अनौठो व्यक्ति देख्नासाथ शौचालय गएर क्यारिकेचर गर्न थाल्छन् हरिवंश; 'हरिबहादुर', 'वन पाले' र 'वडा अध्यक्ष' सबै वास्तविक पात्र
मित्रताको कुरा गर्दा होस् या नेपाली हास्यव्यङ्ग्यको सधैँ आउने नाम हो- मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य। 'मह जोडी' नामले चर्चित यी जोडी अहिले मह सञ्चारमार्फत् फिल्म, टेलिफिल्मदेखि विभिन्न प्रोजेक्टहरूमा काम गरिरहेको छ।
यतिबेला हरिवंश आचार्यको प्रमुख भूमिका रहेको फिल्म 'महापुरुष' प्रर्दशनको संघारमा छ। कात्तिक ११ गतेबाट फिल्म प्रदर्शन हुँदैछ। यस अगाडिको फिल्म 'दाल भात तरकारी' ब्यवसायीक रुपमा सफल मानिए पनि अभिनयका हिसाबमा भने यी जोडी सुहाउँदो थिएन। आगामि फिल्ममा भने सक्दो मिहिनेत गरेको दाबी गर्छन् आचार्य।
अभिनयको लामो यात्रामा उनले कहिले महिला, कहिले पुरुष, कहिले बाठो मानिस, कहिले सोझो यस्ता धेरै चरित्रमा अभिनय गरेका छन्। 'हरिबहादुर', 'वन पाले', 'वडा अध्यक्ष' जस्ता चरित्र त मानिसको दिमागमा गहिरोसँग बसेको छ।
यी पात्रका लागि हरिवंशले कृतिम हैन प्राकृतिक वर्कशप गरेन। तर महापुरुषमा निर्वाह गरेको पात्रका लागि भने उनले कृतिम वर्कशप गर्नैपर्यो।
'फिल्मको चरित्रमा घुस्न वर्कशपले निकै मद्दत गर्ने रहेछ', हरिवंशले भने, 'म महापुरुषको "बा" पात्रमा निर्देशकले भनेजस्तो हुनै सकेको थिइनँ। हसाउनका लागि आँखा ठूलो बनाउने, मुख आँ पार्ने जस्ता कार्य थाहै नपाई आउँदो रहेछ। यसले पात्रलाई लाउड बनाउने रहेछ। तर विस्तारै, नम्र तरिकाले बोल्ने 'बा' फिल्ममा देखाउन धेरै मेहनत गर्नुपर्यो।'
अभिनयको लामो अनुभव भए पनि यो फिल्मको चरित्रको अभिनयमा उनी धेरै नर्भस भए रे। नर्भसहुँदा पिसाब लागेको लागेकै जस्तो भएको ठट्यौली पारामा अनुभव सुनाए उनले।
हरिवंशले पुरानो दिन सम्झँदै भने, 'पहिले कथा लेख्ने, स्क्रिप्ट लेख्नेदेखि संवाद लेख्नेसम्मको काम आफैँ गर्नुपर्थ्यो। त्यसैले लेख्दालेख्दै पात्रमा कलाकार घुसिसक्थ्यो। गाह्रो हुन्थेन। अहिले वर्कशपबिना गतिलो काम गर्न नसकिने रहेछ।'
'मैले केही गर्नै पर्दैन, उद्घोषकले अब आउँदै हुनुहुन्छ हरिबहादुर भन्छ। अनि स्टेजमा उक्लेर "एहे" गरे मात्रै पनि दर्शक हास्न थालिहाल्छन्।'
उनी अलि अनौठो पाराले बोल्ने कोही भेटे भने आफू अभ्यासमा लागिहाल्छन्। पहिले-पहिले दिमागमै याद गरेर रमाइला व्यक्तिको बोली राख्नुपर्थ्यो। अहिले प्रविधिले सजिलो बनाएको उनको ठम्याइ छ।
हरिवंशले भने,'अहिले यहाँ कोही मानिसको बोली अनौठो लाग्यो, फरक लाग्यो भने म शौचालय गइहाल्छु। मोबाइल निकाल्छु, सेल्फी मोडमा भिडियो रेकर्ड गर्छु र त्यो मानिसको क्यारिकेचर गर्न थाल्छु।'
मदनबहादुर हरिबहादुर
हरिबहादुर एकदमै चर्चित पात्र हो उनको अभिनय जीवनको। र यो पात्र हरिवंशका लागि निकै सजिलो चरित्र हो रे।
उनले भने, 'मैले केही गर्नै पर्दैन, उद्घोषकले अब आउँदै हुनुहुन्छ हरिबहादुर भन्छन्। अनि स्टेजमा उक्लेर "एहे" गरे मात्रै पनि दर्शक हास्न थालिहाल्छन्।'
कोरोनाको समयमा आफूले साना बालबालिकालाई अनलाइनबाट पढाउँदाको क्षण सम्झँदै उनले भने, 'त्यति धेरै विद्यार्थीहरू थिए, उनीहरूलाई "ल हरिबहादुर बन त" भन्यो, जति विद्यार्थी छन्, त्यतिथरीका हरिबहादुर निस्कियो। थरीथरीका हरिबहादुरको चरित्र फरक स्टेजमा गर्न पाइयो।'
१२, १३ वर्षदेखि आफूलाई निकै सजिलो हुँदै आएको उनको भनाइ छ।
यो पत्र कसरी निर्माण भयो त? हरिवंश भन्छन्, 'हाम्रो कार्यलयमा एक जना कमल सिलवाल भन्ने मानिस काम खोज्दै आए। उसको कुरा गर्ने तरिका निकै हाँसो उठ्दो थियो। मान्छे हेरेरै उसलाई हामीले काममा राख्यौं। उसको हरेक कुराहरू मैले कपी गरिरहन्थें। जहाँ अलि धेरै हाँसो उठ्थ्यो, त्यो कुरा नोटमा पनि उतारिहाल्थें। पछि ऊ मेरो नजिक आउँदा निकै कन्सियस भएर बोल्ने भएको थियो। सकेसम्म त्यो लवज लुकाउन खोज्थ्यो।'
ती मानिस सास तानेर बोल्थे हरिवंशले चाहिँ वन पालेको चरित्रमा सास फालेर बोले। यो पात्रको आवाज निकाल्ने काम निकै गाह्रो भएको हरिवंशले बताए। उनले भने, 'एकैछिन धेरै बोल्यो भने पछाडिपट्टी गर्धन हुँदै छाती दुख्न थाल्छ। त्यसैले छायाङ्कनको समयमा लामो टेक नलिएर छोटो छोटो टेक लिन्थ्यौँ।'
'मदनबहादुर हरिबहादुर' टेलिभिजनमा प्रर्दशन हुँदा कमल सिलवालले जागिर छाडिसकेका थिए। अनि हरिवंशले उनलाई फोन गरेर सोधे, 'कमल हिजोको फिल्म हेर्यौ त?'
हरिबहादुरकै लवजमा 'हेरेँ सर' भने। त्यो उनको प्राकृतिक आवाज थियो।
'अनि कस्तो लाग्यो त भनेँ। उसले "ए सर सबैले मेरै गरेको भन्छ, मलाई त रोयल्टी चाहिन्छ सर" भन्यो', हरिवंशले सुनाए।
वन पालेको चरित्र
वन पालेमा निर्वाह गरेको पात्र धेरै दर्शकको मनपर्ने चरित्र हो उनको। हरिवंशका अनुसार त्यो चरित्र वास्तविक पात्र थिए।
'डिल्लीबजारको मलपोतअगाडि एउटा मानिस मुद्दा हाल्न उकासिरहेको थियो। उसको स्वर अनौठो लाग्यो। त्यसलाई मैले टिपिहालेँ', उनले भने।
ती मानिस सास तानेर बोल्थे हरिवंशले चाहिँ वन पालेको चरित्रमा सास फालेर बोले। यो पात्रको आवाज निकाल्ने काम निकै गाह्रो भएको हरिवंशले सुनाए।
उनले भने, 'एकैछिन धेरै बोल्यो भने पछाडिपट्टी गर्धन हुँदै छाती दुख्न थाल्छ। त्यसैले छायाङ्कनको समयमा लामो टेक नलिएर छोटो छोटो टेक लिन्थ्यौँ।'
यही कारण वन पालेको भूमिका सोचेभन्दा कम बनाइएको उनले बताए।
म भैरवबहादुर थापालाई भेट्दा सधैँ एक आँखा चिम्म गरेर बोल्थेँ। आफू जस्तै रहेछ भन्ने ठानेर उहाँले मलाई निकै माया गर्नुहुन्थ्यो।
वन पाले छायाङ्कनको समयमा अहिलेजस्तो 'एड्भान्स टेक्नोलोजी' थिएन। माइक र क्यामरा भए पुग्थ्यो रे। डबिङ गरिँदैन थियो। पैसा पनि पुग्दैन थियो। त्यसैले त्यो बेलामा आवाज सुनिनका लागि थप चर्को तरिकाले बोल्नुर्ने हरिवंशले बताए।
कान्तिपुरको वडाध्यक्ष
'कान्तिपुर' भन्ने टेलिश्रृङ्खलामा हरिवंशले निर्वाह गरेको वडा अध्यक्षको चरित्र सम्झेर उनी आफै हाँसे। यो चरित्र उनले नेपाली फिल्मकी नायिका भुवन थापा चन्दका बुबा उस्ताद भैरवबहादुर थापाबाट सिको गरेका थिए।
उनले यो चरित्रको रमाइलो किस्सा सुनाए। भने, 'नारायणहिटीबाहिर नारायणथानको मन्दिर छ। त्यहाँ एकादशी, पूर्णिमा लगायतका दिनमा भजन गाउने चलन थियो। स्पिकर राजदरबारतिर फर्काएर राखिन्थ्यो अनि भजन गाइन्थ्यो। राजाहरू दरबारभित्रैबाट भजन सुन्थे। कहिलेकाहीँ राजाहरू भजन हेर्न, सुन्न पनि आउँथे।'
त्यही समयमा उस्ताद भैरवबहादुर थापाको गीत गाउँदाको तरिका उनले क्यारिकेचर गरेका रहेछन्। उनको एक आँखा बन्द थियो। एउटा आँखाले मात्रै हेर्थे। उनको व्यक्तित्व हरिवंशलाई रोचक लाग्ने गर्दथ्यो।
उनले हाँस्दै भने, 'कतिसम्म भएको छ भने, म भैरवबहादुर थापालाई भेट्दा सधैँ एक आँखा चिम्म गरेर बोल्थेँ। आफू जस्तै रहेछ भन्ने ठानेर उहाँले मलाई निकै माया गर्नुहुन्थ्यो।'
तर यो माया धेरै दिन टिकेन। एकादशीकै दिन थियो। उनलाई छेउछाउमा नदेखेपछि हरिवंश दुवै आँखा हेरेर भजन सुनिरहेका थिए। तर भैरवबहादुरले त्यो देखेछन्।
उनलाई देखेपछि हरिवंशले फेरि आँखा बन्द गरे। तर उनले थाहा पाइहाले।
हरिवंशले हास्दै भने, 'मैले पहिलेजस्तै कुरा गर्न खोजेँ तर उहाँ ठुस्केर बोल्दै बोल्नुभएन। तीन चार दिनपछि उहाँसँग मेरो भेट पुतलीसडकमा भयो। एउटा आँखा बन्द गरेर नमस्ते भनेको उहाँले "इस् नमस्ते" भनेर बाटो लाग्नुभयो। उहाँको त्यही जीवनशैली नै मैले पर्दामा उतारेको हुँ।'
अर्काको नक्कल गर्दा अक्कल लगाउनुपर्छ
हरिवंशले धेरै मानिसहरूको नक्कल गरे। बोली, हाउभाउ, हिँडाइ सबै कुराहरूमा उनले आफूले देखे-भेटेको पात्रहरू समेटे।
तर यसरी अरूको नक्कल गर्दा त्यसको दीर्घकालीन असर हेर्नुपर्ने उनी बताउँछन्।
उनी भन्छन्, 'मैले र मदनकृष्णले नेवारबहादुर, बाहुनबहादुर भन्ने पात्र निर्माण गर्यौँ। यो पात्र यदि मैले बाहुनबहादुर र मदन दाइले नेवारबहादुर पात्र निर्वाह गरेको भए समाजलाई पाच्य हुँदैनथ्यो।'
कात्तिक ४, २०७९ शुक्रबार १२:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।