‘आयुर्वेदिक औषधि पनि चिकित्सकको सल्लाहविना सेवन नगरौं’

‘आयुर्वेदिक औषधि पनि चिकित्सकको सल्लाहविना सेवन नगरौं’

काठमाडौं : आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायले चिकित्सकको सल्लाहविना आयुर्वेदिक औषधि सेवन नगर्न सजग गराएका छन्।

शुक्रबार धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस–२०७९ को अवसरमा विभागले आयोजना गरेको कार्यक्रममा डा. उपाध्यायले आयुर्वेदिक औषधि भन्दैमा डाक्टरको सल्लाहविना सेवन नगर्न आग्रह गरेका हुन्।

कार्यक्रममा आयुर्वेद क्षेत्रमा भएका चुनौती, आयुर्वेदसम्बन्धी सरकारी संस्थाको प्रगति तथा चुनौती, आयुर्वेद शिक्षाको अवस्था लगायतका विषयमा अन्तरक्रिया भएको थियो।

के हो आयुर्वेद र धन्वन्तरी?
आयुर्वेद ‘आयु’ र ‘वेद’ दुई शब्द मिलेर बनेको हो। आयु भन्नाले जीवन र वेद भन्नाले विज्ञान हुन्छ। व्यक्तिको जीवन सम्बन्धी समग्र अध्ययन गरिने विज्ञानलाई नै आयुर्वेद भनिन्छ।

आयुर्वेद चिकित्सा विज्ञानको प्रवर्तकका रूपमा धन्वन्तरीलाई लिइन्छ। त्यसैगरी ििचकित्सा विधाका औषध तथा रोग निदानसम्बन्धी अनुसन्धानकर्ता तथा शल्य चिकित्सालगायतका रूपमा धन्वन्तरीलाई मानिन्छ।

धन्वन्तरीले आयुर्वेद चिकित्सा विधाका साथै समग्र आयुर्वेद चिकित्सा पद्धतिको उत्थान तथा विकासका लागि अतुलनीय योगदान पुर्याएको विश्वास गरिन्छ।

तत्कालीन समयमा आयुर्वेदको आठ विभागमा अस्टाङ्ग आयुर्वेदको नाममा विकास भएको देखिन्छ। विशेषगरी धन्वन्तरी सम्प्रदायले भगवान धन्वन्तरीलाई शल्य तन्त्र (विज्ञान) को ज्ञाता तथा समस्त आयुर्वेदकै सर्जकको रूपमा लिने गरेको पाइन्छ।

कात्तिक ४, २०७९ शुक्रबार २२:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।