'के घर के डेरा' : दखल कलाकार र निर्देशकले बनाएको बिजोग फिल्म
'चपली हाइट', 'पशुपति प्रसाद', 'धनपति', 'आमा', 'चिसो मान्छे' लगायतका फिल्म बनाइसकेका निर्देशक दीपेन्द्र के. खनालबाट काठमाडौंका घर र डेराको विषयमा फिल्म बन्दा आस त हुने नै भयो।
तर फिल्म भने आशा गरेजस्तो छैन। ट्रेलरमै फितलो देखिएको दीपेन्द्रको काम फिल्ममा झन् बिजोगै छ।
आम मानिसको समस्यामा केन्द्रित फिल्मलाई झिनो कुरामा अल्झाउनु यो फिल्मको सबैभन्दा ठूलो कमजोरी हो। फिल्म हल्का र अल्छीलाग्दो बनेको छ र यो निकै दुखद् कुरा हो।
'आमा' फिल्म महिलाको कोणबाट बनाएका दीपेन्द्रले यो फिल्ममा भने महिलालाई हेला गरेका छन्। फिल्मभरि जति पनि काण्ड मच्चिएको छ, त्यसमा महिलालाई कारण देखाइएको छ।
शंखे (विपीन कार्की)लाई दोस्रो श्रीमती लालिमा (वर्षा राउत)बाट काठमाडौंमा भएको घर लुकाउनु छ। किनभने शंखेले थाहा पाइसकेको छ, पहिलो श्रीमतीजस्तै ऊ पनि सम्बन्ध विच्छेद गरेर काठमाडौंको घर कुम्ल्याउन आएकी हो भनेर।
यता साजन (दयाहाङ राई)लाई श्रीमती आकृति (सुरक्षा पन्त)को इज्जतका लागि घर किनिदिनुछ।
संवादैपिछे दुईअर्थी शब्दको प्रयोग गरिएको छ। महिलालाई यौनजन्य कार्यका लागि मात्रै साथमा राख्ने हो जस्ता संवाद फिल्मभरि छन्। ‘भुँडी बोकाएपछि बच्चाले ड्याडी भन्छ’, ‘हनिमुन हान्नी’ लगायतका संवादले पुरुषलाई त हाँसो लाग्ला तर महिला दर्शक हास्न सक्दैनन्।
'झिँगेदाउ' जस्तो पुरुषवादी दृष्टिकोण हावी भएको फिल्मले अपार सफलता हासिल गरेपछि यही बाटो पछ्याउँदै आएको फिल्म हो 'के घर के डेरा'। फिल्म मनोरञ्जनसँगै समाजको दृष्टिकोणमा परिवर्तन ल्याउनसक्ने माध्यम पनि हो भन्ने कुरालाई फिल्मले पूर्णरूपमा बेवास्ता गरेको छ।
फिल्मको सबै पक्ष कमजोर छ। त्यसमा पनि पटकथा सबैभन्दा कमजोर। फिल्ममा जुन कथाको संसार स्थापना गरिएको छ, त्यो विश्वसनीय छैन।
काठमाडौंमा दुई वटा घर भएको लोभी बाउको छोरी हुन् आकृति। त्यति लोभी बाउले अन्तरजातीय डेरावाल ज्वाईँ कसरी स्वीकार गर्यो होला? खेलाडी जीवन बिताएकी आकृति कसरी श्रीमान्ले "घरै बस्" भन्दा मानिन् होला? फिल्म आधुनिक देखिन खोज्ने तर पुरातन सोच भएको पटकथाबाट ग्रसित छ।
संवादैपिछे दुईअर्थी शब्दको प्रयोग गरिएको छ। महिलालाई यौनजन्य कार्यका लागि मात्रै साथमा राख्ने हो जस्ता संवाद फिल्मभरि छन्। ‘भुँडी बोकाएपछि बच्चाले ड्याडी भन्छ’, ‘हनिमुन हान्नी’ लगायतका संवादले पुरुषलाई त हाँसो लाग्ला तर महिला दर्शक हास्न सक्दैनन्।
विपीन कार्की भर्सटायल कलाकार हुन्। यसमा कुनै द्विविधा छैन। तर, के घर के डेरा विपीनको सबैभन्दा कमजोर अभिनय भएको फिल्म हो भन्दा फरक नपर्ला। उनी यसमा निकै लाउड छन्। उनको अनुहारको भावभङ्गीले हसाउन त सहयोग गरेको छ तर त्यो मज्जा आउनेखालको भने छैन।
फिल्मका केही दृश्यको फिल्मसँग लिनुदिनु केही छैन।। गाडी दुर्घटनामा खलनायक पर्नु, त्यसलाई बचाउनु अनि प्रहरीलाई खबर गर्नु। पछि ती खलनायकले बदला लिनु। यो सबै दृश्य काटेर फालेको भए हुन्थ्यो।
अस्पतालजस्तो संवेदनशील ठाउँमा नाटक गरौँ भनेर बिनाअनुमति छिरेको देखाउनु र मालपोतका कुरामा बिनाअनुसन्धान जग्गा लेनदेन गरेको देखाउनुले फिल्म स्वाभाविक लाग्दैन।
कुरा गरौं कलाकारको अभिनयको।
नाम चलेका कलाकारहरू छन् फिल्ममा। वर्षा राउत फिल्मकै सबैभन्दा कमजोर र बायस्ड चरित्र हो। श्रीमान्को लालपुर्जा खोज्ने, प्रेमी भेट्ने र सम्बन्ध विच्छेदको कागज तयार पार्नेबाहेक उनको अरू काम छैन।
यत्तिका लागि वर्षाजस्तो अभिनयमा दखल भएकी कलाकार राख्न जरुरी थिएन। वर्षाले पनि यस्तो भूमिका स्वीकार्नु उनको कमजोरी हो, अभिनय र समयको बर्बादी हो।
विपीन कार्की भर्सटायल कलाकार हुन्। यसमा कुनै द्विविधा छैन। तर, के घर के डेरा विपीनको सबैभन्दा कमजोर अभिनय भएको फिल्म हो भन्दा फरक नपर्ला। उनी यसमा निकै लाउड छन्। उनको अनुहारको भावभङ्गीले हसाउन त सहयोग गरेको छ तर त्यो मज्जा आउनेखालको भने छैन।
काउँकुती लगाएर हसाउनु र भित्रैदेखि हाँसो लाग्नु फरक कुरा हो। फिल्मभर विपीनको काम काउँकुती लगाएर हँसाउने जस्तै भएको छ।
फिल्म निर्माण युनिटले बुझ्नैपर्ने कुरा चाहिँ धेरै काउँकुती लगायो भने हास्ने होइन सासै फेर्न नसक्ने स्थिति बन्छ।
गम्भीर भूमिकामा देखिँदै आएकी सुरक्षा पन्तलाई पनि फिल्मको पात्र अनुसार असुहाउँदो देखिएको छ। उनको चरित्र दोधारे छ। अभिनयमा खास नयाँपन छैन।
दयाहाङ राईले भने केही हदसम्म सन्तुलित भूमिका निभाएका छन्। तर उनको अभिनय भने पुरानै फिल्महरूको जस्तै हो। नयाँपन भेटिन्न।
फिल्मका अन्य कलाकारहरू रवीन्द्र झा, आसान्त शर्मा, लक्ष्मी गिरी, प्रभाकर न्यौपाने, भोलाराज सापकोटा, सरोज अर्याल लगायतको अभिनय पनि 'वाह' भन्ने छैन। ठीकठाक मात्र छ।
ब्याकग्राउण्ड म्युजिक सामान्य छ। क्यामेराको काम ध्यान एकाग्र गर्नेखालको छैन।
फिल्ममा मन छुने दृश्य भनेको आकृति साजनको छोरीको भूमिका निर्वाह गर्ने बाल कलाकार आयुषी ढकालको छ। यिनको अभिनयको प्रशंसा गर्नैपर्छ। फिल्ममा गतिलो भूमिका पाएकी कालाकार पनि उनी मात्रै हुन्।
वर्गीय खाडल र त्यसले बालबालिकाको दिमागमा पर्ने असर, गतिलो स्कुलमा पढाउने चक्करमा बालबालिका कसरी साथी बनाउन सकिरहेका छैनन्, उनीहरूको मस्तिष्कमा के कस्ता कुरा खेलिरहेका छन् भन्ने जस्ता गम्भीर विषयलाई छुस्स छोएको छ फिल्मले।
डेरादेखि घरसम्म पुग्न बाउआमामा आएको द्वन्द्वलाई चित्रमा उतार्ने काम छ आयुषीको। फिल्मको अन्त्यमा देखाइएको रुखको चित्रको भाव मर्मस्पर्शी छ।
फिल्ममा गीतको प्रयोग सही ठाउँमा भएको छ। सुरुमा बज्ने गीतले पनि पूरा फिल्मलाई न्याय गर्छ।
अन्त्यमा,
गाउँबाट पढाइको सिलसिलामा राजधानी आउने र डेरा गरी बस्ने किशोर किशोरीहरूको कथामा बनेको फिल्म छ एउटा- 'चेजिङ द रेन्बो' अर्थात् इन्द्रेणी खोज्दै जाँदा।
डेब्यु निर्देशक साहारा शर्माले डेरामा बस्नेहरूको मन छुने र त्यहाँको पात्रहरू आफूमा रिलेट गर्नसक्ने गरेर फिल्म बनाएकी छन्।
विभिन्न अर्वाडहरू समेत जितेको फिल्म युट्युबमा सजिलै हेर्न सकिन्छ। डेरामा बस्नेहरूको कथा हेर्नै मन भए यो फिल्म घरै बसीबसी हेर्नुहोला।
तर महिलालाई मजाक बनाइएको विषयमा पनि रमाउन सक्नेले 'के घर के डेरा' हेर्दा हुन्छ।
कात्तिक ५, २०७९ शनिबार १०:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।