बुटवलको आधा सडक व्यापारीको कब्जामा, सूचना निकालेर दुई महिनादेखि मौन स्थानीय सरकार
बुटवल : अहिले बुटवल अस्तव्यस्त बनेको छ। खासगरी राजमार्ग चौराहदेखि गोलपार्कको सडक निर्माणधीन अवस्थामा रहँदा सडकमा धुलो उडेको छ। मेन क्याजब बिग्रँदा सडकमा धुलो मात्र उडेको छैन, पानी परेपछि बनेका खाडलले जोखिम बढाएको छ। सर्भिस लेन, फुटपाथ भने पूरै व्यापारीको कब्जामा छ।
ट्राफिक चोक, बसपार्क, अस्पताल लाइन, हाटबजार लाइन क्षेत्रमा ठेलाले सर्भिस लेन र फुटपाथ कब्जा गर्दा मिलनचोकदेखि चौराहसम्म पश्चिम तर्फको सर्भिस लेन र फुटपाथ अटोमोबाइल्स व्यवसायीहरूको कब्जामा छ।
दशैं तिहार जस्ता चाडपर्व लक्षित योजना उनीहरूले सडकमै टेन्ट टाँगेर प्रचार गरिरहेका छन्। त्यति मात्र होइन रिकन्डिसन व्यापारीहरूले पनि पूरै सडक छपक्क छोपिन गरी सडकमै लावालक्सर मोटरसाइकल राखेका छन्।
मुख्य क्याजब बिग्रँदा सवारी चालकको यात्रा कष्ठकर बनेको छ। फुटपाथमा हिड्ने सर्वसाधारणले पनि यस्ता व्यापारीका कारण सास्ती र हैरानी खेपेका छन्।
नियम अनुसार सडक क्षेत्रअधिकार कसैले पनि सडकको आगमनलाई कुनै किसिमको बाधा गर्न पाँइदैन। तर, नियमको धज्जी उडाउँदै व्यापारीहरूले सडकमै व्यापार गरिरहेका छन्।
काठमाडौंका नगरप्रमुख बालेन शाहले फुटपाथ हटाउँदा चौतर्फि वाहवाह पाए। तर, त्यसको प्रभाव अन्य स्थानीय तहमा देखिन सकेन। मुखमै आएकाे प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन भएकाले पनि भोट घट्ने डरले स्थानीय सरकारले आँट गर्न नसकेको सर्वसाधारण बताउँछन्।
स्थानीय जनप्रतिनिधि स्वार्थमा लाग्दा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय पनि फुटपाथ र सडक खाली गराउन अग्रसर भएको छैन। अन्य स्थानमा फुटपाथमा सवारी राख्दा जरिवानाको चिर्कटो थमाउने ट्राफिक प्रहरी प्रलोभनमा परी व्यापारीलाई सडकमै व्यापार गर्न दिइएको आरोप पनि बेला–बेला लागिरहन्छ।
दिनहुँ ओहोरदोहोर गर्ने ट्राफिक प्रहरीले फुटपाथ र सडक कब्जा गरेर व्यापार गरिरहेको देखे पनि नदेखेजस्तै गर्ने गरेको छ। चौराहदेखि योगिकुटीसम्म पनि फुटपाथ र सडक व्यापारीको कब्जामा छ। सञ्चिवी नर्सिङ कलेजले त सर्भिस लेनलाई बसपार्कनै बनाएको छ।
विद्यार्थीलाई लैजान ल्याउन प्रयोग गर्ने कलेजका बस सर्भिस लेनमा दिनहुँ राख्दा ट्राफिक प्रहरी मुकदर्शक बनेको छ। खास गरी बुटवलको कालिनगर क्षेत्र अटोमोबाइल्सको हब हो। यहाँ ८० भन्दा बढि अटोमोबाइल्सका पसलहरू छन्। ती पसलले फुटपाथ आगटेर सवारी राख्ने गरेका छन्।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख योगेन्द्र सिंह थापाले अहिले बुटवलको सडक बनिरहेकाले फुटपाथ व्यवस्था तत्काल सत प्रतिशत समाधान नभए पनि यसबारे गम्भीर ध्यानाकर्षण भएको बताए। उनले फुटपाथ व्यवस्थापन स्थानीय सरकारको अधिकार भएको भन्दै आफूहरूले समन्वय गरेर फुटपाथ र ठेला व्यवस्थापनमा लागेको उनले बताए।
‘फुटपाथ कब्जा भएमा बाध्यताले मानिस सडकमा जान्छ र दुर्घटना हुनसक्छ। त्यसैले यो विषयलाई गम्भीरताका साथ हामीले लिएका छौं। स्थानीय तहले भन्नासाथ हामी साथ दिन तयार छौं।’ उनले भने।
थापाले स्थानीय सरकार नै यस विषयमा गम्भीर भएर लाग्नुपर्ने बताए। पार्किङ व्यवस्थापनका लागि अस्पताल लाइनको खाली जग्गामा व्यवस्था गरेर भए पनि पार्किङ केही सहज बनाएको उल्लेख गर्दै उनले ठेलाहरू पनि अब क्रमश सडकबाट हट्ने बताए।
ठेलाको उस्तै विगविगी
बुटवल उपमहानगरले २४ भदौमा ३ दिनको म्याद तोकेर सडक तथा फुटपाथ अधिकार क्षेत्रभित्रका सामग्रीहरू, ठेला व्यवसाय, वर्कसप तथा पार्किङ लगायत खाली गर्न सूचना गर्याे। तर, कार्यान्वयनमा जान सकेन।
बुटवल उपमहानगरपालिकाले गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख खेलराज पाण्डेयले ठेला हटाउनका लागि व्यवसायीलाई छलफलमा बोलाए पनि चाडपर्वको समयमा मानवता हेरेर उक्त निर्णयबाट पछि हटेको बताएका थिए। ठेलाले अहिले अस्पताल लाइनमा हिड्न मुस्किल भइरहेको छ।
ठेला मात्र होइन, हाटबजार व्यवसायीले पनि फुटपाथमै बजार लगाउँदा बुटवल झन् अस्तव्यस्त बनेको छ। पछिल्लो समय त तिनकुनेलाई व्यापारीले नयाँ हाटबजार जस्तै बनाउन थालेका छन्।
हाटबजार व्यवसायीका अध्यक्ष टेक बहादुर जिसीले फुटपाथ छाडेर सेड लगाउन व्यापारीहरूलाई बारम्बार आग्रह गरिएको बताए। उनले पहिलेको तुलनामा क्रमश सुधार हुँदै गएको दावीसमेत गरे।
बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले यस क्षेत्रका ठेलाहरूलाई व्यवस्थित गर्दै लैजाने योजना बनाएको बताए।
पन्थीले केही ठेला जफत समेत भइसकेको भन्दै छिट्टै अस्पताल लाइन, बसपार्क, ट्राफिक चोक लगायतका क्षेत्रबाट पनि ठेला हटाउने बताए। उनले ठेला व्यवस्थापनको कुनै पनि कार्यविधि नबनेकाले स्थायी व्यवस्थापनमा चुनौती रहेको उनको भनाइ छ।
कात्तिक ४, २०७९ शुक्रबार २१:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।