनेर फर्किन्छन्,’ उनी भन्छन्, ‘यो प्रक्रिया दोहोरो चलिरहेको छ, तर पनि भारत गएर सामान किन्नेमा हाम्रा नागरिकहरू बढि छन्।’
कात्तिक ७, २०७९ सोमबार १३:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।