पौडेललाई रोक्न कठिन देखेपछि गृहमन्त्री खाँणको क्षेत्रतिर गठबन्धनको ध्यान, प्रदेशभर सघाउने सर्तमा जनमुक्ति पार्टीलाई साथ दिने तयारी
बुटवल: रुपन्देही क्षेत्र नं. २ मा सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी सर्वोच्च अदालतले खारेज गरिदिएपछि यतिबेला गठबन्धनभित्र अन्यौल छाएको छ। अब रुपन्देही- २ मा गठबन्धन कसरी अघि बढ्छ? भन्ने निकै चासोपूर्वक हेरिएको छ।
यो एमाले उपाध्यक्ष विष्णु पौडेलेको समेत क्षेत्र भएकाले पनि यसपटक यहाँको प्रतिस्पर्धालाई महत्त्वका साथ हेरिएको थियो। ०७४ सालको निर्वाचनमा पौडेलकै चुनावी मोर्चामा रहेका गुरुङ यसपटक उनकै सामाना गर्दै थिए।
‘कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेकाले’ गुरुङ उम्मेदवार बन्न अयोग्य हुने निर्णय निर्वाचन अधिकृतको कार्यालयले गरेको थियो। निर्वाचन अधिकृत पूर्वाग्राही भएको आरोप लगाउँदै गठबन्धन पक्ष सर्वोच्च अदालत पुगेको थियो। तर अदालतले ४ कात्तिकमा आयोगकै निर्णयलाई सदर गरिदियो।
गठबन्धन दलले प्रतिनिधि सभातर्फ ‘डमी’ उम्मेदवारी दर्ता गरेका छैनन्। यस्तोमा गठबन्धनले अब कुनै एक पार्टीको उम्मेदवारलाई समर्थन गर्नुको विकल्प छैन।
हाम्रो नेपाली पार्टीका कमल भुसालको मुद्दा पनि विचाराधीन रहेकाले गठबन्धनभित्र भुसालको उम्मेदवारी कायम भए उनैलाई समर्थन गर्ने पनि आन्तरिक छलफल चलेको छ। तर भुसालको उम्मेदवारी पनि कायम हुन कठिन भएपछि अब गठबन्धनले एउटा कुनै उम्मेदवारलाई सघाउँदै सबै ध्यान गृहमन्त्री बालकृष्ण खाँणको क्षेत्रमा केन्द्रित गर्ने तयारी पनि गरेको छ।
अब सत्ता गठबन्धन यस क्षेत्रमा केन्द्रबाट प्राप्त हुने निर्णयलाई स्वीकार गरी अघि बढ्ने भएको छ।
जनमुक्ति पार्टीलाई सघाउने गठबन्धनको तयारी
यो क्षेत्रमा १८ जनाले प्रतिनिधि सभामा उम्मेदवारी दिएकामा गुरुङसहित तीन जनाको खारेजी भएको थियो। त्यसपछि आयोगले १५ जनाको अन्तिम नामावली प्रकाशन गरेको थियो। यी १५ मध्ये एकलाई गठबन्धनले समर्थन गर्नेछ।
गठबन्धनले पहिलो चरणमा राष्ट्रिय जनमुक्ति पार्टीसँग साझेदारी गर्ने तयारी गरेको छ। राष्ट्रिय जनमुक्ति पार्टीबाट केशबहादुर थापालाई रुपन्देही क्षेत्र नं. २ मा सघाउने र त्यसबापट जनमुक्ति पार्टीले प्रदेशभर सघाउने गरी गठबन्धनको तर्फबाट छलफल भइरहेको कांग्रेसका एक नेताले बताए। जनमुक्ति पार्टीको खासगरी बुटवल र तिलोत्तमामा केही प्रभाव छ। त्यसै कारण थापालाई समर्थन गरेमा अन्य क्षेत्रमा गठबन्धनका उम्मेदवरलाई सहज हुने भएकाले जनमुक्ति पार्टीसँग साझेदारी गर्न गठबन्धन दलहरू लागेका छन्।
माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल बाँकी रहेका उम्मेदवारमध्ये जो राम्रो छ उसैलाई समर्थन गरेर जान सकिने बताउँछन्।
‘हाम्रो उम्मेदवार नभएपछि कसलाई समर्थन गर्ने? यो छलफलको विषय बनेको छ, त्यो स्वाभाविक पनि हो। तर कसलाई के आधारमा समर्थन गर्ने भन्नेबारे निर्णय भइसकेको छैन’, नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले भने।
माओवादी केन्द्रका रुपन्देही संयोजक निर्मल जीसीले पनि अब एमाले बाहेकका बाँकी उम्मेदवारमध्ये बलियो उम्मेदवारलाई नै समर्थन गरेर जानेबारे छलफल भइरहेको र केन्द्रबाट निर्णयको पर्खाइमा रहेको बताए।
कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर पुन अदालतको आदेश मान्नुको विकल्प नभएकाले गठबन्धनले आगामी कदमबारे छिट्टै निर्णय गर्ने बताए।
तेस्रो ठूलो शक्ति हो जनमुक्ति पार्टी
बुटवल उपमहानगरको १ देखि १३, सैनामैनाको १ देखि ४ र तिलोत्तमाको १ देखि ६ नम्बर गरी २३ वटा वडा पर्ने रुपन्देही क्षेत्र नं. २ मा कुल एक लाख २८ हजार ६७७ मतदाता छन्।
स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा रूपन्देही क्षेत्र नं. २ मा कांग्रेसको ३४ हजार ९५९, एमालेको ३३ हजार १८७, राप्रपा तीन हजार ९२०, माओवादी तीन हजार १८८, एकीकृत समाजवादी एक हजार ३८२, जसपा १८३ मत छ।
गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी भएका कारण गठबन्धनपछिको तेस्रोमा यहाँ जनमुक्ति पार्टी छ। दोस्रोमा एमाले छ।
२०७४ सालको निर्वाचनमा पनि जनमुक्ति पार्टी तेस्रो स्थानमा थियो। जनमुक्ति पार्टीका रूपबहादुर पुनले तीन हजार ५६८ मत पाएका थिए। गत वैशाखमा भएको निर्वाचनमा खासगरी बुटवलमा जनमुक्तिले कांग्रेसका खेलराज पाण्डेयलाई सहयोग गरेका कारणले पनि गठबन्धनले थापालाई समर्थन गर्ने बलियो आधार देखिएको छ।
राजनीतिक विश्लेषक ऋषि आजाद रुपन्देही क्षेत्र नं. २ मा अब पौडेलको विकल्प नभएको बताउँछन्। उनले गठबन्धनको उम्मेदवार नभएपछि अरूलाई गठबन्धनले समर्थन गरे पनि पौडेललाई केही फरक नपर्ने बताए।
चौथो पटक पनि पौडेलको यात्रा सहज
अब रुपन्देही क्षेत्र नं. २ मा पौडेललाई संघीय संसद् छिर्ने बाटो सहज भएको भन्दै गठबन्धन दलभित्रै बहस हुन थालेको छ।
पौडेललाई रोक्न कठिन भएको भन्दै गठबन्धनले यहाँ अरूलाई सघाएर सबै शक्ति गृहमन्त्री बालकृष्ण खाँणको क्षेत्रमा लगाउने गरी तयारी पनि गरिरहेको छ।
पौडेल यस क्षेत्रमा लोकप्रिय पनि छन्। समग्र जिल्लाकै विकास निर्माणमा उनको खेलेको भूमिकाको प्रशंसा पनि हुँदै आएको छ।
यो क्षेत्रबाट २०६४, २०७० र २०७४ को चुनावमा लगातार जितेर ह्याट्रिक गरेका पौडेलले दुई पटक अर्थमन्त्री, जलस्रोत, रक्षासहित उपप्रधानमन्त्रीको जिम्मेवारी पूरा गरिसकेका छन्।
को–को छन् बाँकी उम्मेदवार?
एकीकृत समाजवादीका गुरुङसँगै हाम्रो नेपाली पार्टीका कमल भुसाल (निकोलस) र स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको उम्मेदवारी खारेज भएपछि हालसम्म रुपन्देही- २ मा १५ जना उम्मेदवार छन्।
यहाँका बलियो उम्मेदवार एमालेका उपाध्यक्ष विष्णु पौडेल नै हुन्। त्यस्तै राष्ट्रिय जनमुक्ति पार्टीबाट केशबहादुर थापा, नेपाल मजदुर किसान पार्टीबाट हरिसुन्दर बासी, नेपाल दलित पार्टीबाट राजु शाही, नेपाली कांग्रेस (बीपी) बाट नमादेवी गौतम, मंगोल नेशनल अर्गनाइजेशनबाट दीपक थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल पनि लोकप्रिय उम्मेदवार हुन्।
त्यस्तै रूपसिंह थापा, केशव बस्याल, टोपनारायण पौडेल, तारा घिमिरे, तुलसीराम यादव, सुरेन्द्र भारी, प्रदीप ज्ञवाली र विष्णु विक स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्।
२०७४ को निर्वाचनमा रुपन्देही क्षेत्र नं. २ मा १० दलबाट १६ जना उम्मेदवार थिए। त्यतिबेला दलहरूले पाएको मत यस्तो छ:
१) नेकपा (एमाले): ४४,००९
२) नेपाली कांग्रेस: २१,९४६
३) राष्ट्रिय जनमुक्ति पार्टी: ३,५६८
४) विवेकशील साझा: १,३२३
५) संघीय समाजवादी फोरम: ४३५
६) नयाँ शक्ति पार्टी: ४११
७) राष्ट्रिय जनमोर्चा: ३७७
८) देशभक्त गणतान्त्रिक मोर्चा: १६०
९) एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी: १२०
१०) नेपाल मजदुर किसान पार्टी: ५७
कात्तिक ६, २०७९ आइतबार १०:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।