प्रदेश १ मा सत्ता गठबन्धनलाई एमालेसँगै बागीको चुनौती
मोरगं : अन्य प्रदेशको तुलनामा प्रदेश नम्बर १ मा एमाले विभाजनको सबैभन्दा कम प्रभाव परेको थियो। तर यही प्रदेशमा सत्ता गठबन्धनका लागि एमालेका उम्मेदवार त भयो नै सत्ता गठबन्धन दलकै बागीहरू मुख्य चुनौती बनेका छन्।
त्यसमा पनि अधिकांश नेपाली कांग्रेसका नेताहरू गठबन्धन दलका उम्मेदवार विरुद्ध बागी बनेका छन्।
निर्वाचनको मुखैमा इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकालाल चौधरी माओवादी केन्द्रमा प्रवेश गरेर सुनसरीको क्षेत्र नं. २ (१) को उम्मेदवार बनेपछि कांग्रेसका दीपेन्द्र घिमिरेले बागी उम्मेदवारी दिए।
कमजोर क्षेत्र भए पनि चौधरीका लागि मात्र प्रदेशको टिकट माओवादीलाई दिएको भन्दै उनी आफ्नै पार्टीको निर्णय विरुद्ध उभिएका हुन्।
मोरङ ३ मा कांग्रेसका गणेशप्रसाद पोखरेल र महाधिवेशन प्रतिनिधि जयराज संयोगले स्वतन्त्र उम्मेदवारी दिए।त्यहाँ काङ्ग्रेसबाटै प्रतिनिधिसभा सदस्यमा सुनिल शर्मा उठेका छन्।
मोरङ क्षेत्र नम्बर ४ मा कांग्रेसका नवीनकुमार विश्वास खवास सत्ता गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार माओवादीका अमनलाल मोदीविरुद्ध उम्मेदवार बनेका छन्। उनी हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेका हुन्।
मोरङ ५ मा कांग्रेसका मो. रेजा हुसैन प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेदवार बने। त्यहाँ गठबन्धनबाट माओवादीका निवर्तमान सांसद शिवकुमार मण्डल उम्मेदवार बनेका छन्।
मोरङ क्षेत्र ६ (२) मा कांग्रेसका केदार कार्कीविरुद्ध कांग्रेस प्रदेश समिति सदस्य गोपालप्रसाद रेग्मी बागी उठेका छन् ।
उदयपुर २ मा गठबन्धनबाट एकीकृत समाजवादीका जगन्नाथ खतिवडा उम्मेदवार बनेपछि उनी विरुद्ध कांग्रेसका रामकुमार राईले स्वतन्त्र उम्मेदवारी दिए।
उदयपुर १(१) मा गठबन्धनका माओवादीबाट राजन किराँती उम्मेदवार बनेपछि उनी विरुद्ध कांग्रेसका जयप्रसाद सुवेदी बागी उठेका छन्। पाँचथरमै सत्ता गठबन्धनतर्फबाट कांग्रेसका सह महामन्त्री भीष्मराज आङदम्बे प्रतिनिधि सभाको उम्मेदवार बने। उनको उम्मेदवारीविरुद्ध माओवादीका बालकृष्ण काफ्ले बागी उठेका छन् ।
पाँचथर १(१) मा सन्चकुमार केरुङ बागी उम्मेदवार बनेका छन् । त्यहाँ सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका खेमबहादुर बेनम उम्मेदवार छन्।
झापा २ मा माओवादीबाट उम्मेदवार बनेका हरि राना मगरविरुद्ध कांग्रेसका कुमार भट्टराईले उम्मेदवारी दिए। मगर उम्मेदवारी फाइनल गर्ने अघिल्लो रात मात्र एमालेबाट माओवादीमा आएका थिए।
ताप्लेजुङ १(१) मा कांग्रेसका प्रदेश समिति सदस्य मिनाकुमारी गुरुङ स्वतन्त्र उम्मेदवार बनिन्।
खोटाङ प्रदेशसभाको क्षेत्र १(१) मा उम्मेदवारी दिएका एकीकृत समाजवादीका बिरबलकाजी राईविरुद्ध कांग्रेसका धर्मराज पोखरेलले उम्मेदवारी दिएका छन्।
बागीहरूलाई फकाउन कांग्रेसले उम्मेदवारी निष्क्रिय गराउने अवधि बढाइरहेको छ। केही क्षेत्रका बागीहरू ब्याक भए पनि प्रदेश १ बा बागीहरू भने टसकामस भएका छैनन्।
कात्तिक १, २०७९ मंगलबार १९:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।