हरिवंशको पहिलो श्रीमती बित्दाको क्षण सम्झेर भक्कानिए प्रदीप भट्टराई

हरिवंशको पहिलो श्रीमती बित्दाको क्षण सम्झेर भक्कानिए प्रदीप भट्टराई

काठमाडौं: 'कमेडी च्याम्पियन' नामको रियालिटी शोको निर्णायकको कुर्सीमा नबसुञ्जेल प्रदीप भट्टराईलाई कमैले चिन्थे। जात्रा, शत्रु गते, जात्रै जात्रा जस्ता हिट फिल्म निर्देशन गरिसकेका प्रदीपले 'लो प्रोफाइल'मा बसेर धेरै उच्च तहका काम भने गरिसकेका थिए।

तर, जब उनी कमेडी च्याम्पियनको निर्णायक बने, धेरैले चिने। प्रदीप सबैको प्रिय जज् पनि भए। हसाउने कार्यक्रममा प्रदीपको सिरियसनेस, बोल्ने शैलीले धेरैलाई उनको फ्यान बनायो। ‘तपाईं हामीलाई चाहिने मान्छे हो’ भन्ने संवाद बोले मात्रै पनि दर्शक हासे।

उनको साधारण जीवनशैलीसँग जोडिएको पुरानो मोटरसाइकल सधैँ 'कन्टेस्टेन्ट'का लागि जोकको 'कन्टेन्ट' बन्यो।

'मह सञ्चार'मा लामो समय बिताएका प्रदीपलाई यतिबेला हरिवंश र मदनकृष्णको बिँडो धान्ने मानिस समेत भन्न थालिएको छ।

उनै प्रदीपले अहिले भने हरिवंशसँगको आफ्नो निकटता खुलाएका छन्। प्रदीपका अनुसार हरिवंशको पहिलो श्रीमतीको मृत्यु हुँदा, १३ दिनसम्म घर कुर्ने काम प्रदीपले नै गरेका थिए।

'भाउजु नहुँदाको एक-एक घटना थाहा छ मलाई। १३ दिनसम्म भाउजु बितेपछि घर रुँगेकै मैले हो', उनले भने। यति भन्दाभन्दै प्रदीप भक्कानिए। छेउमै भएका हरिवंशले उनलाई सम्हाल्न खोजे। 'नरुनु' भन्दै थपथपाए। अनि श्रीमतीको देहान्तपछि आफू अहिलेसम्म आफू बस्ने गरेको कोलोनीमै नछिरेको पनि उनले भने।

अनि फेरि प्रदीपले त्यसबेलाको पीडा सुनाउन थाले। उनले त्यसबेला एक्लै घर रुँग्दा फ्रिजको आवाज आउँदा पनि आफू तर्सिने गरेको बताए।

कात्तिक ४, २०७९ शुक्रबार १०:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।