'नालापानी', 'के घर के डेरा' र 'ब्ल्याक एडम' हलमा, कुन हेर्ने ?
काठमाडौं: आज शुक्रबार। सिनेमाघरमा नयाँ चलचित्र लाग्ने दिन।
आजबाट दुई नयाँ नेपाली चलचित्र 'नालापानी', 'के घर के डेरा' र एक हलिउड चलचित्र 'ब्ल्याक एडम' प्रदर्शनमा आएको छ।
'नालापानी' नेपाल र अङ्ग्रेजविरुद्धको युद्धको कथा हो। नालापानी किल्लामा कप्तान बलभद्र कुँवर र उनका सेनाले बहादुरीपूर्वक लडेको घटना फिल्मको कथा हो।
फिल्मका निर्देशक रिमेश अधिकारी हुन्। कलाकारहरूमा अर्जुनजङ्ग शाही, सन्तोष पन्त, देशभक्त खनाल, पूजना प्रधान रहेका छन्। ऐतिहासिक कथा हेर्न र नेपालको इतिहास बुझ्न चाहनेलाई यो फिल्मले दुई घण्टा मनोरञ्जन दिनसक्छ।
यस्तै के घर के डेराले काठमाडौंमा आम मान्छेले भोग्ने समस्या देखाएको छ। कमेडी विधाको यो फिल्मले काठमाडौंमा घर हुने र नहुनेको दुःख देखाएको छ।
फिल्मका निर्देशक दीपेन्द्र के. खनाल हुन्। कलाकारहरूमा दयाहाङ राई, सुरक्षा पन्त, लक्ष्मी गिरी, विपीन कार्की, वर्षा राउत, रवीन्द्र झालगायत छन्। हास्यव्यङ्ग्य रुचाउने दर्शकलाई २ घण्टा १० मिनेटको यो फिल्म रोचक हुनसक्छ।
नेपालमा हलिउड चलचित्रका पारखी पनि उत्तिकै छन्। त्यसमाथि ड्वेन जनसन (रक) को फ्यान पनि नेपालमा राम्रै छन्। उनै रकको फिल्म 'ब्ल्याक एडम' आजबाट हलमा लागेको छ।
फिल्मका निर्देशक जुवामे कोलेट सेरा हुन्। कलाकारहरूमा रक, भिओला डेभिस, सारा शाहीलगायत छन्।
एक्सन, फेन्टेसी र साइ-फाइ विधामा बनेको यो फिल्म दुई घण्टा चार मिनेट लामो छ। सुपर हिरो विधाका फिल्म हेर्न रुचाउनेलाई यो फिल्म राम्रो खुराक हुनसक्छ।
कात्तिक ४, २०७९ शुक्रबार ११:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।