दर्शकको हातमा पुग्नु अगाडि नै ढुसी परेको फिल्म प्रसाद-२

दर्शकको हातमा पुग्नु अगाडि नै ढुसी परेको फिल्म प्रसाद-२

काठमाडौँ : भक्तजनको हातमा पुग्नु अगाडि नै प्रसाद ढुसी पर्यो भने के हुन्छ ? अहो प्रसाद पो हो भनेर स्वीकार होला कि यसो चोखो ठाउँ खोजेर मिल्काउलान्?

यही समस्या देखिएको छ फिल्म प्रसाद-२ को हकमा। फिल्म घोषणा गरेर छायाङ्कनमा गएर फर्किएदेखि नै फिल्ममा एकपछि अर्को लफडा बढ्दा प्रसाद-२ बन्नु अगाडि नै ढुसी पर्ने जोखिम बढेको छ।

जानकारस्रोतका अनुसार यसको कारणमा फिल्मका निर्मातादेखि निर्देशकसम्म जोडिएका छन्। नयाँ निर्माता भित्र्याएर इमान्दारीतासाथ काम गर्नेभन्दा मुर्गा बनाउने रणनीति बनाउने, आफ्ना नजिकका प्राविधिक टिमलाई महँगोमा अनुबन्ध गराउने र आफूले नभनी फिल्ममा काम नगराउने, विना लगानी लगानीको सेयर माग्ने लगायतका लफडाले फिल्म बन्नु अगाडि नै ब्यानर र टाइटलै बदनाम भइसकेको छ।

पछिल्लो समय नायक विपिन कार्कीसँग सहमति गरेर निर्मातामध्येका सुवास थापाले फिल्म निर्माणको काम अगाडि बढाउने तयारी गरेका छन्। तर फिल्मसँग जोडिएका नयाँ निर्मातासँग अझै सहमति हुन सकेको छैन।

प्रसाद-२ मा भएका मुख्य तीन कलाकारमध्ये अहिले सुवाससँग विपिन मात्र राजी छन् फिल्म खेल्न। हस्ताक्षर गरे पनि नायिका नम्रता अर्कै फिल्मसँग सेड्युल जुधेको भनेर फिल्मबाट ब्याक भइसकेकी छिन्।

कार्की पनि सकेसम्म निर्देशक सुदर्शन थापासँग काम गर्ने पक्षमा देखिएका छैनन्। उनी अहिले हिन्दी फिल्ममा अभिनय गर्न मुम्बइमा छन्।

अर्का मुख्य कलाकार निश्चल बस्नेतले पहिल्यै फिल्मबाट हात झिकिसकेका छन्। उनको स्थानमा अर्पण थापालाई लिइएको छ। मुख्य तीन कलाकारमध्ये एक जना मात्रै राजी भएको अनि फिल्म निर्माणको लगानीको कानुनी पाटोको विवाद अझैँ उस्तै रहेकाले सुवास एक्लैले चाहेर फिल्म निर्माणको काम उनले हल्ला गराए जस्तो तत्काल अगाडि बढ्ने देखिँदैन।

कात्तिक २, २०७९ बुधबार २०:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।