चितवन मेडिकल कलेजको प्रयोगशालालाई विशिष्ट श्रेणीको मान्यता
चितवन: चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालको प्रयोगशालाले विशिष्ठ श्रेणी (ए क्याटागोरी)को मान्यता प्राप्त गरेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (नेशनल पब्लिक हेल्थ ल्याब्रोटरी)ले उक्त मान्यता प्रदान गरेको हो।
काठमाडौंबाहिर यो मान्यता प्राप्त गर्ने सीएमसी पहिलो हो।
सीएमसी शिक्षण अस्पतालले आज पत्रकार सम्मेलन आयोजना गर्दै राजधानी बाहिर र मेडिकल कलेजमध्ये आफू पहिलो रहेको दावी गरेको हो। अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ अनुसार ‘ए’ ग्रेडको प्रयोगशालाका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी मान्यता पाएको बताए।
प्रयोगशालाले विशिष्ट श्रेणीको पूर्ण सुरक्षित भवन र त्यसभित्र आवश्यक पर्ने नमूना सङ्कलन, प्रतीक्षालय, बैठक कक्ष, कार्यालय क्षेत्र, भण्डार, शौचालयलगायतको व्यवस्था गरेको छ। न्यूनतम ३० मध्ये ५० प्रतिशत जनशक्ति स्नातक अथवा सोभन्दा माथिको योग्यताको हुनुपर्ने प्रावधान रहेको भए पनि सीएमसी प्रयोगशालामा तोकिएभन्दा बढी दक्ष जनशक्ति रहेको पनि उनको दावी छ।
यस मेडिकल कलेजले यसअघि नै आईएसओ १५१८९ः२०१२ प्राप्त गरिसकेको छ। देवकोटाका अनुसार नेपालमा हुने सबै खालका परीक्षण सीएमसीमा गर्न सम्भव छ।
विशिष्ट श्रेणीको प्रयोगशालाको हैसियतले सीएमसी प्रयोगशालाले अन्य प्रयोगशालामा नहुने विशिष्ट जाँच पनि यसअघिदेखि नै गर्दै आएको छ। योसँगै अब सीएमसीमा परीक्षण हुन नसकेर नमूना विदेश पठाउनुपर्ने अवस्थाको अन्त्य भएको छ।
सीएमसी प्रयोगशालामा यसअघि नै हरेक परीक्षण स्टान्डर्ड ओपरेटिङ सिस्टम (एसओपी) अनुसार र गुणस्तर म्यानुअलअनुसार परीक्षण गर्ने भएकाले यसलाई अझै प्रभावकारी बनाउँदै लैजाने प्रयोगशाला प्रमुख सञ्जयराय यादवले बताए। उनले भने, “प्रयोगशाला स्वाथ्य सेवाको अभिन्न अङ्ग हो। प्रयोगशालाको नतिजाका आधारमा नै रोगको पहिचान र उपचार सहज हुन्छ।”
अस्पतालका निर्देशक डा दयाराम लम्सालले प्रयोगशाला उच्च गुणस्तरको नहुँदा बिरामीलाई उपचारमा कठिनाइ हुने भएकाले ठूलो लगानीमा विशिष्ट किसिमको प्रयोगशाला आफैँले बनाएको बताए। उनले भने, “राजधानी बाहिर यस्तो प्रयोगशाला अन्यत्र छैन, राजधानीमा हुने सबैखाले परीक्षण हामी गर्छाैँ।”
अन्य अस्पताल र प्रयोगशालालाई पनि यो प्रयोगशाला उपयोगी हुने उनको भनाइ छ। देशभरकै मेडिकल कलेजमा धेरै बिरामी उपचार गर्ने अस्पतालका रूपमा चितवन मेडिकल कलेजलाई चिन्ने गरिन्छ।
कात्तिक ३, २०७९ बिहीबार १३:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।