शाहरुख-सलमानको दिन गयो, अल्लु अर्जुनको 'पुष्पा २' बन्यो सर्वाधिक प्रतीक्षित फिल्म
एजेन्सी: सन् २०२३ को सर्वाधिक प्रतीक्षित भारतीय फिल्म कुन होला? बलिउडका बादशाह भनिने शाहरुख खान र बलिउडका भाइजान भनिने सलमान खान दुवैको फिल्म सन् २०२३ मा रिलिज हुँदैछ।
शाहरुखको 'पठान' र सलमानको 'टाइगर ३' जस्तो बहुप्रतीक्षित फिल्म आउँदो वर्ष रिलिज हुँदैछ। तर पनि यी फिल्म सर्वाधिक प्रतीक्षा गरिएका फिल्म भने होइनन्।
उमेर ढल्किँदै गएका र आउटडेटेड कन्टेन्ट अनि आफूभन्दा झण्डै आधा उमेर कमका हिरोइनसँग अनस्क्रिन रोमान्स गर्ने यी कलाकारको दिन अब सकिएको छ। बलिउड नै दक्षिण भारतीय फिल्मको चपेटामा परेर सङ्कटग्रस्त हुँदा बलिउडका कलाकार पनि विस्तारै दक्षिण भारतीय फिल्मका कलाकारको अघि फिक्का सावित भइरहेका छन्।
यस्तै भयो सन् २०२३ को सर्वाधिक प्रतीक्षित चलचित्रको सवालमा पनि। ठूला स्टार र ठूला ब्यानरका फिल्मलाई पछि पार्दै दक्षिण भारतीय कलाकार अल्लु अर्जुनको 'पुष्पा २' 'मोस्ट अवेटेड फिल्म' बनेको छ।
यस फिल्मको पहिलो भागले नै हिन्दी बेल्टमा मात्र १०० करोड भारुको कमाइ गरेको थियो। विश्वभर यसले ३५० करोड भारु कमाएको थियो। नेपालमा समेत 'पुष्पा' ब्लकबस्टर भएको थियो।
मिडिया कन्सल्टिङ एजेन्सी 'ओरम्याक्स'ले जारी गरेको सूचीमा पुष्पा २ ले सबै फिल्मलाई पछि छोड्दै सर्वाधिक प्रतीक्षित बनेको छ। यो सूचीको दोस्रोमा 'पठान', तेस्रोमा 'टाइगर ३', चौथोमा शाहरुखकै 'जवान' र पाँचौँमा पनि शाहरुखकै 'डंकी' छन्।
कात्तिक ३, २०७९ बिहीबार ०९:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।