विश्वकाे ध्यान तानेकाे चिनियाँ कम्युनिष्ट पार्टीकाे कङ्ग्रेस, जहाँ पूर्वराष्ट्रपतिलाई नै हलबाहिर निकालियाे

विश्वकाे ध्यान तानेकाे चिनियाँ कम्युनिष्ट पार्टीकाे कङ्ग्रेस, जहाँ पूर्वराष्ट्रपतिलाई नै हलबाहिर निकालियाे

एजेन्सी : चीनका भूतपूर्व राष्ट्रपति हु जिन्ताओलाई बेइजिङमा जारी चिनियाँ कम्युनिस्ट पार्टीको कङ्ग्रेसबाट बाहिर निकालिएको छ।

राष्ट्रपति सी जिन्पिङसँगै बसिरहेका ७९ वर्षीय नेता हुलाई अधिकारीहरूले उनी बसेको ठाउँमा पुगेर बाहिर निकालेका हुन्। अहिलेसम्म चिनियाँ कम्युनिष्ट पार्टीले यसकाे कारण भने खुलाएकाे छैन।

सन् २००३ देखि २०१३ बीचमा चीनको राष्ट्रपति रहेका हु जिन्ताओलाई अधिकारीहरूले मञ्चबाट बाहिर लैजाँदै गर्दा उनले राष्ट्रपति सीलाई केही भनेका थिए।

प्रतिक्रियामा राष्ट्रपति सीले टाउको हल्लाएर सहमति जनाएको देखिन्छ। त्यसपछि हुलाई अधिकारीहरूले कुम समातेर डोहोर्याउँदै ग्रेट हल अफ द पीपलबाट बाहिर लगे।

पूर्वराष्ट्रपतिलाई हलबाट बाहिर जान भनिएको भिडियाे दृश्यले विश्वभरि ध्यानाकृष्ट भएको छ। तर, पनि चिनियाँ सरकारी पक्षले त्यसबारे कुनै प्रतिक्रिया दिएको छैन।

भिडियाेमा हुले आफू बसिरहेको ठाउँबाट उठ्न आनाकानी गरेको देखिन्छ। यदि यस्तै भएको हो भने त्यो किन भन्ने प्रश्न उठेको देखिन्छ।

उनले आफूलाई बाहिरिन आग्रह गरिरहेका अधिकारीलाई के भने र बाहिरिँदै गर्दा राष्ट्रपति सीलाई के भने र सँगै रहेका प्रधानमन्त्री ली कछ्याङलाई धाप मार्दै के भने भन्ने अनेकौं अनुमान गरिएको छ।

कात्तिक ५, २०७९ शनिबार २०:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।