जर्मनीका ६० विशेषज्ञ चिकित्सकले गरे नर्भिक अस्पतालको अवलोकन भ्रमण
काठमाडौं : जर्मनीका विभिन्न अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरूको एक टोलीले मंगलबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलको अवलोकन भ्रमण गरेको छ।
बिदा मनाउन नेपाल आएका जर्मनीका ६० विभिन्न विशेषज्ञ चिकित्सकहरूले नर्भिक इन्टरनेशनल हस्पिटलको अवलोकन भ्रमण गरेका हुन्।
टाेलीलाई नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले खादा लगाएर स्वागत गरेका थिए। नर्भिकको व्यवस्थापन टोलीले जर्मनी चिकित्सकहरूलाई अस्पतालले प्रवाह गर्दै आएको आकस्मिकदेखि सघन उपचारसम्मका सेवाहरूको विषयमा स्थलगत अवलोकन गराएर जानकारी दिएको थियो।
सो क्रममा नर्भिक अस्पतालको इमरजेन्सी विभागका इञ्चार्ज ओमर प्रधानले अस्पतालले आकस्मिक हवाई उद्धार सेवा सञ्चालन गरिरहेको र काठमाडौंस्थित अन्तराष्ट्रिय विमानस्थलबाट निकै छोटो समयमै अस्पतालसम्म बिरामीलाई ल्याएर आकस्मिक सेवा दिने व्यवस्थापन मिलाइएको लगायतका विषयमा जानकारी दिए।
सो क्रममा नर्भिकका अधिकारीहरूले अस्पतालले अन्तर्राष्ट्रिय क्षेत्रका बिरामीहरूको उपचार सेवामा पुर्याउँदै आएको योगदान, दिँदै आएको सेवा लगायतका विषयमा समेत टोलीलाई जानकारी गराएका थिए।
टोलीमा सहभागी जर्मन चिकित्सकहरूले नेपालमा समेत नर्भिक इन्टरनेशनल हस्पिटलजस्तो आधुनिक अस्पताल रहेकोमा खुसी व्यक्त गर्दै नामजस्तै अस्पतालले प्रवाह गर्ने सेवा पनि अन्तर्राष्ट्रिय स्तरकै रहेको पाइएको बताएका थिए।
कात्तिक १, २०७९ मंगलबार २०:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।