‘माफी मागेँ, भिडियो पनि हटाएँ, अब मैले समुदाय छोड्नुपर्ने कि मर्दिनुपर्ने?’

‘माफी मागेँ, भिडियो पनि हटाएँ, अब मैले समुदाय छोड्नुपर्ने कि मर्दिनुपर्ने?’
तस्वीर- ईकान्तिपुर

काठमाडौं : कमेडियन अपूर्व क्षितिज सिंहले आफूलाई काठमाडौंमा बस्न पनि डर लागेको बताएका छन्।

बिहीबार धरौटीमा रिहा भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले आफूलाई काठमाडौंमा बस्न पनि डर लागेको बताएका हुन्।

उनले भने, ‘मलाई काठमाडौंमा बस्न पनि डर लाग्छ, तर म बस्छु।’

कमेडियन सिंहले आफूले माफी मागिसकेको र भिडियो हटाइसकेको अवस्थामा अब गर्नुपर्ने के हो भनेर प्रश्न सोधेका छन्।

‘रिसाउनुभएकाहरूको लागि मैले के गर्नुपर्छ, मैले अझै पनि बुझिराको छैन,’ उनले थपे, ‘मैले माफी माग्नुपर्ने माफी मागेँ, भिडियो हटाउनुपर्नेथियो हटाएँ, अब यो कुरालाई बढाएर कहाँसम्म लैजाने?, म मर्दिनुपर्ने हो कि? मैले समुदाय छोडेर यो कुराको अन्त्य हुने हो कि? के चाहिएको नै बुझ्न सकिराको छैन।’

सार्वजनिक शान्ति विरुद्ध र जातिय भेदभाव तथा छुवाछुत सम्बन्धी कसूर र सामाजिक रितिस्थितिमा खलल पुर्याएकाे सम्बन्धी कसूरमा मुद्दा दर्ता भएका उनलाई काठमाडाैं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको एकल इजलासले बिहीबारको थुनछेक बहसपछि साढे दुई लाख धरौटीमा छाड्न आदेश दिएकाे थियाे।

युट्युबमा स्ट्याण्ड अप कमेडी शो ‘कमेडी सर्कल’  सञ्चालन गर्दै आएका उनले नेवाः समुदायलाई होच्याउने गरी विषयवस्तु प्रसारण गरेको भन्दै उजुरी परेपछि पक्राउ गरि अनुसन्धान गरिएको थियो।

 

कात्तिक ३, २०७९ बिहीबार २१:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।