फिल्म बन्ने नै निश्चित नभएको प्रसाद-२ मा नम्रताको साटो केकी
काठमाडौँ : फिल्म बनाउन आवश्यक बजेटको प्रबन्धै नगरी फ्लोरमा जाँदा सुटिङ सुरु नै नगरी फर्कनुपरेको फिल्म प्रसाद-२ मा नम्रता श्रेष्ठले कुनै हालतमा अभिनय नगर्ने भएपछि केकी अधिकारी अनुबन्ध भएकी छिन्।
विवाह गरेर वैवाहिक जीवनमा रमाइरहेकी केकीका लागि प्रसाद-२ को यात्रा भने त्यति सहज देखिँदैन। पहिलो त प्रसादका निर्माता सुवास थापाले फिल्म निर्माण गर्ने भनेर हल्ला गर्दै हिँडे पनि नयाँ निर्माता केशव पाण्डेसँगको लेनदेन अझैँ मिलाउन सकेका छैनन्।
फिल्ममा आर्थिक सहकार्य गर्ने भन्दै नयाँ निर्मातालाई उनको भागको लगानी गर्न लगाएपछि थापाले आफूसँग पैसा नभएको बताएपछि नै फिल्ममा लफडा सुरु भएको थियो। विश्वस्तस्रोतका अनुसार सो लेनदेन अझैँ मिल्न सकेको छैन।
निर्माण टिमका एक सदस्यका अनुसार सुवासले ७० लाख बढी रकम फिर्ता नगरी फिल्म निर्माणको काम अगाडि बढ्ने सम्भावना छैन। तर तत्काल थापा पैसा फिर्ता गर्न सक्ने अवस्थामा छैनन्।
मुख्य लफडा निर्देशक सुदर्शन थापा र कलाकार विपिन कार्कीबिच सुरु भएको थियो। विपिन फ्लोरबाट फिर्ता आएपछि कुनै हालतमा थापासँग काम नगर्ने पक्षमा थिए। तर सुवास थापा निर्माता सङ्घ गएपछि कार्की फिल्ममा अभिनय गर्न राजी छु भनेर हिन्दी फिल्मको सुटिङका लागि भारत गएका छन्।
‘झिँगे दाउ’बाट अनपेक्षित सकारात्मक प्रतिक्रिया आए पनि नयाँ प्रोजेक्ट नआएर बेरोजगार रहेकी केकीका लागि प्रसाद-२ आकर्षक प्रस्ताव हुने नै भयो।
तर निर्माण टिमका लागि केकी नम्रतापछिको पहिलो रोजाइ भने थिइनन्। ऋचा शर्मा पहिलो रोजाई भए पनि उनले अस्वीकार गरेपछि केकीले मौका पाएकी हुन्।
पहिलो फिल्मलाई दर्शकले रुचाएको र त्यसैको सिक्वेल बनाउने भएकाले निर्माण समूहले आर्थिक र कानुनी लफडा मिलाएर फिल्म बनाए केकीका लागि प्रसाद-२ ले अनपेक्षित सफलता दिलाउन पनि सक्छ।
तर निर्माण पक्षले जति दाबी गरे पनि अहिलेसम्म तत्काल फिल्म फ्लोरमा जाने सम्भावना देखिएको छैन। सुवास समूहले लेनदेन नमिलाई फ्लोरमा लैजाने प्रयास गरेमा उनी सुटिङ स्थलमा भन्दा प्रहरी हिरासतमा पुग्ने जोखिम बढी देखिन्छ।
कात्तिक ३, २०७९ बिहीबार २१:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।