नानाथरी स्पष्टिकरण सोधिएको भन्दै चलचित्र विकास बोर्डमाथि खनियो ‘दुई नम्बरी’ टीम
काठमाडौं : चलचित्र ‘दुई नम्बरी’ टिम चलचित्र विकास बोर्डमाथि खनिएको छ।
विकास बोर्डले सोधेको स्पष्टिकरणको जवाफ दिने क्रममा चलचित्रका निर्माता किरण नेपाली बोर्डको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै खनिएका हुन्।
उनले बोर्डले सोधेको स्पष्टिकरणलाई संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताविरुद्ध भएको दाबी गरेका छन्। उनले कला र सिर्जनामाथि अंकुश लगाइरहने हो भने गणतन्त्र र लोकतन्त्रको कुनै औचित्य नहरनेसमेत बताएका छन्।
स्पष्टिकरणमा भनिएको छ, ‘चलचित्रलाई नानाथरीका स्पष्टीकरण सोध्ने यो बोर्डको कदम संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध रहेको समेत ध्यानाकर्षण गराउन चाहन्छौं । कला र सिर्जनामाथि अंकुस लगाइरहने हो भने गणतन्त्र र लोकतन्त्रको कुनै औचित्य रहँदैन।’
स्पष्टिकरणको जवाफमा निर्माता नेपालीले ध्वनि र कलरमा देखिएको केही प्राविधिक त्रुटिलाई संशोधन गरेर तेस्रो हप्तादेखि हलमा पठाइएको बताएका छन्।
उनले चलचित्रको लम्बाइमा कुनै पनि हेरफेर नगरिएको स्पष्ट पार्दै सेन्सर कपीमा नसमेटिएका दृश्य र संवाद अहिले हलमा पठाएको संस्करणमा नथपेको बताएका हुन्।
सेन्सर भइसकेको चलचित्रको लम्बाइ थपघट भएको र सेन्सर नगरिएको दृश्य र संवादसमेत थप गरेको भन्ने सूचनाका आधारमा विकास बोर्डले चलचित्रलाई स्पष्टिकरण सोधेको थियो।
चलचित्र विकास बोर्डमाथि यसअघि चलचित्र ‘प्रेम गीत ३’को टीम खनिएको थियो। हिन्दीमा स्वराङ्कन गरिएको चलचित्रलाई बोर्डले हिन्दी चलचित्र भन्दै १५ प्रतिशत कर लिने निर्णय गरेपछि चलचित्रका नायक प्रदीप खड्का, निर्माता सन्तोष सेन लगायतले बोर्डको निर्णयविरुद्ध सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी गरेका थिए।
उजुरीउपर छानबिन गरेर मन्त्रालयले हिन्दीमा स्वराङ्कन भएको ‘प्रेम गीत ३’लाई नेपाली चलचित्र भएको ठहर गरेको थियो।
कात्तिक ६, २०७९ आइतबार १९:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।