हरिवंश भन्छन्– ‘बेलैमा दोस्रो बिहे नगरेको भए पछुतो हुने रहेछ’
काठमाडौं : सार्वजनिक कार्यक्रममै पहिलो श्रीमती मिराप्रतिको प्रेम देखिन्थ्यो अभिनेता हरिवंश आचार्यमा। उनको मृत्युपछि धेरै कार्यक्रममा उनी मिरालाई सम्झिएर भक्कानिए। तर, उनको एकल पुरुषको यात्रा त्यति लामो भएन। उनले केही समयमै रमिला पाठकसँग दोस्रो विवाह गरे।
उनले दोस्रो विवाह गर्दा आलोचना नभएको हैन। मिराप्रतिको प्रेम कति छिट्टै बिर्सिएको भन्दै सार्वजनिक आलोचना भएको थियो। उनले परिवारकै सहमतिमा दोस्रो विवाह गरे पनि उनको मिराप्रतिको प्रेम शंकामा पर्यो।
तर, आचार्य दोस्रो विवाह नगरेको भए पछुताउने रहेछु भन्दै समयमै दोस्रो विवाह गरेर राम्रो गरेको बताउँछन्। अहिले उनी एकल पुरुषको कथामा बनेको फिल्म महापुरुषको प्रमोसनमा व्यस्त छन्।
फिल्म प्रमोसनकै एक कार्यक्रममा उनले दोस्रो विवाह गरेकोले नै विस्तारै अभिनयमा फर्किन सकेको भन्दै भने, ‘श्रीमतीको साथले नै काममा फर्किन सकेको हुँ। विवाह गर्नै पर्ने थियो। समयमै गरे। नगरेको भए पछुताउने रहेछु।’
तर, उनले महापुरुषको कथा भने आफ्नो जीवनसँग मेल नखाने दाबी गरे। श्रीमतीको निधनपछि आफूलाई परिवारले साथ दिएको बताउँदै उनले फिल्ममा उमेर ढल्किएपछि जीवन साथी गुमाउन पुगेकाहरूप्रति परिवारले गर्नुपर्ने जिम्मेवारीबारे केन्द्रित रहेको बताएका थिए।
उनले बलिदान फिल्मपछि आफूले यही फिल्ममा चित्तबुझ्दो अभिनयको मौका पाएको दाबी समेत गरेका थिए।
‘महापुरुष’ मा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठसँगै गौरी मल्ल, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, सिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी लगायतका कलाकारले अभिनय गरेका छन्।
अरुण क्षेत्री र अञ्जना बराइलीको यो डेब्यु फिल्म हो। अरुणले हरिवंशको कान्छो छोरा र अञ्जनाले मदनकृष्णकी छोरीको भूमिका निर्वाह गरेका छन्। फिल्म प्रदीप भट्टराईको लेख्नसँगै निर्देशन समेत रहेको छ।
कात्तिक ५, २०७९ शनिबार १९:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।