अमेरिकामा गायक राजेश पायलको उद्दण्ड व्यवहार, मञ्चमै लात्ती हाने, गाली गरे

अमेरिकामा गायक राजेश पायलको उद्दण्ड व्यवहार, मञ्चमै लात्ती हाने, गाली गरे

अमेरिका : अमेरिकाको ल्यानक्यास्टरमा नेपाली समुदायले आयोजना गरेको साङ्गीतिक कार्यक्रममा गायक राजेश पायल राईले स्टेजमै अभद्र व्यवहार गरेका छन्।

कहिले माइक मिलेन भन्दै त कहिले साउन्ड सानो भयो भन्दै उनले स्टेजमै पोडियममा लात्ताले हान्ने लगायतका अभद्र व्यवहार देखाएका हुन्।

समाजका अगुवा खेम सुवेदीलाई प्रमुख अतिथि रहेको कार्यक्रम अवधिभर उनको हर्कत कायम रह्यो।

कार्यक्रमका लागि नेपालबाट राईसँगै मंगोलिनय हर्टका राजु लामालाई बोलाइएको थियो। स्थानीय कलाकारले समेत प्रस्तुति दिएको कार्यक्रममा  राजु लामाले डेढ घण्टा नेपाली दर्शकलाई रमाइलो बनाए। तर राईले सबै रमाइलो खल्लो पारे।

उनले स्टेजमा आउनु अगाडि नै खराब व्यवहार गरे। उनले आयोजकले लगाइदिएको खादा फाले, माइक फाले।

स्टेजमा पटक पटक उद्दण्ड व्यवहार देखाए। स्टेज छोडेर जाने धम्की दिए।

ट्र्याक बजाउन ढिला भएको भन्दै रिसाए। उनले दसैँ गीतको ट्रयाक बजाउन भन्दा अर्को ट्र्याक बज्यो। राजेशले झर्किएर रुखो स्वरमा ‘बजा न बजा’ भने। दर्शकले उनको व्यवहारको आलोचना गरेपछि ‘सरी यो त अमेरिका हो, बजाउनुस् हजुर सरी।'

‘साउन्ड ठुलो बनाउन पैसा तिरेको छ’ भन्दै पटक पटक झर्किन्थे। तर हलको साउन्ड यति ठुलो थियो की दर्शक कान थुन्न थालिसकेका थिए।

तर उनी ‘ट्र्याक बढाउनुस् मज्जा आएको छैन, म हिँडिदिन्छु फेरि’ भन्दै थिए। गाउँदा गाउँदै रोकिएर पोडियमा लात्ती हाने। स्क्रिप खसाले। फेरि कान थुन्दै पछाडि गए।

कार्यक्रम सकिए पछि राजेशले आफ्नो व्यवहार सामान्य नै भएको प्रतिक्रिया दिए। ‘मेरो स्वभाव नै यस्तै हो, अलिअलि विवाद आएन भने यो फिल्डमा के हुन्छ ? त्यही भएर त राई इज किङ्ग।’ उनको जवाफ थियो।

कात्तिक १, २०७९ मंगलबार १०:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।