नाै महिनाकी छोरी राेएपछि बुवाले गरे हत्या, दिइयाे मृत्युदण्ड 

नाै महिनाकी छोरी राेएपछि बुवाले गरे हत्या, दिइयाे मृत्युदण्ड 

एजेन्सी : अमेरिकाकाे ओक्लाहोमा राज्यमा नौ महिनाकी छोरीको हत्या गरेको अभियोगमा एक पितालाई २० वर्षपछि मृत्युदण्ड दिइएको छ।

ओक्लाहोमाको म्याकलेस्टर कारागारमा हत्यामा दाेषी ठहर भएका बेन्जामिन कोललाई तीनवटा घातक औषधिको माध्यमबाट मृत्युदण्ड दिइएको हो। गत वर्षदेखि ओक्लाहोमा राज्यमा मृत्युदण्डको सजाय पुनः लागू भएपछि मृत्युदण्ड पाउने उनी छैटौं कैदी हुन्।

स्टेचरमा बाँधिएका कोलले इशा मसीहलाई केही क्षण सम्झिएका थिए। त्यसपछि उनलाई दश बजेर छ मिनेट जाँदा घातक औषधि दिइएको थियो। दश बजेर १२ मिनेट जाँदा उनी बहोस भइसकेका थिए। त्यसपछि पनि मृत्यु कक्षमा उनी घुरेको आवाज सुनिएको थियो। अन्ततः कारागार प्रशासनले १० बजेर २२ मिनेटमा उनलाई मृत घोषणा गर्याे।

कोलले सन् २००२ मा आफ्नी नौ महिनाकी छोरी ब्रायना कोललाई जबरजस्ती पछाडि झुकाएर उनको मेरुदण्ड भाँच्नुका साथै रक्त धमनी च्यातेर मारेका थिए। गम्भीर रूपमा मानसिक बिरामी उनले उक्त अपराध गरेको उनका वकिलहरूले स्वीकार गरेका छन्।

मृत्युदण्डबाट बचाउन राज्यको क्षमादान समितिसमक्ष गरिएको अपिलका पक्षमा एक मत परेका थियो भने विपक्षमा तीन जनाले मतदान गरेका थिए। नवजात शिशुको हत्याबाट पीडित भएका परिवारका सदस्यले समितिसमक्ष क्रुर हत्याका निम्ति कोलले मृत्युदण्ड पाउनुपर्ने दलिल प्रस्तुत गरेका थिए।

भिडियो गेम खेलिरहेका बेला छोरी रोएपछि आक्रोशित भएका उनले शिशुको ज्यान लिएका थिए। अभियोजकहरूले पनि कोल गम्भीर मानसिक बिरामी नभएका र संविधान तथा न्यायशास्त्रमा उनको मृत्युदण्ड रोक्ने कुनै व्यवस्था नभएको बताएका छन्।

कात्तिक ५, २०७९ शनिबार २२:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।